अहिले वातावरणमैत्री मानिने गिद्धले गुँड लगाउने बेला हो। जाडो मौसममा प्रजनन गर्ने भएकाले गिद्धहरू गुँड लगाउने गर्छन्। लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीलाई गिद्धको उपयुक्त वासस्थान मानिन्छ।
नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजातिका गिद्ध अर्घाखाँचीमा पाइन्छन्। गुँड बनाएरै बच्चा कोरल्ने ६ प्रजातिका आवसीय गिद्ध नेपालमा पाइन्छन् र जसमा पाँच प्रजाति अर्घाखाँचीमै भेटिन्छन्।
अहिले विभिन्न स्थानका जंगल तथा पहरामा गुँड लगाएर प्रजननका लागि तयार भइरहेका केही प्रजाति गिद्धले जेठ–असारमा बच्चा उडाउन सुरु गर्छन् भने केहीले साउन–भदौसम्म उडाउँछन्।
हिमाल, मध्यपहाड र तराईमा बस्ने गिद्धहरूले अर्घाखाँचीका विभिन्न स्थानमा समुद्री सतहबाट करिब नौ सय मिटरदेखि दुई हजार चार सय मिटरसम्मको उचाइमा गुँड बनाउने गरेका छन्। उच्च पहाडी इलाकादेखि हिमाली भेगसम्म पाइने संकटोन्मुख हिमाली गिद्ध र हाडफोर गिद्धले मालारानी गाउँपालिकाको घेराभिरमा गुँड बनाउन सुरु गरेका छन्।
मध्यपहाडमा गुँड बनाउने विश्वमै दुर्लभ संकटापन्न सेतो गिद्धले पनि घेराभिरका अलावा अर्घा, धारापानी, पकले, ढाकाबाङ, नरपानी, डिभर्नाका पहरामा गुँड बनाउन सुरु गरिसकेको १५ वर्षयता अर्घाखाँचीमा पाइने गिद्धको अध्ययन तथा अनुगमन गरिरहेका गिद्ध विज्ञ कृष्ण भुसालले जानकारी दिए। घेराभिरमा नेपालको पहरामा गुँड बनाउने तीनवटै प्रजातिले एकै ठाउँमा गुँड बनाएको पाइन्छ। यस्तो अवस्था संसारमा बिरलै हुने गर्छ।
नेपालमा हालसम्मको अभिलेख अनुसार यस्तो अवस्था देखिने यो मात्र एउटा क्षेत्र हो। मुख्यतः विश्वमै दुर्लभ अति संकटापन्न डंगर गिद्धले पनि जिल्लाको अर्घा र छत्रदेवका सल्लेरी जंगलमा गुँड बनाएर बचेरा हुर्काउने गरेका छन्। त्यसैगरी विश्वमै दुर्लभ अति संकटापन्न सुन गिद्धले पनि छत्रदेवमै गुँड बनाउने गरेको अभिलेख छ।
गत वर्ष घेराभिरमा हिमाली गिद्धका ३५, हाडफोर गिद्धको एउटा गुँड अनुगमन गरिएको थियो। नेपाल पन्छी संरक्षण संघका जीवविज्ञ दिलीप चन्द ठकुरीका अनुसार अर्घाखाँचीमा डंगर गिद्धको २१ वटा गुँड र सेतो गिद्धको चार वटा गुँड पनि अनुगमन गरिएको छ।
मालारानी गाउँपालिकाको घेराभिरमा गिद्धका अलावा सरकारद्वारा संरक्षित पन्छीको सूचीमा समावेश विश्वकै दुर्लभ चिरकालिज पनि पाइने अनुसन्धानकर्ताहरूको भनाइ छ। जाडो याममा मंगोलियाबाट बसाइँसराइ गरी आउने दुर्लभ गोमायु महाचिल पनि अर्घाखाँची पाइएको अभिलेख रहेको अनुसन्धानकर्ता नकुल भुसालले बताए।
पाँचथरी गिद्ध सधैंभरि बस्ने रैथाने भए पनि समयसमयमा सानो खैरे गिद्ध र राज गिद्ध पनि बसाइँसराइ गरेर आउने–जाने गरेको गिद्ध विज्ञ कृष्ण भुसालले भुसालले बताए। दुर्लभ गिद्ध र चिरकालिजको वासस्थान भएकाले अर्घाखाँचीको उत्तरी भूभागलाई बर्डलाइफ इन्टरनेसनल र सन्धिखर्कको अर्घालाई नेपाल पन्छी संरक्षण संघले महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र घोषणा गरिएको छ।
विश्वमै परिचित यस क्षेत्रको थप अध्ययन, अनुगमन र प्रवर्धनका लागि सरकार र स्थानीय तहबाट पहल हुन नसकेको सरोकारवालाले गुनासो गरेका छन्। यस क्षेत्रको प्रवद्र्धन गर्ने सके दुर्लभ गिद्ध, चिरकालिज र यहाँको सुन्दर भूदृश्यको अवलोकन तथा फोटोग्राफीका लागि देशविदेशका अनुसन्धानकर्ता तथा पर्यटकहरू आउन सक्ने विज्ञहरूको भनाइ छ।
गिद्ध लोप भए प्राकृतिक चक्र नै परिवर्तन हुन्छ:
- कृष्ण भुसाल, गिद्ध विज्ञ
गिद्ध प्रकृतिको कुचिकार हो। यसले मरेका जनावरलाई आहारा बनाउँछ। पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राखी पर्यावरणलाई जोगाउन यसको निकै ठुलो योगदान रहन्छ। आफैं सिकार नगर्ने तर मरेका जनावरको सिनो मात्र खाने गिद्धले प्रदूषित र दुर्गन्धित वातावरणलाई स्वच्छ राखी महामारी, सरुवा रोगहरू लाग्नबाट जोगाउँछ। प्रकृतिलाई निकै आवश्यक पर्ने पक्षीका रूपमा रहेको गिद्ध पछिल्लो समय लोप हुने अवस्थामा छ।
१० वर्षअघिसम्म नेपालमा पाँच लाख र भारतमा मात्र १६ करोड गिद्ध थिए। विगत १० वर्षयता नेपाललगायत दक्षिण एसियामा ९५ प्रतिशत भन्दा पनि धेरै गिद्ध लोप भए। संरक्षणमा ध्यान नदिए बाँकी गिद्धहरू सबै लोप भएर जानेछन्। सुन्निएको र दुखेको निको पार्न पशुहरूमा प्रयोग गरिने डाइक्लोफेनेक नामक औषधिको प्रयोग भएको जनावरको सिनो खाँदा ठुलो संख्यामा गिद्धहरू मरेको अनुसन्धानले देखाएको थियो।
सरकारले गिद्ध संरक्षणका लागि तेस्रो कार्ययोजना २०२३–२०२७ लागु गरी डाइक्लोफेनेक र गिद्धलाई हानि गर्ने औषधिहरूको पूर्ण प्रतिबन्ध, सुरक्षित औषधि मेलोक्सिक्यामको प्रवर्धन, गिद्धलाई शुद्ध आहारको व्यवस्था, वासस्थानको संरक्षण, गिद्धको नियमित अनुगमन र जनचेतना अभिवृद्धिलाई जोड दिएको छ।
गिद्धहरूको संख्या ९५ प्रतिशतभन्दा बढीले घटेर अति संकटापन्न अवस्थामा पुगेको छ। गिद्धको विनाश भए विभिन्न महामारीको संक्रमण बढ्ने भएकाले गिद्धको संरक्षण आवश्यक छ। गिद्ध लोप भए प्राकृतिक चक्र नै परिवर्तन हुने भएकाले पनि यसको संरक्षण अत्यावश्यक देखिन्छ। विश्वकै दुर्लभ लोपोन्मुख डंगर गिद्धका ६ बचेरालाई १३ वर्षअघि अर्घाको गर्ताखोला, खहरेखोला र गर्लामका वनबाट चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध प्रजनन तथा संरक्षण केन्द्रमा समेत लगिएको थियो।
प्रकृतिबाट सदाका लागि लोप हुने खतरा भएपछि प्रजनन केन्द्रमा लगिएको ती बचेरालाई सुरक्षित वातावरणमा हुकाई तिनीहरूबाट पनि बचेरा कोरली विगत सात वर्ष देखी सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको छ। त्यसरी छाडिएका गिद्धको अनुगमनका लागि ढाडमा स्याटेलाईट ट्याग लगाइएका छन्। ती गिद्ध बेलाबेला अर्घाखाँचीमा पनि आइरहने स्याटेलाइट ट्यागबाट प्राप्त जानकारीमा देखिएको छ।
अर्घाखाँचीबाहेक लुम्बिनीका अन्य जिल्लामा पनि गिद्ध पाइन्छ। तर अर्घाखाँचीमा जस्तो धेरै प्रजाति र त्यो संख्या अन्य जिल्लामा छैन। नेपाल सरकारले केही नीतिहरू त बनाएको छ तर पर्याप्त छैन। स्थानीय सरकारहरूले पनि केही सहयोग गर्नुपर्छ। गिद्धको संरक्षण, त्यस्ता क्षेत्रहरूको पहिचान, प्रचारप्रसार गर्नुपर्ने दायित्व स्थानीय सरकारको हो। तर स्थानीय सरकारले खासै चासो देखाएको पाइन्न।
प्रकाशित: २१ पुस २०८१ ०७:२६ आइतबार