संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) ले हालै आफ्नो २०२४ को वार्षिक समीक्षा तथ्यांक जारी गरेको छ। तथ्यांकअनुसार पर्यटन उद्योग कोभिड महामारीबाट थलिएकामा अब क्रमशः आफूलाई पुनःस्थापित गर्न सफल भएको छ।
गत वर्ष करिब एक अर्ब ४० करोड पर्यटकले अन्तर्राष्ट्रिय यात्रा गरेका छन्। सन् २०१९ मा यात्रा गर्नेको तुलनामा यो ९९ प्रतिशतले बढी रहेको जनाइएको छ। यस हिसाबले संसारको पर्यटन अब आफ्नो लयमा फर्किएको टिप्पणी युएनडब्लुटिओले गरेको छ।
पर्यटन उद्योग आफ्नो लयमा फर्कंदा यसले संसारभर १.९ खर्ब डलर कमाएको छ। यसको अर्थ प्रत्येक पर्यटकले औसतमा एक हजार डलरभन्दा बढी खर्च गरेको देखिन्छ । यत्रो खर्च भयो भने त्यो खर्च कहाँ भयो होला ? युएनडब्लुटीओका अनुसार सबैभन्दा बढी पर्यटक युरोपेली मुलुकको भागमा परेको छ। सन् २०२४ मा युरोप ७४ करोड ७० लाख पर्यटक भिœयाउन सफल भएको थियो।
रोचक त के भने रुस र युक्रेनबिचको युद्धका कारण त्यहाँका पर्यटक न त बाहिर जान सके न त युक्रेन र रुस भ्रमण नै सहज थियो। यसका बाबजुद यति धेरै पर्यटक युरोपले पाउनु आश्चर्य रहेको युएनडब्लुटिओको भनाइ छ।
जारी तथ्यांकअनुसार फ्रान्स सन् २०२४ मा सबैभन्दा धेरै पर्यटक भित्र्याउन सफल भयो। त्यहाँ १० करोड पर्यटकले भ्रमण गरेका थिए। यस्तै दोस्रो नम्बरमा स्पेन रहेको छ। त्यहाँ नौ करोड ८० लाख पर्यटक पुगेका थिए।
आफ्नो देशमा अप्रत्यासित रूपमा १० करोड पर्यटक भित्रिएपछि फ्रान्सेली पर्यटन मन्त्रालयका प्रचार विभागका रूपमा चर्चित एटुट फ्रान्सले त विज्ञप्ति नै जारी गर्यो। उसले २०२४ फ्रान्सेली पर्यटनका लागि असाधारण वर्षका रूपमा चित्रित गर्दै सन् २०२५ अझ आशालाग्दो वर्षका रूपमा रहेको बताएको थियो।
त्यसो त केही वर्षदेखि फ्रान्सले पर्यटन भिœयाउन निकै मिहिनेत गरिरहेको छ। उसले नेटफ्लिक्ससँग मिलेर फ्रान्सका पर्यटकीय स्थलको प्रचारमा जोड दिइरहेको छ। उसले नेटफ्लिक्ससँग बहुवर्षका लागि विभिन्न सम्झौतासमेत गरेको छ। ती सम्झौताकै कारण ‘एमिली इन पेरिस’ नामक शृंखला नेटफ्लिक्सले बनाएको थियो। यही शृंखलाका कारण पनि पेरिसमा पर्यटक ओइरिएका थिए। केही विज्ञले भने शृंखलालाई मात्र यसको जस दिएका छैनन्।
सन् २०२४ मा ग्रीष्मकालीन ओलम्पिकले पनि पर्यटनमा ठुलो भूमिका खेलेको थियो। यस्तै पेरिसको विख्यात नोट्रेडेम क्याथेड्रलको पुनः उद्घाटन गरिएको थियो। सो चर्च २०१९ अप्रिल १५ मा आगलागीमा परेपछि बन्द गरिएको थियो। यस्तै फ्रान्सको नर्मन्डीमा दोस्रो विश्वयुद्धको ८०औं वार्षिकोत्सवमा भाग लिन पनि कैयौं पर्यटक पुगेका थिए। यस्ता घटनाका कारण फ्रान्सेली पर्यटनका लागि सञ्जीवनीको काम गरेको थियो।
युएनडब्लुटिओको तथ्यांकअनुसार गत वर्ष ३१ करोड ६० लाख मानिस एसिया र प्रशान्त क्षेत्रमा, २१ करोड ३० लाख अमेरिकामा, नौ करोड ५० लाख मध्यपूर्वमा र सात करोड ४० लाख अफ्रिकामा पर्यटनका लागि पुगेका थिए। अन्टार्कटिकामा भने २०२४ मा एक लाख पर्यटक पुगेको बताइएको छ। यसअघि कसैले ध्यान नदिएका मुलुकहरू पनि भ्रमण सूचीमा पर्न थालेका छन्। मध्यपूर्वका मुस्लिम बहुल मुलुकमा पनि पर्यटकहरूको संख्या क्रमशः बढिरहेको छ। कतारमा पर्यटकहरूको संख्या ३७ प्रतिशतले बढेको छ।
कतारले आफ्नो देशको पूर्वाधारमा गरेको तीव्र लगानीका कारण पनि यो सम्भव भएको कतारले जनाएको छ। यस्तै कतार एयरवेजले २०२४ को सर्वोत्कृष्ट एयरलाइन्सको अवार्ड दिइएको थियो। यस्तै कतारको राजधानी दोहास्थित हमाद इन्टरनेसनलले विश्वकै उत्कृष्ट विमानस्थलको उपाधि हात पारेको थियो।
कतारजस्तै सानातिना मुलुकहरू पनि आफूकहाँ पर्याप्त पर्यटक आकर्षित गर्न सफल भए। उदाहरणका रूपमा एन्डोरा, डोमिनिकन रिपब्लिक, कुवेत, अल्बानिया र एल साल्भाडोर रहेका छन्। एन्डोरालाई प्रायः कसैले पनि ध्यान दिँदैनन् तर उसले फ्रान्स र स्पेनजस्ता ठुला मुलुकको चेपुवामा परेर पनि पर्यटकहरूलाई उत्कृष्ट अनुभव दिने गरेको छ।
विश्वव्यापी पर्यटन पहिलेको जस्तै उच्च संख्यामा पर्यटकहरू आकिर्षत मात्र गरेको छैन, अझै बढ्ने सम्भावनासमेत रहेको युनएनडब्लुटिओले जनाएको छ। सबैभन्दा बढी पर्यटक आकर्षित गर्ने दोस्रो मुलुक स्पेनमा भने २०२४ मा उदेक भयो। त्यहाँका कतिपय ठाउँमा पर्यटकहरूलाई आफूहरू पर्यटकविरोधीका रूपमा स्थानीयले परिचय दिन थाले। कतिपय ठाउँमा पर्यटकहरू पुग्दा स्वागत गर्नेभन्दा पनि पानीको पेस्तोलले ताकी ताकी हानेर दिक्क पारे। खासगरी बार्सिलोनामा यस्तो दृश्य देखिएको थियो। केही पर्यटकीय स्थलका स्थानीयले प्रवेश शुल्क बढाउने तथा सामूहिक विरोध प्रदर्शनजस्ता कार्य पनि अघिल्लो वर्ष देखिएको थियो।
इटालीमा सन् २०२३ को तुलनामा २३ प्रतिशत बढी पर्यटकले भ्रमण गरे। भेनिस र फ्लोरेन्सजस्ता लोकप्रिय सहरहरूले बढी पर्यटक आए भनेर ठुला टुर समूहहरूलाई प्रतिबन्ध लगाएका थिए। उक्त प्रतिबन्ध यो वर्षसमेत लम्बिएको छ।
देशभरि अति बढी यात्रु ओइरिने कार्य रोकथामका लागि विभिन्न उपायसमेत निकालिएका थिए। जसमध्ये राति पौडी खेल्न प्रतिबन्ध लगाउने, कुनै क्षेत्र धेरै भिड भएका बेला संकेतहरू सहरभित्र छिर्न रातो बत्ती लगाई छिर्न बन्द गर्नेुजस्ता उपायहरू लगाइएका थिए। केही समुद्र तटीय क्षेत्रहरू आरक्षित गर्न राति नै जानेजस्ता क्रियाकलापहरूलाई स्थानीय निकायहरूले निषेध गरे। यस्ता नियमले पर्यटकहरूको घुइँचो केही मात्रामा कम हुने अपेक्षा पर्यटन अधिकारीहरूको छ।
आफ्नो वार्षिक विज्ञप्तिमा युएनडब्लुटिओका विज्ञहरूले सन् २०२५ मा पर्यटन आगमनमा वृद्धि र स्थिरतालाई सन्तुलनमा राख्नु महत्त्वपूर्ण हुने बताएका छन्। पर्यटनमा रुचि राख्नेहरूलाई बढी प्रचलित ठाउँभन्दा कम प्रचलित ठाउँहरूमा जान र त्यस्ता गन्तव्यको खोजी गर्नसमेत सल्लाह दिएको छ।
एटुट फ्रान्सले विश्वको सबैभन्दा धेरै भ्रमण गरिएको देश भएकोमा उत्सवै मनाउने अवस्थामा भने छैन। उसले विज्ञप्तिमा भनेको छ, यो पक्का हो, अघिल्लो वर्ष हामीकहाँ व्यापक रूपमा पर्यटकहरू आए। उनीहरूले खर्च पनि मनग्य गरे तर यत्तिमा हामी खुसी हुनुपर्ने कुनै कारण छैन। हामीले त यो आगमनलाई कसरी दिगो बनाउने भन्ने प्रश्न पनि उत्तिकै छ। ताकि आउँदा वर्षौैंवर्षसम्म पनि यो संख्या कसैगरी कम नहोस्।
युएनडब्लुटिओले अघिल्लो वर्षको तुलनामा सन् २०२५ मा ३ देखि ५ प्रतिशतसम्म पर्यटकहरू संसारभर बढ्ने आकलन गरेको छ। बढेको यो संख्या बाँडिएर एसिया, एसिया प्रशान्त क्षेत्रमा पुग्ने देखिएको छ।
अहिले रुस–युक्रेन, मध्यपूर्व तथा केही अफ्रिकी मुलुकमा देखिएको अशान्ति रोकिने हो भने पर्यटन अहिलेको तुलनामा अझ राम्रो मात्र नभई उम्दा हुने प्रक्षेपणसमेत गरिएको छ। केहीले भने अहिलेको भन्दा खराब हुन सक्ने प्रक्षेपण पनि गरेका छन्। यसबाहेक एक्सट्रिम वेदर’ले पर्यटनमा प्रभाव पार्न सक्नेसमेत युएनडब्लुटिओका विज्ञहरूले सुझाएका छन्।
प्रकाशित: १२ माघ २०८१ ०६:१२ शनिबार