२३ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

११ महिनामा एक करोड ३२ लाख हवाई यात्रु

कमजोर सडक पूर्वाधार र विदेशी पर्यटक आगमनले नेपालमा हवाई यात्रुको संख्या बढेको छ। सन् २०२४ मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई यात्रा गर्नेको संख्या बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।

क्यानका अनुसार सन् २०२४ को ११ महिनामा अन्तर्राष्ट्रिय र आन्तरिक गरी एक करोड ३२ लाखजनाले हवाई यात्रा गरेका छन्। गत जनवरीदेखि नोभेम्बरसम्म अन्तर्राष्ट्रियतर्फ ४४ लाख ४९ हजार एक सय ३३ जना र आन्तरिकतर्फ ८७ लाख ६० हजार तीन सय दुईजनाले हवाई यात्रा गरेका हुन्।

विगतको तुलनामा अन्तर्राष्ट्रियतर्फ ७.०९ प्रतिशत र आन्तरिकतर्फ करिब १३ प्रतिशतले हवाई यात्रु बढेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए। अधिकारीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्घ र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रुले उडान भरेका हुन्। सन् २०२३ को ११ महिनामा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ५४ हजार तीन सय ९३ थियो।

त्यसैगरी आन्तरिकतर्फ सन् २०२३ को ११ महिनामा ७७ लाख हवाई यात्रुले यात्रा गरेका थिए। यो जानकारी क्यानको २६औं वार्षिकोत्सवका अवसरमा महानिर्देशक अधिकारीले दिएका हुन्।

नेपालमा २७ वटा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले उडान भर्दै आएका छन्। नेपालबाट १६ देशका २९ वटा गन्तव्यमा नियमित उडान भइरहेको छ। त्यस्तै आन्तरिकतर्फ १९ वटा वायु सेवा कम्पनीले सेवा दिइरहेका छन्। नेपालका ५५ वटा विमानस्थलमध्ये ३५ वटा आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन्।

हवाई यात्रुको चाप वृद्धिसँगै क्यानको आम्दानी पनि बढेको छ। प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब ७१ करोड ३८ लाख रूपैयाँ आम्दानी गरेको जानकारी वार्षिकोत्सव अवसरमा महानिर्देशक अधिकारीले दिए। प्राधिकरणलाई एरोनटिकल तर्फबाट ११ अर्ब ५१ करोड ८९ लाख र ननएरोनटिकल तर्फबाट तीन अर्ब १९ करोड ४९ लाख रूपैयाँ आम्दानी भएको छ। क्यानले गत वर्ष पुँजीगततर्फ नेपाल सरकारको अनुदानसहित १० अर्ब ५२ करोड ७० लाख लगानी गरेको थियो थियो।

त्यस्तै गत वर्ष कार्य सञ्चालन खर्च चार अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च ४ अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च एक अर्ब ३३ करोड एक लाख र आयकर खर्च एक अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रूपैयाँ खर्च भएको क्यानले जनाएको छ। यसरी हेर्दा प्राधिकरणको गत आर्थिक वर्षको सञ्चालन मुनाफा तीन अर्ब ३७ करोड ७८ लाख रूपैयाँ रहेको छ।

हवाई यात्रुको चाप बढेसँगै प्राधिकरणले हवाई पूर्वाधार निर्माणलाई पनि प्राथमिकता दिएको छ। क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत गुरुयोजनाअनुसार विमानस्थलको सीमित क्षेत्रफललाई अधिकतम उपयोग गरी क्षमता अभिवृद्धि गरिरहेको छ।

क्षमता विस्तारअन्तर्गत उत्तरतर्फ करिब १८ वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न मिल्नेगरी विसान क्षेत्र र टयाक्सीवे निर्माणको काम भइरहेको छ। क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानतर्फ व्यवस्थित यात्रु सहायता कक्ष स्थापना गरी टर्मिनल गेट, टिकट, उडानसम्बन्धी जानकारी, ह्विल चेयर सेवा पनि दिँदै आएको छ। आन्तरिक विमानस्थलहरूमा आधुनिक सुविधा सम्पन्न टर्मिनल निर्माणको काम पनि अघि बढाइएको क्यानले जनाएको छ।

हवाई यातायात सञ्जाल माध्यमद्वारा आधारभूत आवश्यकता पूर्ति गर्न बजार, सेवा र स्थानसम्म पहुचँ स्थापित गर्न र नेपाललाई सहज, सरल तथा भरपर्दो गन्तव्य स्थलको रूपमा विकास गर्ने काम प्राधिकरणले गर्दै आएको छ।

नियमन र सेवा प्रदायक निकाय एउटै भएको भन्दै आलोचना भइरहेका बेला सरकारले क्यानलाई सेवा प्रदायक र नियामक निकायका रूपमा विभाजन गर्ने तयारी गरेको छ। क्यानलाई विभाजन गर्ने कानुन निर्माण भएपछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बताए। ‘नयाँ कानुन निर्माण भएपछि अन्तर्राष्ट्रिय रूपमा उठेका प्रश्नको पनि सम्बोधन हुनेछ,’ मन्त्री पाण्डेले भने।

प्रकाशित: १७ पुस २०८१ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App