१३ पुस २०८१ शनिबार
image/svg+xml
समाज

सामाजिक सञ्जालमा उमेर छल्नेविरुद्ध अस्ट्रेलिया

अस्ट्रेलियाले आउँदो वर्ष नोभेम्बरदेखि १६ वर्षभन्दा कम उमेरका किशोरकिशोरीलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने नीति लिएपछि नयाँ पुस्ताले उमेर छल्न प्रविधिलाई नै छक्याउने निश्चित छ। यस्तोमा कसरी तिनलाई साँध लगाउने भन्नेबारे अहिले अस्ट्रेलियामा बहस भइरहेको छ।

सन् २०२५ नोभेम्बरदेखि अस्ट्रेलियाका किशोरकिशोरीले फेसबुक, इन्स्टाग्राम, एक्स तथा स्न्यापच्याटमा प्रवेश पाउनेछैनन्। तर उमेर छक्याउन नयाँ पुस्ताले नयाँनयाँ प्रविधि र विधि उपयोग गर्ने कुरालाई मनन गर्दै सरकारले बेलायती एउटा संस्थालाई त्यसको नियमन गर्न जिम्मा लगाएको छ।

केही विश्लेषकले उमेरको प्रतिबन्ध अहिलेको युगमा लगाउनु लगभग असम्भव रहेको प्रतिक्रिया दिएसँगै कम्पनीहरू ‘स्ट्रेस टेस्टिङ’मा व्यस्त हुन थालेका छन्। स्ट्रेस टेस्टिङ गर्दा कम्पनीहरूले अहिलेका पुस्ताले कसरी र कुन उपाय लगाएर उमेर छल्न सक्छ भन्ने विभिन्न परीक्षण गरिरहेको छ।

नयाँ पुस्तालाई सामाजिक सञ्जालमा साँध लगाउन अस्ट्रेलियाली सरकारले ३४ लाख डलरबराबरको परीक्षण कार्य अघि बढाएको छ। जसअन्तर्गत १२ सय जनामाथि प्रत्यक्ष परीक्षण गरिनेछ। यो परीक्षण ‘द एज चेक सर्टिफिकेसन स्किम’ ले गर्नेछ। यसका कार्यकारी अधिकृत टोनी एलेन भन्छन्, ‘किशोरकिशोरीलाई सामाजिक सञ्जालमा साँध लगाउन विभिन्न आक्रमणकारी भेक्टरहरूको परीक्षण थालिएको छ।

यी भेक्टरले विद्युतीय प्रणालीलाई बेवकुफ बनाउने प्रयास गर्छन्। कतिले नक्कली परिचयपत्र बनाउनेछन्, कतिले कलिलो अनुहारलाई वृद्ध बनाएर हाल्नेछन्, कतिले डिपफेक सफ्टवेयरसँगै भर्चुअल प्राइभेट नेटवर्कहरू (भिपिएन) प्रयोग गरी आफ्नो डिजिटल ठाउँलाई छोप्ने प्रयास गर्नेछन् ।

यी सबैको रामबाण निकाल्ने प्रयत्नमा एलेन छन्। उनी भन्छन्, ‘हाम्रो सबैभन्दा ठुलो चासो भनेको अहिले जहाँ पनि र जता पनि पाइने सस्ता सफ्टवेयरहरूले कुनै पनि तस्बिरलाई १० वर्ष बुढो बनाइदिन सक्छन्। मानौं कुनै १६ वर्षे तन्नेरी सामाजिक सञ्जालमा छिर्न खोज्यो भने आफ्नो हालको तस्बिर खिचेर तत्कालै १० वर्ष उमेर थपेर उसले खाता खोल्न सक्छ। यस्तो अवस्थामा हामीले प्रयोग गरिरहेको उमेर चिन्ने प्रयास निरर्थक हुने सम्भावना बढी नै छ ।’

प्रविधिमा थोरै मात्र हात साँध्ने बालबालिकाले तिनलाई सहजै झुक्याउने विभिन्न संयन्त्र बजारमा उपलब्ध छन्। खासगरी महँगो दाममा बेचिने सफ्टवेयरहरूले पत्तै पाउन मुस्किल हुने गरी तस्बिरहरू बनाइदिन सक्छ। एलेनको चिन्ता के छ भने, ‘धेरैजसो किशोरकिशोरीलाई फेसबुक वा अन्य सामाजिक सञ्जालमा खाता खोल्नु छैन।

उनीहरूलाई नक्कली आइडी बनाएर पोर्न साइट पनि छिर्नु छैन। धेरैलाई त सरकारले बनाएका नियमको धज्जी उडाउन मज्जा आउँछ। तिनले नै हामीलाई धेरै टाउको दुखाउने छन् ।’ त्यसैले उमेर ठ्याक्कै पत्ता लगाउने कुनै पनि रामवाण छैन। यस्तोमा आउँदो वर्षदेखि सामाजिक सञ्जाल चलाउने कम्पनीहरूले १६ वर्ष नपुगेका किशोरकिशोरीलाई खाता खोल्नबाट कसरी रोक्लान् भन्ने धेरेको चासो बढेर गएको छ।

अस्ट्रेलियाली सरकारले सामाजिक सञ्जालमा बालबालिकालाई खाता खोल्नबाट नरोके सामाजिक सञ्जाल सञ्चालक कम्पनीले तीन करोड १९ लाख डलर जरिवाना तिर्नुपर्ने निर्णय गरिसकेको छ। संसद्बाटै कानुन बनाएर यस किसिमको नीति लागु गरिएको यो संसारमै पहिलो हो। यसको सफलता वा विफलताले संसारका अन्य मुलुकले पनि यस्तै किसिमको कानुन बनाउने सम्भावना बढ्ने हुनाले धेरैले अस्ट्रेलियाली सफलता कथा कुरेर बसेका छन्।

अस्ट्रेलियाली कानुनअनुसार कुनै पनि सामाजिक सञ्जालमा उमेर प्रमाणित गर्न ड्राइभर लाइसेन्स वा मेडिकेयर कार्ड हाल्न पाइँदैन। उनीहरूको निजताको ख्याल राख्दै यस्तो नीति बनाइएपछि यसको विकल्प खोज्न सामाजिक सञ्जालहरू एकातिर बाध्य भएका छन् भने अर्कोतिर अनिच्छुक पनि देखिएका छन्। उनीहरूले निकै महँगो पर्ने उमेर प्रमाणित गर्ने विभिन्न माध्यमका विकल्प लिएर आउनुपर्ने छ। त्यसो त सामाजिक सञ्जाल सञ्चालकहरूलाई अस्ट्रेलियाली सरकारले सघाउन विभिन्न परियोजना ल्याइरहेको मध्ये एलेन कम्पनीले दिने सुविधा पनि एउटा हो। आउँदो जुन महिनादेखि उमेर परीक्षण हुने यो प्रक्रियालाई भने अस्ट्रेलियाली सरकारले निकै प्रचार गरिरहेको छ।

प्रकाशित: १२ पुस २०८१ ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App