भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको चेचुङ गाउँमा सडक पुगेको छ। हाइड्रो इम्पायर प्रालि प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको सहयोगमा नाउरा हुँदै चेचुङ गाउँमा सडक पुगेपछि स्थानीयवासी उत्साहित भएका छन्।
जलविद्युत आयोजनाको सामाजिक उत्तरदाहित्व अन्तरगत तीन किलोमिटर लामो सडकको ट्याक खुलेसँगै चेचुङ गाउँमा सडक पुगेको स्थानीय यूवा नविन घर्ती मगरले बताए। ‘ट्र्याक खुलेको छ, अब सहज सवारीसाधन आवतजावत हुने गरी बाटो विस्तार हुन्छ,’ स्थानीय जनशक्ति युवा क्लबका सल्लाहकार समेत रहेका घर्तीले भने।
सडक सञ्जाल गाउँमा पुगेपछि ३० भन्दा बढी घरधुरी लाभान्वित भएका छन्। चेचुङ गाउँमा सडक पुगेपछि स्थानीय बासिन्दालाई दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न, वडा कार्यालय, गाउँपालिका केन्द्र र सदरमुकाम बेनीबजार पुग्न सहज भएको छ।
म्याग्दी जिल्लाका अति विकट बस्तीहरूमा मुदीको चेचुङ गाउँ समेत पर्छ। माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले जलविद्युतले समुदायस्तरका समस्याहरू समेत समाधान गर्ने बताए। उनले सडक सञ्जालसहित अन्य समस्याहरूमा समेत समुदायसँग मिलेर काम गरेको बताउँदै जलविद्युतको निर्माणस्थल पहुँचमार्गले जोडिएपछि धमाधम काम भइरहेको छ।
आयोजनाको बाँध, विद्युतगृह र सुरुङको अडिटको काम भइरहेको छ। मुदीको सिम्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध, म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्याउने पोखरी, हेडरेस सुरुङ बन्ने आयोजनाको विद्युतगृह म्याग्दी खोला र मुदी खोलाभन्दा एक किलोमिटर माथि प्रस्ताव गरिएको छ।
तीन किलोमिटर पाँच सय ५३ दशमलव ३३ मिटर लामो सुरुङबाट ल्याइने पानी तीन सय दशमलव ८८ मिटर अग्लो हेडबाट विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिने भएको छ। आउटलेटदेखि विद्युतगृहसम्म सात सय ९७ दशमलव ९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ। आयोजनाका लागि आवश्यक एक दशमलव ६९ हेक्टर निजी जग्गा खरिद गरिएको र तीन दशमलव ६९ हेक्टर सरकारी जग्गा प्रयोग गरेबापत शोधभर्नाको प्रक्रिया अगाडि बढाएको छ।
धवलागिरी गाउँपालिकाले सडक सञ्जाल नपुगेका गुर्जासहितका बस्तीमा बजेट विनियोजन तथा जलविद्युत् निर्माणाधीन अवस्थामा रहेका बस्तीहरमा समेत सडक विस्तारमा समन्वय गरिरहेको छ।
प्रकाशित: २३ पुस २०८१ ११:१८ मंगलबार