स्वीडेनस्थित काल्मर्स युनिभर्सिटी अफ टेक्नोलजीका अध्येताहरूले यस्तो रोबोट पाखुरा बनाएका छन्, जो हात चलाउन नसक्ने र मस्तिष्कघात भएकाहरूका लागि निकै उपयोगी हुने देखिएको छ।
रोबोट पाखुरालाई व्यक्तिको हातसँग जोडेपछि त्यसलाई बिरामीहरूले विभिन्न किसिमका छुवाई र सनसनी महसुस गर्ने अध्येताहरूले बताएका छन्। यो रोबोट पाखुराले कुनै टेबुल छोयो भने टेबुलको खस्रोपना, यसका छेउकुना लगायतका विभिन्न ‘टेक्स्चर’ महसुस गर्ने बताइएको छ।
हुन त यो प्रयोग हालसम्म दुई जना स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूमाझ गरिएको हो। यो इन्जुरीका कारण यी दुई बिरामीहरूले हिँडडुल गर्ने मात्र होइन छुवाई महसुस गर्न छाडेका थिए।
यी दुई जना बिरामीलाई शुरुमा मस्तिष्कको एमआरआई मेसिनमार्फत स्क्यान गरिएको थियो। जुन मस्तिष्क क्षेत्र सक्रिय थियो र तिनले काम गरिरहेका थिए, त्यहाँ ससाना इलेक्ट्रोडहरू प्रवेश गराइयो। हात चलाउन जुन मस्तिष्क क्षेत्रले काम गर्थ्याे, त्यहाँ इलेक्ट्रोडको प्रवेशसँगै केही संकेतहरू मेसिनमा आउन थाल्यो। तिनै संकेतहरू पछ्याउँदै एउटा कृत्रिम पाखुरा बनाइयो। यो कृत्रिम पाखुराले ससाना प्रतिक्रियाहरू दिने, महसुस गराउने लगायतका गतिविधि पनि देखायो।
यति मात्र होइन, यसअघि प्रयोगमा भाग लिएका व्यक्तिहरूले कलम वा साना बलहरू पनि उठाउन सक्तैनथे। तर यो पाखुराको प्रयोगपछि उनीहरूले ती बल वा कलम महसुस गर्नेदेखि केही मात्रामा उठाउन पनि सकेका छन्।
एक दशकदेखि ओछ्यान परेका स्कट एम्ब्रीले रोबोट पाखुराको प्रयोगपछि त्यस्ता छुवाई महसुस गरेपछि भने, ‘म त छक्कै परें। उदेक महसुस भयो।’ यिनै इलेक्ट्रोडहरूलाई पछि मस्तिष्कका विभिन्न भागमा थपेर हेर्दा स्कटले पछि कारको भिडियो गेम खेल्नसमेत सक्षम भएको साइन्स म्यागेजिनले लेखेको छ।
अध्येताहरू भन्छन्, ‘यताउति बरालिएको कारलाई सडकमा सही तरिकाले गुडाउन अधिकांश समय उनी सक्षम देखिए। उनले ८० प्रतिशत समय गाडीलाई ठीक ठाउमा ल्याउन सफल भएका थिए।’
स्कटले भनेका छन्, ‘पहिला मलाई यो हात मेरै होइन भन्ने हुन्थ्यो। जब रोबोट पाखुराको प्रयोगपछि भने अहो यो त मेरै हात हो भन्ने महसुस हुन थालेको छ। स्कटमाथिको सफलतापछि अहिले अर्का बिरामीसँग यही स्तरको प्रयोग गर्ने तयारी भइरहेको छ।
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: १४ माघ २०८१ ०७:४२ सोमबार