१९ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

उदयपुरगढीको बजेट खर्च ५ महिनामा साढे २३ प्रतिशत

पुनर्संरचनाको अन्तिम चरणमा पुगेको उदयपुरगढी दरबार क्षेत्र । तस्बिरः महेश्वर

चालु आर्थिक वर्ष सुरु भएको ५ महिना अवधिमा उदयपुरका ८ स्थानीय तहमध्ये उदयपुरगढी गाउँपालिकाको पुँजीगत बजेट खर्च तुलनात्मक रुपमा धेरै भएको छ । गत साउनदेखि मङ्सिर मसान्तसम्मको पुँजीगत खर्च २३ प्रतिशत हाराहारी हुनु अन्यको दाँजोमा धेरै हो ।

यो अवधिमा अन्य स्थानीय तहहरुले बढीमा १५ प्रतिशतभन्दा पनि कम पुँजीगत बजेट खर्च गर्न सकेका छन् । ४ नगरपालिका र ४ गाउँपालिका रहेको उदयपुरमा बाँकी ७ स्थानीय तहको तुलनामा उदयपुरगढीको पुँजीगत बजेट खर्च उत्साहजनक छ ।

गाउँपालिकाको गत साउनमा सम्पन्न गाउँ सभाले चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ ३० करोड २८ लाख ९८ हजार ७ सय ६५ रुपैँया बजेट विनियोजन गरेको थियो । त्यसमध्ये मङ्सिरसम्म ६ करोड ६२ लाख ९१ हजार ५ सय ९८ रुपैँया खर्च भएको लेखापाल शेखर बुढाथोकीले बताए । उनका अनुसार यो खर्च हिस्सा विनियोजित बजेट अङ्कको २१.८८ प्रतिशत हो ।

त्यसैगरी चालुतर्फ हालसम्म २३.४८ प्रतिशत बजेट खर्च भईसकेको छ । यो आर्थिक वर्षका लागि चालुतर्फ गाउँ सभाले ४० करोड ७९ लाख ९० हजार २ सय १२ रुपैँया विनियोजन गरेको थियो । जसमध्ये हालसम्म ९ करोड ५८ लाख १ हजार ३ सय ५३ रुपैँया खर्च भईसकेको लेखापाल बुढाथोकीले बताएका छन् । पुँजीगत र चालु गरी समग्र बजेट खर्च उदयपुरगढीले २३.४१ प्रतिशत गरेको बुढाथोकीको भनाई छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँले विकास निर्माणका लागि विनियोजित बजेट समयमै खर्च गर्ने गरी योजना सम्झौताको काम भदौदेखि नै सुरु गरेर कार्यान्वयनमा गएको बताए । ‘गाउँ सभाले शीर्षक तोकेर पारित गरेको बजेट खर्च गर्न के ढिलो गरिरहनु ?’ उनले भने ‘भदौदेखि नै भकाभक टेण्डर आव्हान, उपभोक्ता समिति गठन र सम्झौता प्रक्रिया थाल्यौँ, अहिले त आधाभन्दा बढी योजनाहरूको काम सुरु भईसकेको छ र कतिपय रनिङमा छन्, कति सुरु हुने क्रममा छन् ।’ जहिल्यै जेठ–असारमा सम्झौता गर्ने र काम नगरी बजेट फ्रिज गराउने परम्परा तोड्न छिटो काम थालेको गुरागाईँले बताए ।

गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले चालु वर्ष पनि गाउँ गौरवका योजनाहरू निर्माण भइरहेको बताए । पुरानो उदयपुरगढी पुनर्संरचनादेखि १५ शैय्याको गाउँ अस्पताल, प्रशासनिक भवन, नेपालटार–उदयपुरगढी खण्डको सडक स्तरोन्नतिसहित कालोपत्रे र विभिन्न वडाबाट गाउँपालिका केन्द्र गढी जोड्ने सडकजस्ता गाउँ गौरवका योजना निर्माण हुँदै छन् ।

स्वास्थ्य चौकी, विद्यालय भवन, खानेपानी, विद्युत्, कृषिलगायत पूर्वाधार तथा शिक्षा, स्वास्थ्य र सिँचाईसँग सम्बन्धित योजनाहरू निर्माणमा गाउँपालिका केन्द्रित भइरहेको अध्यक्ष मगर बताउँछन् । अस्पताल, गढी पुनर्संरचना र प्रशासनिक भवनलगायत दर्जन हाराहारी योजनाहरू वहुवर्षीय रुपमा निर्माणाधीन हुन् । नेपालटार–गढी खण्डको कालोपत्रे सडक चालु वर्षभित्रै सक्ने गरी ठेक्का प्रक्रियामा गइसकेको अध्यक्ष मगरले बताएका छन् । त्यसबाहेक अन्य टुक्रे र सानोतिनो बजेटमा निर्माण हुने योजनाहरू थुप्रै सञ्चालन भइरहेको छ ।

प्रकाशित: १६ पुस २०८१ १५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App