१७ पुस २०८१ बुधबार
image/svg+xml
समाज

यस वर्षको सत्यनारायण बहादुर श्रेष्ठ स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कार फोनिजलाई

यस वर्षको सत्यनारायण बहादुर श्रेष्ठ स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लाई प्रदान गरिएको छ । श्रेष्ठको १०९ औ जन्म जयन्तीको अवसरमा नेवा: पत्रकार संघ केन्द्रले शनिवार राजधानीमा एक समारोह गरी पुरस्कार प्रदान गरिएको हो ।

नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले फोनिजका अध्यक्ष गजुरधन राईलाई २५ हजार नगदसहित पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् ।

स्व. श्रेष्ठको नेतृत्वमा विस. २००८ सालमा नेपाल पत्रकार संघ स्थापना भएको थियो । सोही कुरालाई आधार मान्दै फोनिजलगायतका सङ्गठनले श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष दाबी गर्दै आएका छन् । 

तर, महासंघले भने सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको नेतृत्वमा २०१२ सालमा गठन भएको नेपाल पत्रकार संघको निरन्तरता नै आजको महासंघ रहेको मान्दै आएको छ । 

यता श्रेष्ठलाई संस्थापक सभापति दाबी गर्नेहरूले २००८ मा श्रेष्ठको नेतृत्वमा गठित संघ नै २०१२ भट्टराई नेतृत्वमा निरन्तरता भएको दाबी गर्दै आएका छन् । यसबारेमा स्पष्ट प्रमाणको खोजी गरेर विवाद निरूपणको काम भने कुनै पक्षबाट भएको छैन । 

पुरस्कार वितरण कार्यक्रममा पुरस्कारका दाता एवं सत्यनारायण बहादुर श्रेष्ठकी सुपुत्री सुजिता मानन्धरले एक दिन राज्यले नै नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर सिंह रहेको घोषणा गर्ने विश्वास व्यक्त गरिन् । 

आयोजक नेवा पत्रकार संघका उपाध्यक्ष सुनिल महर्जनले २००८ सालमा श्रेष्ठले नै स्थापना गरेको पत्रकार महासंघलाई निरन्तरता दिँदै हालको पत्रकार महासंघ २०१२ सालमा स्थापना गरेको दाबी गरे । 

कार्यक्रममा देशभरका नेवा: पत्रकार संघमा आबद्ध भई हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा विजयी केन्द्र, प्रदेश र जिल्ला तहमा निर्वाचित पदाधिकारीहरूलाई पनि सम्मान गरिएको थियो । 

प्रकाशित: १३ पुस २०८१ १३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App