नेपालका दुई छिमेकी भारत र चीनले ‘कैलाश मानसरोवर यात्रा’ लाई पुनः सञ्चालन गर्ने सहमति गरेका छन्।
लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको ठहर गर्दै प्रतिनिधिसभाको दुई तिहाइले संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा नै बदलेको छ।
नेपालले लामो समयदेखि भारतले प्रयोग गर्दै आएको आफ्नो भूमि फिर्ता पाउनुपर्ने बताउँदै आएका बेला नेपाल पक्षको सहमतिबिना नै नेपाली भूमि लिपुलेक हुँदै भारतीय तीर्थालुले कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने गरी दुई देश सहमत भएका हुन्।
कोरोना (कोभिड–१९) को महामारीसँगै चीनले सन् २०१९ देखि उक्त बाटो हुँदै कैलाश मानसरोवर यात्रालाई रोक लगाएको थियो। यही डिसेम्बर १८ मा भारत र चीनका विशेष प्रतिनिधिबिच चीनको बेइजिङमा भएको २३औं बैठकमा पाँच वर्षअघि रोकिएको बाटो खोल्ने सहमति बनेको हो।
भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यी सहभागी बैठकमा कैलाश मानसरोवर यात्राको पुनः सुरुवात, सीमापार नदीको तथ्यांक आदान–प्रदान र सीमा व्यापारलगायत सीमापार सहयोगका लागि सकारात्मक निर्देशन दिएको बैठकपछि डिसेम्बर १८ मा भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
कैलाश मानसरोवर यात्रा पुनः खोल्ने विषयमा भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबिच १८ नोभेम्बरमा ब्राजिलको रियो दि जेनेरियोमा जी–२० शिखर सम्मेलनको साइडलाइनको भेटमा सो विषयमा कुरा भएको थियो। त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच भएको भेटमा पनि सो विषयमा छलफल भएको विभिन्न सञ्चार माध्यमले जनाएका थिए। सोहीअनुसार डिसेम्बर १८ मा भारत–चीनका विशेष प्रतिनिधिको बैठकले कैलाश मानसरोवर यात्रा पुनः खोल्नेसहित ६ बुँदे सहमति भएको जनाइएको छ।
प्रकाशित: १३ पुस २०८१ ११:४७ शनिबार