२१ पुस २०८१ आइतबार
image/svg+xml
समाज

सचिन परियार: नफक्रँदै चुडिएको एउटा कोपिला

०७७ मा कोभिड–१९ को बन्दाबन्दी थियो । त्यहीँ बेला गुल्मीको तम्घासबाट एक बालकसँगको टिकटक भिडिओ ‘भाइरल’ भयो । ती बालकसँग कसैले छोटो कुराकानी गरेर टिकटकमा हालेको थिए । जसका दर्शकले कोरोनाको पट्यारलाग्दो काल चलिरहँदा भिडिओमा पर्याप्त मनोरञ्जनको खुराक पाएर रमाए ।

 ती, बालक थिए, बिहीबार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ज्यान गुमाएका सचिन परियार । त्यो भिडिओले सचिन भाइरल भए। त्यसपछि युट्युबर उनको पछि लागेर रातारात ‘सेलेब्रिटी’ बनाइदिए । 

सचिनको वास्तविक कहानी भने गुल्मीकै मुसिकोट नगरपालिका–९ ददल्काबाट सुरु हुन्छ । त्यहीँ उनको बाबुबाजेको पुर्ख्यौली थलो पनि हो । जहाँ १३ वर्षअघि उनको जन्म भएको हो । उनका बुबाको नाम तेजेन्द्र परियार हो ।

सचिनको पुर्ख्यौली घरमा भने अहिले ताल्चा रहेको स्थानीयवासी बताउँछन् । उनकी हजुरआमाको ६ महिनाअघि मृत्यु भएको थियो । त्यसअघि उनका हजुरबुबा तेजबहादुर दमाई र हजुरआमा ददल्कामा बस्थे । श्रीमती बितेपछि तेजबहादुरले पनि गाउँ छाडे । 

सचिनका बाबुबाजेको पेसा लुगा सिलाउने नै हो । उनीहरूको पर्याप्त खेतबारी पनि छैन, खेतबारी नै नभए वर्ष भरी खान अन्नपातको जोहो कपडा सिलाएरै गर्नुपर्थ्यो । 

त्यही अभावका बिच सचिनका बुबा तेजेन्द्रले र सचिनकी आमासहित बालबच्चा बोकेर बागलुङको गलकोट हटिया लगेका थिए । गलकोटमै सचिनको मावली घर पनि छ ।  ददल्काबाट गलकोट हटिया जाँदा सचिन छ÷सात वर्षका थिए। हटियामा तेजेन्द्रले सिलाई कटाइकै काम गरेर परिवार धान्दै आएका थिए ।

अकस्मात् तेजेन्द्रले अर्को बिहे गरेको हल्ला सुनियो । त्यसले उनको घरमा पारिवारिक झमेला बढ्न थालेको थियो । केही समयमै त्यो हल्ला सत्य साबित भयो । त्यसले पनि सचिनको बाल मनोविज्ञानमा असर परेको हुनसक्ने जानकारहरूको बुझाई छ । 

तेजेन्द्रले दोस्रो बिहे गरेपछि हटियाबाट नयाँ श्रीमती लगेर गुल्मीको तम्घास सरे । त्यहाँ पनि सिलाई कटाइ पसल नै राखे । सचिनकी आमा भने त्यसपछि माइतीमै बस्न थालिन । सचिन पनि आमासँगै बसे ।   

तर, सचिन भने बुबासँग भेट्न तम्घास आउजाउ गर्न पाउँथे । कोभिड–१९ को बन्दाबन्दी हुँदा विद्यालय बन्द भएपछि सचिन बुबालाई भेट्न नै तम्घास गएका बेलाको भिडिओ भाइरल भएको हो ।  

त्यसपछि सचिन ‘भ्यअर्स’को पछि दगुर्ने युट्युबरलाई चाहिएकै ‘भाइरल कन्टेन्ट’ बने । एकाएक युट्युबरले उनलाई गलकोटबाट उठाएर काठमाडौं पुर्‍याए । टेलिभिजन प्रस्तोता कृष्ण कँडेलसम्मको नजरमा उनी परे । 

कँडेलले भने सचिनलाई चन्दा उठाएर कक्षा १२ सम्म पढाइदिने घोषणा गरे । बाँकी युट्युबरले उनलाई प्रयोग मात्र गरिरहे । कँडेलले सचिनलाई गौशालास्थित हिमाली इङ्लिस बोर्डिङ स्कुलमा भर्ना गराएका थिए । उनले सचिनसँगै उनकी बहिनीलाई पनि पढाउने जिम्मा लिए । 

बुबा नै भिलेन बनेपछि...

त्यहाँसम्मको सचिनको यात्रा कम्तीमा स्कुल प्रवेश गरेर सुन्दर भविष्यतर्फ लम्किएको थियो । तर, त्यसमा उनकै बुबा तेजेन्द्र ‘भिलेन’ बनेर प्रवेश गरेको जान्नेहरू बताउँछन् । 

सचिन भाइरल कन्टेन्ट थिए, युट्युबर र विभिन्न ‘इभेन्ट’ आयोजकहरू उनलाई प्रयोग गर्न चाहन्थे । जसका सहयोगी बनेर उनकै बुबा तेजेन्द्र आए । उनी सचिनलाई ‘कार्यक्रममा लैजाने’ भन्दै विद्यालयबाट लैजान थाले । 

तेजेन्द्रले हप्तौँ, महिनौँसम्म मेला, महोत्सवमा डुलाउँदा सचिनको पढाइ बिग्रिन थाल्यो । ‘दुई दिनमा ल्याइदिन्छु’ भन्दै लगिएका सचिन महिनौँसम्म पनि नल्याउने गरेको विद्यालयले बताएको थियो। ६ महिनासम्म विद्यालय अनुपस्थित भएको भन्दै विद्यालयले ‘रेस्टिकेट’ गरिदियो ।

यता भाइरल छोराबाट राम्रै आम्दानी हुन थाले तेजेन्द्रले तम्घासको सिलाई कटाइ पसल बन्द गरेर काठमाडौंमै आए। उसो त सचिनका शुभचिन्तकले तेजेन्द्रका लागि लुगा सिउने मेसिन नै किनिदिएका थिए । उनलाई त्यसलाई समेत थन्काए । 

यता बुबा तेजेन्द्रकै कारणले विद्यालयबाट निष्कासनमा परेका सचिनलाई त्यसपछि कँडेलले पनि ध्यान दिएनन् । 

त्यसपछि भने बुबा तेजेन्द्र र युट्युबरका लागि सचिन कमाइ खाने भाँडो मात्रै बनिरहे । सचिनलाई सामाजिक सञ्जाल र युट्युबमा हालेर आफ्नो फाइदा लुट्नेहरूले उनको खानपान र स्वास्थ्यको सम्म ध्यान दिएनन् । दिनमा चार पाँच वटा सुटिङ गर्नेदेखि युट्युबमा अन्तर्वार्ता लिनेको भिडले उनलाई पछ्याइरह्यो । सचिनसँगै उनको बुबा तेजेन्द्रको दिनचर्या नै त्यही बनिरह्यो । त्यसबाट एक बालकको मानसिक र शारीरिक स्वास्थ्यमा कस्तो असर परिरहेको छ भन्ने सामान्य मानवीय चेत कसैले राखेनन् ।

एक समय सचिनलाई बुबा तेजेन्द्रले प्रयोग गरिरहँदा आमासँग छुट्टिएर काठमाडौंमा चहारिरहेका सचिन भने आमासँग बस्न मन छ भन्थे । तर, आमा काठमाडौं आइनन्, बुबाले आमाकहाँ पठाइदिएनन् । 

गत वर्ष सचिनकी आमाले छोरालाई सँगै राख्न पाउनुपर्ने भन्दै  मुसिकोट नगरपालिका–९ ददल्का पुगेर वडाध्यक्ष गुहारेकी थिइन । त्यो बेला तेजेन्द्रलाई बोलाएर छलफल गराएको वडाध्यक्ष भुमा गुरुङ बताउँछिन्। ‘आमाले छोरा राख्न पाउनुपर्‍यो भन्नुभयो। हामीले बुबा तेजेन्द्रलाई बोलाएर छलफल गराएका थियौँ,’ गुरुङले भनिन्, ‘त्यो बेला तेजेन्द्रले पाल्न सक्छेस् ? उपचार गर्न सक्छेस् ? सक्छेस् भने राख् भन्नुभएको थियो ।’ त्यसपछि दुवै जना ‘पछि आउँछौँ’ भनेर गएको उनी बताउँछिन् । 

सडकमा माग्दै गरेको भेटिएपछि....

एक समय सचिन एकाएक बाटोमा माग्दै हिँडिरहेका पनि देखिए । काठमाडौं बानियाँटारस्थित महादेव खोलानजिक उनी खानेकुरा माग्दै हिँडेको दृश्य पनि सामाजिक सञ्जालमा छरिए । त्यति बेला स्थानीयले तेजेन्द्रको जिम्मा लगाउन खोजे, तर उनी सम्पर्कमा आएनन् । त्यस बेला सचिनले बुवासँग बस्न डर लाग्ने गरेको बताएका थिए ।

त्यसपछि फेरी युट्युबरले उनलाई घेरेर ‘बुबाले माग्न पठाएको हो ?’ भनेर सोध्न थाले । त्यसैमा ‘तिम्रो नाममा आएको चन्दा तिम्रो बुबाले कहाँ हाले ?’ जस्ता प्रश्न युट्युबरले सचिन बर्साएका देखिन्छन् । जसमा सचिन चुपचाप हुन्छन् ।

एक बालकलाई के थाहा, ‘पैसा कताबाट आयो ? अनि गयो ?’ 

उता छोरा मागिहिँड्दा तेजेन्द्रका गफ भने सुनिनसक्नु र पत्याई नसक्नु थिए । युट्युबरसँग तेजेन्द्र कहिले करोडौँको गाडी किनेको दाबी गर्थे, त कहिले दोहोरी साँझको मालिक भएको बताउँथे । आफूलाई कलाकार पनि भन्न थालिसकेका  थिए। 

सामाजिक सञ्जालको भिडले तेजेन्द्रको त्यो ठाँटलाई ‘सचिनको नाममा आएको चन्दा’ भन्ने गर्थे । कतिपय अवस्थामा त्यो टिप्पणी जायज नै लाग्थ्यो । स्वाभाविक प्रश्न उठ्थ्यो, ‘सामान्य सिलाई कटाइ गर्नेको यस्तो ठाँट कसरी पैदा भयो ?’ 

कुनै बेला यसरी ठाँटले प्रस्तुत हुने तेजेन्द्रले छोरा सचिन बिरामी हुँदा अस्पताल जान समेत पैसा नभएको बताउन थाले । न उनलाई भजाएर युट्युबबाट पैसा कमाएका युट्युबर देखा परे । 

सचिन सिकिस्त बिरामी हुँदा तेजेन्द्रले फेरी सामाजिक सञ्जालमा हारगुहार गरे। उनले हारगुहार गर्दा सामाजिक सञ्जालको भिडले ‘पहिलाको पैसा खै ?’ भनेर प्रश्न सोध्न थालेका थिए । 

कतिपयले मानवीयताको नाताले भन्दै सचिनको उपचारका लागि रकम सङ्कलनमा साथ दिए । त्यो रकममा पनि तेजेन्द्रले हिनामिना गरेको आरोप लागिरहेको छ। त्यसमा ११ लाख उठेको र उपचारमा तीन लाख मात्र खर्च भएको भन्दै बाँकी पैसाको बारेमा प्रश्न उठेको थियो । 

पछि सचिनको नाममा सहयोग आउन छाडेपछि भने तेजेन्द्रले सचिनको नामको युट्युब खोलेर गाली गरेर बोल्न लगाएका भिडिओहरू आउन थाले । 

यस क्रममा बुधवार मात्रै मुसिकोट–९ की वडाध्यक्ष गुरुङलाई फोन गरेर तेजेन्द्रले ‘विपन्न वर्गको कागज बनाइदिनू’ भनेर आग्रह गरेका थिए ।  वडा कार्यालयले तत्काल विपन्नताको कागज बनाएर तेजेन्द्रको ह्वाट्सएपमा हालिदियो । 

तर, बिहीबार भने सचिनले धरतीको १३ वर्षे यात्राबाट बिराम लिए । त्रिवि शिक्षण अस्पतालमा बिहान १०ः४५ मा उनले अन्तिम श्वास फेरे ।  

अस्पतालका अनुसार सचिनलाई जन्मजात ‘भेन्ट्रिकुलर सिस्ट’ भएको थियो । यो निकै दुर्लभ ब्रेन ट्युमर मानिन्छ । जुन १० लाख जनामा तीन जनामा मात्र हुने चिकित्सकहरू बताउँछन् । 

चिकित्सकका अनुसार जन्मजात यो समस्या भएका सचिनलाई समयमै अस्पतालमा लगिएको रहेनछ । तीव्र ज्वरो र सास फेर्न गाह्रो भएपछि गत साता मात्रै अस्पताल भर्ना गरिएको थियो । अस्पताल पुग्दा उनलाई ‘सेप्टिक सक’ भइसकेको थियो । सबै शरीरमा सङ्क्रमण फैलिएकाले उनलाई अस्पतालले बचाउन सकेन । 

सानै उमेरमा प्रतिभाशाली भएर जन्मनु र सबैलाई मनोरञ्जन दिलाउन सक्ने क्षमता हुनु सचिनको सबल पक्ष थियो । तर, यही पक्ष उनको जीवनका लागि दुर्बल पक्ष साबित बन्यो । प्रतिभाकै कारण सचिनको हक लाग्ने बालापन खोसियो । आमाको ममता खोसियो । बुबाले वात्सल्य खोसेर कमाइको भाँडो बनाइदिए। शिक्षाको हक खोसियो । बुबा र ‘भ्युअर्स’को पछि दगुर्ने युट्युबरदेखि गीत तथा भिडिओ निर्माताले उनीमाथि नाजायज श्रम शोषण गरे । उनीमाथि अत्याचार हुँदा न बालअधिकारकर्मी बोले, न बालबालिकाका क्षेत्रमा काम गर्ने सङ्घसंस्था तथा राज्य बोल्यो । 

अन्ततः एक प्रतिभाशाली बालक कलिलैमा ठुलो प्रतिभा मारेर सधैँका लागि अस्तायो । अलबिदा सचिन ।

प्रकाशित: १८ पुस २०८१ १९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App