२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाल एयरलाइन्स दिनप्रतिदिन कमजोर हुँदै: मन्त्री पाण्डे

फाइल।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) दिनप्रतिदिन कमजोर हुँदै गएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले निगमले आफ्ना वाइडबडी र न्यारोबडी विमान सञ्चालनमा असक्षमता देखाएकोमा गम्भीर असन्तुष्टि व्यक्त गरे।

उनले निगमले हवाई उडान विस्तार र हवाई भाडा सर्वसुलभ बनाउन नसकेको भन्दै यो अवस्थाले राष्ट्रिय ध्वजावाहकको भूमिकामा नै प्रश्न उठाएको बताए।

मन्त्री पाण्डेले भने, "नेपालको हवाई उडानलाई विस्तार र हवाई टिकट सस्तो बनाउन राष्ट्रिय ध्वजावाहक बलियो र सुदृढ हुनुपर्छ। राष्ट्रिय ध्वजावाहक बलियो भए मात्र आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडा नियन्त्रणमा राख्न सकिन्छ। तर, निगमले यो भूमिकामा हस्तक्षेप गर्न सकेको छैन।"

उनका अनुसार वायुसेवा निगम सञ्चालन गर्ने मोडालिटी, जहाज खरिदका विवादहरू, र टिकट बिक्री वितरणमा पारदर्शिताको अभाव प्रमुख समस्या बनेका छन्। वाइडबडी र न्यारोबडी विमानहरू समयमै 'सी-चेक' नपठाउनुले उडान सञ्चालनमा समस्या थपिएको उनले स्पष्ट पारे।

मन्त्री पाण्डेले मन्त्रालयले नेपाल वायुसेवा निगमलाई सुधारका लागि कार्ययोजना प्रस्तुत गर्न एक महिनाको समय दिएको जानकारी गराए। "हामी निगमको नेतृत्वसँग निरन्तर छलफलमा छौं। सुधारका लागि उनीहरूको सोच र योजना के छन् भन्ने जान्न हामी इच्छुक छौं," उनले भने।

पछिल्लो पटक सरकारले निगमलाई बलियो बनाउनेबारे विभिन्न पहलहरू गरेको उल्लेख गर्दै मन्त्री पाण्डेले सुधारका योजना आधारमा समस्याको समाधान खोजिने जनाए।

उनले थपे, "वाइडबडी विमानहरू 'सी-चेक' मा पठाउन नसक्दा न्यारोबडी विमानसमेत चल्न नसक्ने अवस्था छ। यस्तो परिस्थितिमा निगमको प्रदर्शन सुधार्न कडा कदम उठाउनुपर्ने समय आएको छ।"

प्रकाशित: २३ पुस २०८१ १६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App