जनकपुरधामाबाट २७ किलोमिटरको पुर्वमा पर्छ, धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ६ को मुसहरी टोल । भौगोलिक रुपले गाउँसम्मै कालोपत्रे सडक नपुगेपनि ओहोरदोहोर गर्न अप्ठ्यारो भने छैन । तर, यस मुसहरी टोलमा बसोबास गर्ने मुसहरहरूको जीवन निकै कष्टदायी छ ।
अन्दाजी ४५ वर्षकी सञ्जोगिया सदाको ११ जनाको परिवार छ । श्रीमान्, ५ जना छोरा, २ जना बुहारी र १ जना नातिना छन् । तर, उनीसँग बस्नका लागि जम्मा एउटा कोठा छ । जसमा उनको परिवार खाना पकाउनुका साथै सुत्ने पनि गर्छ । ऐलानी जग्गामा पुर्खौदेखि बस्दै आएपनि उनीसँग आफ्नै जग्गा भने छैन ।
उनी भन्छिन्,'घर नै छैन अनि जीवन कसरी चल्छ त्यो हामीलाई थाहा छ । आफ्नै घर नहुँदा एउटी बुहारी माइति मै छिन् । घर अभावकै कारण बाँकी छोराहरूको पनि विवाह गर्न समस्या भइरहेको छ । गर्मी, वर्षा र हिउँदको समयमा त झन् कति गाह्रो हुन्छ ।'
उनको दुःख यतिमै सिमित छैन । उनी थप्छिन्,'आफ्नै घर भयो भने आनन्दले सबै परिवारसँगै बस्न पाइन्छ । खान पाइन्छ । हरेक काममा एक अर्काको सहयोग गर्न सकिन्छ । तर, घर नै नहुँदा बुहारी पनि नातिना लिएर माइतिमा छिन् । उनको र नातिनाको अनुहार हेर्न नपाएको पनि महिनौँ भयो । एउटै खोटामा सुत्न गाह्रो हुँदा यो जाडोमा पनि श्रीमान् र छोराहरू सामुदायिक भवनमा सुत्न जान्छन् । खाना पकाउन पनि गाह्रो, पाहुना आउँदा कहाँ राख्ने पनि समस्या ।'
'आवासबिनाको जीवन कति संघर्षपुर्ण हुन्छ त्यो त घर नहुनेलाई थाहा छ। वर्खामा रातभर जाग्राम अनि दिनभर जसोतसो दिन कट्छ, गर्मीमा छाहारी खोज्न कहाँ जाने रु जाडोयाममा शितलहरबाट जोगिन उस्तै समस्या, कतिखेर बिरामी पर्छु अनि औषधि गर्न पनि समस्या । न त रोजगारी छ न गाउँमा गरी खाने कुनै उपाय । अरु टोलमा नापी आयो रे लालपूर्जा दिने तयारी हुँदैछ रे भन्ने सुनेकी छु हामीलाई कहिले दिने हो ठेगान छैन,' सञ्जोगिया सुनाउँछिन् ।
जनकनन्दिनी गाउँपालिकाको यस मुसहरी टोलमा ८० घर छ । जहाँ करिब ८ सयजनाको बसोबास छ । यो टोलमा बसोबास गर्ने मुसहरहरू नयाँ होइनन् । उनीहरूको कैयौं पुस्ता यहि बस्दै आएका थिए । तर, कसैको पनि हालसम्म आफ्नो घर छैन । न त सरकारले यो गाउँपालिकाका मुसहर समुदायका लागि जनता आवास कार्यक्रम सञ्चालन गरेको छ ।
७० वर्षीय लक्ष्मी सदाको श्रीमति बितेपछि उनी घर बाहिर खुला आकाशमुनि किरियापुत्री बसेका छन् । श्रीमतिको देहावसान पछि उनको परिवारमा ६ जना छन् । छोराहरूसँग अशंवण्डा गरिसकेका लक्ष्मीको घर छैन । तर, त्यहि ऐलानी जग्गामा उनले आफ्नो र छोरा बुहारीका लागि घर बनाइदिएका छन् । छोराबुहारीको घर ठिकै छ । तर, लक्ष्मीको घर भने घर हो की गाईवस्तु राख्ने ठाउँ छुट्याउनै मुस्किल छ ।
बाँसको झिक्राले तीनतिर घेरेर बनाइएको उनको घरको छानोमा खरी ९छानोमा प्रयोग हुने एक प्रकारको घाँस० राखिएका छन् । त्यो घर हुनु र नहुनुको कुनै अर्थ छैन । तपाईं किन आँगनमा बसिरहनु भएको छ भन्ने हाम्रो प्रश्नमा लक्ष्मीले घरतिर देखाउँदै भने,'ऊ यो मेरो घर हो । त्यहाँ बस्नुभन्दा त मलाई यही ठिक छ । श्रीमति पनि अब छैनन् । छोराहरू पनि यहाँ बस्दैन । एउटाको मानसिक अवस्था ठिक छैन त्यसैले उ मसँगै बस्छ । तर, घर नै नभएपछि के गर्नु र के नगर्नु हुन्छ ।'
यत्तिका वर्षदेखि किन लालपूर्जा बिनै बसिरहनु भएको छ भन्ने प्रश्नमा उनको जवाफ थियो,'यो मेरो मात्रै समस्या होइन । यहाँ बस्ने कसैको पनि लालपूर्जा छैन । चुनावका बेला जो आउँछन् सबैले एउटै बाचा गर्छन् घर बनाइदिने लालपूजा दिलाइदिने । तर, चुनाव पछि उनीहरू कहिल्यै फर्केर पनि हेर्न आउँदैनन् ।'
घर नहुँदा कस्तो समस्या भोगिरहनुभएको छ भन्ने नागरिक न्यूजको प्रश्नमा उनले भने,'घर नहुँदा यी यही बाहिर बस्नु परेको छ । जाडो बढ्दै छ । बिरामी कतिखेर हुन्छु ठेगान छैन । न घरमा खाना पकाउन सक्ने अवस्था छ न त सुकुनले सुत्न सक्ने अवस्था छ । यो अहिलेको होइन वर्षौदेखिको समस्या हो । बिहान बेलुकाको खाना बुहारीले दिएपछि खाने हो । नत्र त कति दिन भोकै बसिन्छ । आफूले पकाउन जान्या छैन ।'
उनी भन्छन्,'घरै नभएपछि समस्या के हुन्छ ? हामी त आफ्नै पुर्खाको जग्गामा पनि सुकुम्बासी बनेर बस्नुपर्ने बाध्यतामा छौँ । जग्गा खाली गर्न भन्यो भने कहाँ जाने सबैलाई लिएर त्यो पनि ठेगान छैन ।'
जनकनन्दिनी यस मुसहरी टोलका ८० परिवारमध्ये कसैको पनि आफ्नै घर छैन । तर, सक्नेले माटोको घर बनाएका छन् । त्यो पनि मुस्किकले एउटा कोठा छ । जहाँ परिवारका ८ देखि १२/१५ जनाको परिवार बस्नु पर्ने बाध्यता छ । अधिकांशका बुहारी माइतिमै बस्छन् । ससुरा र जेठाजुसँग बस्न नमिल्ने चलन रहेकाले गाउँकै अधिकांंश बुहारीहरू प्रायः माइतिमै छन् ।
उमेरले ५५ वर्ष पुगेकी कुमारी सदाले बनाएको एक कोठे घर पनि भत्किसकेको छ । २ जना छोरा र २ बुहारी रहेको उनको श्रीमानको रोजगारी छैन । छोराहरू भने एकजना भारतको पञ्जाब र एकजना मुम्बईमा रोजगारीका लागि गएका छन् । तर, उनीहरूले कमाएको पैसा उनीहरूलाई नै खान बस्न ठीक्क हुन्छ रे ।
कुमारी भन्छिन्,'छोराहरू पढेलेखेका छैनन् । त्यसकारण राम्रो आम्दानी हुँदैन । कमाएको पैसा उनीहरूलाई खान बस्न ठीक्क हुन्छ । बुहारीहरू अहिले जेठानीको घरमा बस्छिन् । श्रीमान्ले खासै काम गर्दैनन् । सिजनको बेला काम गर्ने हो नत्र त कमाई नै हुँदैन । घर परिवार चलाउँनै मुश्किल छ ।'
घर नै नभए पछि कहिले छिमेकीको घरमा त कहिले सामुदायिक भवनमा उनको दिनरात बित्ने गर्छ । उनी भन्छिन्, 'घर बनाउन पैसा छैन । घर नहुँदा बुहारी पनि जेठानी र देवरानीको घरमा बस्छिन् । म पनि खान प्रायः उतै खान्छु । कमाई नहुँदा ऋण लिएर भएपनि दालचामलको जोहो गर्छु । अरुलाई पनि कति गाह्रो हुँदो तर, के गर्नु आफ्नो बस्ने लायक घर नहुँदा निकै समस्या भोगिरहनु परेको छ।'
यता, वडा नम्बर ६ को मुसहरी टोलमा जनता आवास कार्यक्रम किन सञ्चालनमा नल्याइएकोबारे जनक नन्दनी गाउँपालिकाका अध्यक्ष विपिन देव यादव भन्छन्,'बजेट नै दिएको छैन प्रदेश सरकारले अनि कसरी जनता आवास कार्यक्रम सञ्चालनमा आउँछ रु गाउँपालिकामा त्यति बजेट नै छैन जो मुसहरहरूका लागि घर बनाउन सकिन्छ ।'
आफ्नै पालिकाको वडा नम्बर ६ का मुसहरको अवस्थाबारे नै अनभिज्ञता जनाएका पालिका अध्यक्ष यादवले मुसहरकै लागि भनेर गाउँपालिकाले कुनैपनि शिर्षकमा बजेट विनियोजन नगरेको बताए । उनले भने,'विगत प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाले दस लाख रुपैयाँ थपेर कार्यक्रम संचालन गरेको थिए ।'
हुन त यो समस्या नयाँ भने होइन । धनुषा मात्रै नभई मधेशका ८ वटै जिल्लामा मुसहरहरूको आवाससँग सम्बन्धी समस्या एउटै छ । सरकारले अति विपन्न दलित वर्गको रुपमा व्याख्या गरेका मुसहरहरूको आवाससँग सम्बन्धित यस समस्यालाई सम्बोधन गर्न भनेर बर्सेनि जनता आवास कार्यक्रममार्फत् बजेट नै विनियोजन गर्दै आएको छ भने मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा मुसहरकै लागि भनेर सरकारले कुनै कार्यक्रम नल्याएपनि अति विपन्न वर्गको सूचीमा रहेकाहरूलाई लक्षित गर्दै आवास योजना कार्यक्रम ल्याएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले चालु आर्थिक वर्ष २०८१/८२ का लागि मधेस प्रदेशका ८ वटै जिल्लाका लागि प्रतिजिल्ला १ करोडका दरले मदन भण्डारी आवास योजना ल्याएको बताए । साथै बजेट अभाव भएमा थप गरेर भए पनि कार्यक्रम पूरा गर्ने उनको भनाइ छ ।
जस अन्तर्गत चालु आर्थिक वर्षभित्र ८ जिल्लामा गरी मदन भण्डारी आवास योजनाअन्तर्गत एक सय वटा घर निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको रहेको उनको दाबी छ ।
प्रकाशित: १४ पुस २०८१ १३:२१ आइतबार