२४ चैत्र २०८१ आइतबार
image/svg+xml ५:२९ पूर्वाह्न
समाज

मालवाहक सवारीले यात्रु र यात्रुवाहक सवारीले मालसामान बोके कडा कारवाही

सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालयले कडा कदम चाल्ने भएको छ। शुक्रबार सर्वपक्षीय भेला आयोजना गरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि विभिन्न कदम चाल्ने जानकारी गराएको हो।

पछिल्लो समय सवारी दुर्घटनाबाट ज्यान गुमाउने र अंगभंग हुनेहरु थपिँदै गएको भन्दै सवारी दुर्घटना न्यूनीकरण राष्ट्रिय विमर्शकै विषय भएको प्रहरीले जनाएको छ। प्रहरीले जिल्लामा मालवाहक सवारीले यात्रु बोक्ने गरेको र यात्रुवाहक सवारीले मालसामान बोक्ने गरेको भन्दै त्यसलाई रोकेर कानुन अनुसार कार्य गर्न यातायात व्यवसायीलाई सुझाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले प्रयोजन र मापदण्ड अनुसारको काम मात्र गर्न व्यवसायीलाई अनुरोध गरेका छन्।

सरोकारवालाहरुको बैठकबाट सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमा भएका खाल्डाखुल्डी मर्मत गर्ने, सडकमा जथाभावी भएको तारपोल व्यवस्थापन गर्ने, मालवाहक र ठूला ट्रकलाई चोक तथा बजार क्षेत्रमा प्रवेश गर्दा व्यवस्थित गर्न लगाउने, रातो नम्बर प्लेटका सवारीलाई यात्रु बोक्न रोक लगाउने लगायतका निर्णय भएको र सोही अनुसार कार्यान्वयन गर्ने प्रहरीले जनाएको छ। प्रहरीले विपी राजमार्गमा सवारी चलाउने चालकले लागु पदार्थ सेवन गरेको पाइएकाले लागु पदार्थ र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कडा कारवाही गर्न सुरु गरिएको र त्यसलाई निरन्तरता दिने जनाएको छ।

विपी यातायात प्रा.लि.का अध्यक्ष कान्छामान बलले नियम विपरीतका साधनलाई यात्रु बोक्न निर्वाध छोडिएकाले दुर्घटना र अस्वस्थ प्रतिस्पर्धा बढेको बताए। व्यवहारिकता भन्दै प्रयोजन विपरीतका र मापदण्ड विपरीतका सवारी चलेको भन्दै त्यस्तो कार्यलाई निराकरण गर्नुपर्ने उनले धारणा राखे। उनले सवारी चालकलाई खाना खुवाउने होटलमै लागु पदार्थ दिने कार्य भएको भन्दै त्यसलाई रोक्नुपर्ने बताए। बस जाने स्थानमा निजी नम्बर प्लेटको बोलेरोबाट यात्रु बोक्ने व्यवस्था हटाउन बस व्यवसायी दुर्गा तामाङले अनुरोध गरे। प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले सवारी दुर्घटना न्यूनीकरण गर्न राज्य संयन्त्र निर्मम भएर लाग्ने बताए। चालककै कारण धेरै दुर्घटना भएकाले चालकलाई सचेतना कार्यक्रम गर्नुपर्ने उपस्थित सरोकारवालाहरुको भनाइ थियो।

प्रकाशित: १९ पुस २०८१ १८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App