२३ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

मुख्यालयमा तानिए मधेसका डिआइजी

नेपाल–भारत सीमा क्षेत्रमा तस्करी रोक्न नसकेको भन्दै सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई मुख्यालयमा हाजिर गराएर सोधपुछ गर्न थालिएको छ।

मधेस प्रदेशका आठ जिल्लामा सशस्त्र प्रहरीको कामकारबाहीबाट गृह मन्त्रलय र सशस्त्र प्रहरी बल मुख्यालय सन्तुष्ट हुन नसकेपछि मधेस प्रदेशका डिआइजी कालिदास धौबजीलाई मुख्यालयमा हाजिर गराएर सोधपुछ गर्न थालिएको हो।

कोसी प्रदेशका डिआइजी शम्भु सुवेदी र एसएसपी मनीष थापा तथा लुम्बिनी प्रदेशका डिआइजी प्रदीपकुमार पाललाई पनि मुख्यालयमा हाजिर गराउने तयारी भइरहेको बताइएको छ।

गण्डकी प्रदेशबाट मधेस प्रदेशको कमान्ड गर्न पुगेका डिआइजी धौबजीलाई आठ महिनामै आन्तरिक छानबिनका लागि मुख्यालयमा हाजिर गराइएको हो। गत वैशाख १८ मा मधेस प्रदेशमा सरुवा भएका धौबजीलाई त्यहाँको कमान्ड सम्हाल्न नसकेको, सर्लाही र सिराहमा सशस्त्र प्रहरीका दुई अधिकृतहरूको दुर्घटनामा मृत्यु भएको विषयमा छलफल गर्न बोलाइएको स्रोतको दाबी छ।

‘सर्लाही र सिरहाको घटनामा दुई अधिकृतहरूले ज्यान गुमाएका छन्। त्यो घटना कसरी भयो र सम्बन्धित जिल्लाका कमान्डरको कमजोरी के हो भन्ने बारेमा डिआइजीलाई बोलाएर छलफल गर्न लागिएको हो,’ सशस्त्र प्रहरी मुख्यालय स्रोतले भन्यो।

डिआइजी धौबजीलाई काठमाडौं बोलाएको विषयमा सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले अनभिज्ञता प्रकट गरे। ‘छिन्नमस्ता बाहिनीबाट कोहीकसैलाई बोलाएजस्तो लाग्दैन। केही जिल्लाका एसपीहरूलाई काठमाडौ बोलाइएको थियो, उहाँहरूलाई फिर्ता गर्ने तयारी छ,’ थापाले भने। उनले डिआइजीको नाम लिन चाहेनन्।

सर्लाहीमा बा.प्र.०१–००६ ख २००४ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका प्रहरी निरीक्षक विजयकुमार तुलाधरको ज्यान गएको थियो। सो गाडीमा शंकास्पद वस्तु रहेको भन्दै प्रहरी निरीक्षक तुलाधरले रोक्न खोज्दा बस नै उनीमाथि पल्टिएको थियो।

यो विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान गरिरहेको छ। साथै मंसिर १६ गते तस्करीको मदिरा बोकेको गाडीले सिरहाको बडहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवलाई किचेर ज्यान लिएको विषयमा पनि बुझ्न धौबजीलाई मुख्यालयमा तानिएको हो।

सिरहाका एसपी नरेश भण्डारीको कमान्ड फितलो भएको र तस्करीलाई रोक्न नसकेको आरोप लाग्दै आएको छ। भण्डारीको कमान्ड रहेको बेला सई यादवको मृत्यु भएको थियो।

मदिरा तस्करी रोक्न खोज्दा सईलाई भारतीय नम्बरको गाडीले ठक्कर दिएको थियो। त्यही क्रममा उनको मृत्यु भएको थियो। यादवले बाहिनीमा कार्यरत उच्च अधिकृतले मदिरा तस्करी नरोक्न दबाब दिएको भन्दै आएका थिए। यी दुई घटनालाई गृह मन्त्रालय र सशस्त्र प्रहरी मुख्यालयले गम्भीरतापूर्वक लिएको छ।  मन्त्रालयले यी घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने जनाएको छ । यस्तै महोत्तरी र सप्तरीमा पनि सीमा क्षेत्रबाट तस्करी भइरहेको गुनासो आएपछि मुख्यालयले निगरानी बढाएको छ।

मधेस प्रदेशअन्तर्गतका जिल्लाका सीमा क्षेत्रबाट सामान तस्करी भइरहेको र राजस्व असुलीमा असर परेको सूचनाका आधारमा धनुषा, बाराका गण र गुल्मदेखि बिओपीका इन्चार्जहरू पनि छानबिनका लागि तानिएका छन्। सशस्त्र प्रहरी १२ नम्बर गण बाराका सन्तोषबहादुर सिंह र ८ नम्बर गण धनुषाका दर्शन गिरी छानबिनका लागि तानिएका हुन्।

तस्करी बढेको व्यापक गुनासोपछि बाराका एसपी सिंह मात्र होइन, दुईवटा गुल्मका डिएसपी पनि तानिएका छन्। प्रस्तावित गुल्म मटिअर्वा बाराका डिएसपी विदुर भट्टराई र पिपरपाती गुल्मका राजीव थापा तानिएका हुन्। यसअघि महोत्तरी सम्सी बिओपीका कृष्णबहादुर गुरुङ, धनुषाको फुलगामा बिओपीका गणेशकुमार बोहरा पनि तानिएका थिए। उनीहरूमाथि अहिले पनि छानबिन चलिरहेको छ।

प्रकाशित: २२ पुस २०८१ १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App