३० माघ २०८१ बुधबार
image/svg+xml
समाज

चटपटे बेचेर छोरीलाई इन्जिनियरिङ पढाउँदै कमला

जुम्लाको चन्दननाथ नगरपालिका–८, जातिभिड गाउँकी कमला बुढा (थापा) संघर्षशील एकल महिला हुन्। श्रीमान्को निधन भएको तीन वर्ष बितिसक्दा उनले आफ्नी छोरीको भविष्य सुनिश्चित गर्न कठोर परिश्रम गरिरहेकी छन्। जीवनका अनेकौं कठिनाइका बाबजुद उनले चटपटे व्यवसायलाई आम्दानीको मुख्य स्रोत बनाउँदै छोरीलाई इन्जिनियरिङ पढाइरहेकी छन्।

४४ वर्षको उमेरमै एकल जीवन अंगाल्न बाध्य कमला आर्थिक अभावका कारण घरायसी काममै सीमित रहनुपरेको विगत सम्झिन्छिन्। श्रीमान् मधुमेह र उच्च रक्तचापका दीर्घरोगी थिए। उनी बितेपछि परिवारको सम्पूर्ण जिम्मेवारी कमलाको काँधमा आयो। कृषि पेसाबाट घरखर्च चलाउन गाह्रो भएपछि उनले जुम्ला सदरमुकाम खलंगामा चटपटे व्यवसाय सुरु गरिन्।

शारीरिक रूपमा फरकक्षमताकी कमलालाई ठूलो भार उठाउने, लामो यात्रा गर्ने जस्ता कार्य कठिन हुन्छ। ‘ढुंगा, गिटी, माटो र बालुवासँगको दैनिक संघर्ष गर्न नसक्ने भएकाले चटपटे व्यापारलाई सहज उपायका रूपमा रोजेँ,’ उनले भनिन्।

सुरुमा कुनै स्थिर आम्दानी स्रोत नभएका कारण आर्थिक संकट झेल्नुपरेको उनी बताउँछिन्। तीन वर्षअघि उनले नेपाली सेनाको खेलमैदान (टुडिखेल) को तल्लो गेटमा चटपटे बेच्न थालेपछि उनको जीवनमा स्थायित्व आउन थाल्यो।

छोरीको भविष्यका लागि संघर्ष

कमलाको शिक्षाप्रति ठूलो रुचि थियो, तर गरिबी र पारिवारिक समस्याका कारण उनी कक्षा ५ मै पढाइ छोड्न बाध्य भइन्। ‘मैले अवसर पाइनँ, तर मेरी छोरीले अभावका कारण पढाइ नछोडोस् भनेर मिहिनेत गरिरहेकी छु,’ उनले भनिन्।

उनकी २२ वर्षीया छोरी सृजना थापा काठमाडौंको कान्तिपुर इन्जिनियरिङ कलेजमा डिप्लोमा चौथो वर्षमा अध्ययनरत छिन्। वार्षिक १ लाख ५० हजार रुपैयाँ खर्च धान्न उनी दैनिक १,५०० रुपैयाँसम्मको व्यापार गर्छिन्। मासिक करिब १६ हजार रुपैयाँ बचत गर्छिन्, जसले घरखर्च र छोरीको पढाइ खर्च जुटाइरहेको छ।

कमलाको चटपटे व्यवसाय लोकप्रिय बन्दै गएको छ। ‘कमलाले बनाएको चटपटे स्वादिलो हुन्छ,’ तातोपानी–२, डागीबाडा गाउँकी निर्मला कटुवाल भन्छिन्। अर्की ग्राहक रमा रावतका अनुसार कमलाले विशेष मसला मिसाएर बनाएको चटपटे र पानीपुरीको स्वाद नै फरक छ।

सुरुमा चटपटे बेच्दा लाज लाग्ने कमला अहिले भने आत्मनिर्भरताको सन्तोष अनुभूत गर्छिन्। ‘पहिला लाजले भुतुक्कै हुन्थें, अहिले त एक दिन व्यापार नगरी घरमै बस्दा दिनै बित्दैन,’ उनले हाँस्दै भनिन्।

कमला भन्छिन्, ‘धेरै पैसा खर्चेर विदेश जानु, जोखिम मोलेर काम गर्नुभन्दा आफ्नै गाउँठाउँमा सानो लगानीबाट राम्रो आम्दानी गर्न सकिन्छ।’ अपांगता भएका व्यक्तिहरू अरूको सहारामा मात्रै बाँच्छन् भन्ने भ्रम तोड्दै उनले आत्मनिर्भरताको मार्ग प्रशस्त गरेकी छन्।

प्रकाशित: २२ माघ २०८१ १६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App