जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको पुस मसान्तसम्म झन्डै ७० प्रतिशत मुद्दा फर्छ्योट गरेको छ। चालु आर्थिक वर्षको ६ महिनामा सात सय १० वटा मुद्दामध्ये चार सय ९९ वटा मुद्दा फर्छ्योट गरेको भएको हो।
समाजमा घट्ने अपराध र यहाँको शान्ति सुरक्षा कायम गर्न प्रहरीले योजना बनाएर कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए। ‘प्रहरीको काम भनेकै शान्ति सुरक्षा कायम गर्नु हो,’ उनले भने, ‘समाजमा हुने अपराधिक क्रियाकलाप हुन नदिन र भएपछि कानुनी दायरामा ल्याउन दत्तचित्त भएर लागेका छौं।’ निश्चित स्रोतसाधन र जनशक्ति अभावकै बीचमा चालु आर्थिक वर्षमा कार्य सम्पादन सन्तोषजनक भएको उनी बताउँछन्। डर, त्रास र भयरहीत समाज निर्माणका लागि प्रहरीले फौजदारी कानुन कार्यान्वयनमा निस्वार्थ काम गरिरहेको उनले बताए।
अपराधको रोकथाम गर्ने, अनुसन्धान गर्ने र अपराधीलाई कानुनबमोजिम सजाय दिलाउने तथा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले समुदायको तल्लो तहसम्म पुगेर शान्ति सुव्यवस्था कायममा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै उनले भने, ‘फौजदारी कानुन कार्यान्वयनको सुरुवात प्रहरीबाटै हुन्छ। अपराध पीडितको पहिलो आवाज सुन्नेदेखि अपराधीको पहुँचसम्म पुग्ने निकाय प्रहरी नै हो। अपराध अनुसन्धानको सबैभन्दा महत्वपूर्ण पक्ष ‘प्रमाण सकंलन’ प्रहरीले नै गर्छन्।’ कानुन कार्यान्वयन गराउनु प्रहरीको कर्तव्य भएजस्तै कानुनको पालना गर्नु नागरिकको दायित्व भएको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयमा सबैभन्दा बढी मुद्दा अभद्र व्यवहारसम्बन्धी परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार अभद्र व्यवहारमा एक सय ५४, लागूऔषधमा एक सय १६, बैंकिङ कसुरमा ७६, ज्यान मार्ने उद्योग २९, झुण्डी आत्महत्या ४२, जबरजस्ती करणी ३०, भवितव्य ज्यान २६ र सामान्य चोरीका २१ वटा मुद्दा दर्ता भएका थिए। योसँगै सवारी ज्यान, कर्तव्य ज्यान, जुवालगायतका सात, १० मध्ये अब दुई सय ११ मुद्दा फर्छ्योट हुन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) आयुषप्रसाद जोशीले जानकारी दिए।
पुस महिनामा मात्र प्रहरीले अपराध अनुसन्धान तथा कारबाहीतर्फ एक सय १७ वटा मुद्दा दर्ता भएको छ भने जसमध्ये एक सय २१ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको उनले जानकारी दिए। यसमा ५३ वटा अर्काे महिनाका बाँकी सरी आएका ‘पेन्डिङ’ मुद्दाहरू फर्छौट भएका छन्। ६५ जना फरार अपराधी पक्राउ गरिएको छ। उनका अनुसार ठाडो उजुरी ६ सय ८१ वटा प्राप्त भएको र ६ सय ६८ फर्छौट भएको र १३ वटा बाँकी निवेदन फर्छ्योट प्रक्रियामा छन्।
लागूऔषध ओसारपसारविरुद्ध योजनाबद्ध रूपमा प्रहरी परिचालन गरी दुई सय ६८ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम आठ ट्याब्लेट र ट्रामाडोल तीनसय ६७ ट्यावलेट लागूऔषधसहित २९ जना ओसारपसारकर्ताहरूलाई कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ‘हराएका चारवटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ। हराएका १० थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएका छौं,’ सूचना अधिकारी जोशीले भने, ‘जमिनमुनिबाट सुन निकालिदिन्छु भनि दुई करोड ठगी गर्ने मानिसलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ।’ त्यस्तै १२ लाख ९४ हजार एक सय ५८ रुपैयाँ बराबरको अवैध भन्सार छलिको सामान पक्राउ गरी सम्बन्धित निकाय पठाइएको प्रहरीले जनाएको छ।
ट्राफिक कारबाहीतर्फ तीन हजार ५७ वटा सवारी साधनलाई कारबाही गरी २४ लाख ७५ हजार राजस्व संकलन गरिएको छ। ‘अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सातवटा ट्याक्टर, एक टिप्पर र एक जेसिबी नियन्त्रणमा लिइ सम्बन्धित निकायमा पठाइएको छ,’ उनी भन्छन्, ‘उनीहरूसँग ४८ हजार आठ सय रुपैयाँ जरिवाना भएको साथै तीन जना सवारी चालकलाई नियन्त्रणमा लिइ अभद्र व्यवहार कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।’
घरेलु हिंसासम्बन्धी ५० वटा उजुरी प्राप्त भएकोमा ४७ वटा फछर्यौट भएको बाँकी अनुसन्धान कारबाही प्रक्रियामा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धमा ४४ वटा निवेदन दर्ता भएकोमा ३२ जना फेला पारी अभिभावकको जिम्मा लगाइएको बाँकी खोजतलास भइरहेको छ।
प्रकाशित: १४ माघ २०८१ १२:१४ सोमबार