२३ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

‘अधिकारकर्मी’बाटै ठगिइन् ८१ वर्षीया क्यान्सर पीडित अमृता

पीडित अमृता सुनार र उनका आफन्त।

वृद्धा अवस्थामा क्यान्सर रोगसँग लडिरहेकी बुटवल सुख्खानगरकी ८१ वर्षीया अमृता सुनार न्यायकालागि भौँतारिन थालेको दुई वर्ष भयो। स्तन क्यान्सर भएपछि महँगो उपचारका लागि आफ्नो घरवास नै बेच्न बाध्य अमृतालाई घर खरिदकर्ताले ठगेपछि उपचार गर्न छोडेर न्यायका लागि भौँतारि रहेकी छन्।

८ वर्ष अघि क्यान्सर रोगले च्यापेपछि उपचार खर्च जुटाउनकै लागि उनले बुटवल उपमहानगरपालिका-८ सुख्खानगरमा रहेको घर बिक्री गरेकी थिइन। १२ धुरमा बनेको ६ कोठासँगको एकतले घर उनले बुटवलकै जानकी बराह दर्जीलाई बेचेकी थिइन।

जानकीले अमृताको घर जग्गा १ करोड १८ लाखमा किनेकी थिइन। घर किनबेचमा सघाएका थिए अमृताका छिमेकी तथा जानकीका भाइ विक्रम बराहले।

विक्रम आफ्नो छिमेकी भएको र घर किन्ने जानकी तीनकै दिदी भएकाले अमृताले उनीहरूलाई विश्वास गरी बैना बापतको ३४ लाख रुपैयाँ बुझेर २०७३ मै जानकीको नाममा घरको रजिस्ट्रेसन पास दिएकी थिइन। 

विक्रम र जानकीले ‘हामी पनि तपाईंकै छोराछोरी जस्तै हौं, दुई चार महिनामा बाँकी पैसा दिन्छौँ’ भनेर फकाएपछि विश्वासमा परेर कागजातमा सही गरिदिएको अमृताले बताइन। 

तर घर आफ्नो नाममा बनाएपछि खरिदकर्ता जानकी अमृतासँग देखै पर्न छोडिन। विक्रमले पनि दुई चार महिना भन्दा भन्दै एक रुपैयाँ दिएनन्। बरु घर पास गरेको एक साता नबित्दै उनले अमृतालाई फकाएर एकमुष्ट पैसा दिने भन्दै ८ लाख रुपैयाँ सापटी लगेका थिए। त्यो पैसा समेत उनले नदिएको अमृताले बताइन्।

अमृता भन्छिन् ‘घर पास गरिदिने बेला ३४ लाख बुझेको हो, बाँकी ८४ लाख दुई चार महिनामा दिन्छम भनेर फकाए, छिमेकीका छोराछोरी भएकाले विश्वासमा घर पास गरिदिए तर ८ वर्ष बित्यो एक रुपैयाँ दिएनन्, अक्कल झुक्कल भेट्दा आमा दिन्छम नआत्तीनुस भन्छन् त्यसपछि हराउँछन्, म त साह्रै मर्कामा परे।’

घरको रजिस्ट्रेसन पास गरिदिएको ८ वर्ष बित्दा पनि पैसा नपाएपछि अमृता अहिले स्थानीय सरकार र सञ्चारकर्मी गुहार्दै हिँडेकी छन्। उनले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरेर न्यायकालागि आवाज उठाइदिन आग्रह समेत गरिन्।

‘म क्यान्सरको रोगी हुँ, पेट पनि दुख्छ। छातीको, पाठेघरको दबाई खानुपर्छ। भरतपुर गइरहन्छु, औषधी महँगो छ। राम्रोसँग उपचार गरम्ला भनेर घर बेचे, बास पनि गयो पैसा पनि आएन म माथि अन्याय भयो’ उनले भनिन्।

अमृताकी कान्छी छोरी कर्णमाया सुनारले घर खरिद गर्ने जानकी र उनका भाइबाट आफ्नी आमा दोहोरो रुपमा ठगिएको गुनासो गरिन। ‘आमाले जानकीसँग बुझेको ३४ लाख मध्ये ८ लाख रुपैयाँ विक्रमले सापटी दिनुस् भनेर लगेका थिए। त्यसमध्ये करिब डेढ लाख रुपैयाँ दिए, बाँकी पैसा अहिलेसम्म दिएका छैनन्’ कर्णमाया भन्छिन् ‘क्यान्सरले गलेकी वृद्धा आमा दोहोरो ठगिनु भएको छ, आमालाई न्याय दिलाउन सहयोग गरिदिन सबैलाई अनुरोध छ।’

पेसाले अधिवक्ता तथा अधिकारकर्मी समेत रहेकी जानकी बराहले २०७३ मा अमृताको घर १ करोड १८ लाखमा किनेको र ३४ लाख दिएर रजिस्ट्रेसन पास लिएको स्वीकार गरिन। तर नागरिकन्यूजसँगको कुराकानीमा उनले अमृतालाई दिन बाँकी ८४ लाख रुपैयाँ भने विक्रम मार्फत जग्गा सट्टापट्टा गरी मिलाएको दाबी गरिन।

फोन सम्पर्कमा आएकी उनले आफूले भाइ मार्फत घर किनेको र भाइ विक्रम र अमृताका छोरा दुर्गा मार्फत जग्गा सट्टा पट्टा गरी हरहिसाब मिलाएको दाबी गरिन। तर उनले कुन जग्गा कति मूल्यमा दुर्गाले लिए वा कुन मितिमा अमृतालाई दिन बाँकी ८४ लाखको हरहिसाब भुक्तान मिलान गरियो भन्ने बारेमा भने खुलाउन सकिनन्।

बरु उनले आफू पनि भाइ विक्रम मार्फत ठगिएको र विक्रमले केही दिनमा हिसाब मिलान गर्छु भनेकाले आत्तिन नपर्ने दाबी गरिन। जानकी राष्ट्रिय दलित आयोगकी पूर्व सदस्य सचिव समेत हुन।

यता अमृताका छिमेकी र वडाका जनप्रतिनिधिहरू भने विक्रम र जानकीले सुरु देखि नै चलाखी गरी कागजात मिलाएरै वृद्धा अमृतालाई ठगेको बताउँछन्। अमृताका एक छिमेकी भन्छन् ‘विक्रम र जानकीले वृद्धा भएकी आमा (अमृता सुनार) र उनका छोरा (दुर्गा सुनार) को सोझो पनको फाइदा उठाएर योजनाबद्ध रुपमा ठगेछन्’।

अमृता आफ्ना ४ भाइ छोरा मध्ये साइला छोरा दुर्गा खड्कासँग बस्दै आएकी थिइन। उनी पनि बिरामी रहेको र त्यसैको फाइदा उठाउँदै आफूलाई ठगेको अमृताले बताइन।

अमृता भन्छिन् ‘सुरुमा भोली भोली भन्दै टारे, पछि नवलपरासीमा जग्गा छ त्यही दिएर मिलाउँछौँ भने। तर त्यहाँ जाँदा जग्गै रैनछ त्यसपछि बल्ल मलाइ ठगिएछु भन्ने थाहा भयो’ अमृताले भनिन।

त्यसपछि उनी न्यायकालागि उनी वडा कार्यालय र नगरपालिका धाउन थालेकी हुन। वडा नं-८ का वडा सदस्य हरिहर ज्ञवालीले अमृतालाई छिमेकी पर्ने विक्रम र जानकी बराहले कागजात मिलाएर ठगी गरेको बताए।

वडा नं-८ का वडाध्यक्ष यज्ञप्रसाद पङ्गेनीले पनि १ करोड १८ लाखको घर जम्मा ३४ लाख पैसा दिएर रजिस्ट्रेसन पास लिएको र ८ वर्ष बित्दा पनि पैसा नदिएर ठगी गरेको बताए।

‘नियतवश ठगी गरेको बुझिन्छ, वडामा भएको छलफलमा पनि विक्रम बराहले अमृता सुनारालाई पैसा दिन बाँकी रहेको स्वीकार गरेका थिए। त्यतीबेला उनले परासीमा भएको जग्गा दिएर हिसाब मिलाउँछु भनेर कागज गरेका थिए’ वडाध्यक्ष पङ्गेनीले भने। तर त्यहाँ पनि बाटो नै नभएको, थोरै जग्गा देखाएर झुक्क्याउन खोजेको र त्यसपछिका छलफलमा विक्रम र जानकी आउँदै नआएको उनले बताए।

वडाबाट पार नलागेपछि पीडितहरू नगरको न्यायिक समितिमा पुगेका थिए। उपमेयर सावित्रदेवी अर्यालले पनि व्यवहारिक रुपमा वृद्धा अमृता ठगिएको तर कानुनी दायरा, कागजात, प्रमाण आदीका कारणले इजलास राख्न नसकेको बताइन।

‘हाम्रा निश्चित दायरा छन् त्यसभित्र रहेर दुवै पक्षलाई राखेर छलफल गर्‍यौँ, न्याय दिने प्रयास गर्‍यौँ। तर नटुङ्गिएपछि उहाँहरूलाई (अमृता) इलाका प्रशासन मार्फत जान सुझाव दिएका छौं’ उपमेयर अर्यालले भनिन्।

प्रकाशित: २१ पुस २०८१ १९:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App