उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले कलाकारलाई सम्मान गर्नुलाई राज्यको प्रमुख दायित्वको रूपमा लिनुपर्ने बताएका छन्।
उनले कलाकारहरूले आफ्नो कलाको माध्यमबाट नेपाललाई विश्वभर परिचित गराउँदै आएकोमा प्रशंसा व्यक्त गरे।
मंगलबार काठमाडौंमा नेपाल व्यवसायिक कलाकार संघको ३० औं स्थापना दिवस तथा राष्ट्रिय विभूति अरनीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले कलाकारिता क्षेत्रलाई नयाँ पुस्ताले सम्भावनायुक्त भविष्यको रूपमा हेर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको औंल्याए।
उनले भने, "कलाकारलाई सम्मान त गर्नैपर्छ। आफूले केही गर्न नसक्दा पनि यो विधालाई जीवन्त बनाइरहनुभएको छ। कलाकारितालाई प्रेरणाको स्रोत बनाउँदै नयाँ पुस्ताले यसलाई भविष्य निर्माणको माध्यमका रूपमा लिनेछन्। त्यसैले कलाकारलाई सम्मान गर्नु हाम्रो दायित्व हो।"
कार्यक्रममा उनले कलाकारिताको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउने योगदानको उच्च मूल्यांकन गर्दै राज्यले यस क्षेत्रका व्यक्तिहरूको सम्मान र प्रोत्साहनका लागि सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित: २३ पुस २०८१ १६:४२ मंगलबार