१० पुस २०८१ बुधबार
image/svg+xml
समाज

'हिमाल संरक्षणमा तदारुक नभए पानीको स्रोतमा गम्भीर असर देखापर्छ'

हिमाल र हिमाली क्षेत्रको संरक्षणमा तत्काल ठोस कदम नचाले पानीको स्रोतमा गम्भीर असर पर्ने भन्दै शतर्क हुन सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

पृथ्वीको तापक्रम बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर पर्वतीय क्षेत्रमा परेकाले ती क्षेत्रमा जलवायु अनुकुलनका कार्यलाई तिब्रता दिनुपर्ने आवाज विश्वभर नै उठ्दै आएको छ । जलवायु परिवर्तन र वैश्विक तापक्रमको बृद्धिले ९ग्लोवल वार्मिङ० सबैभन्दा धेरै असर हिमाली क्षेत्रमा बस्ने बासिन्दाहरुलाई परिरहेको छ। बेमौसमी हिमपातका कारण पनि हिमाली क्षेत्रको जनजीवन प्रभावित बन्दै आएको छ।

हिमाली क्षेत्रमा अन्य क्षेत्रको तुलनामा तापक्रम वृद्धि दर बढी भएको तथ्यांक सार्वजनिक हुँदै आएको छ। तापक्रकम वृद्धिले हिउँ पग्लने क्रम पनि तिब्र गतिमा बढाउने भएकाले अन्ततः पानीको स्रोतमा नै बढी असर देखिएको छ । विज्ञहरुले जलवायु परिवर्तनको असरका कारण हिउँ पग्लने क्रम बढ्नु, हिमपातको क्रम घट्नु र पानी पर्न थाल्नुले हिमाली क्षेत्रको जोखिम बढाएको बताउँछन्।

जलवायुविज्ञ डाक्टर धर्मराज उप्रेती हिमालमा हिउँ पर्न छोडेर पानी पर्ने क्रम बढ्दै जाँदा त्यसले हिमालको इकोसिस्टममा गम्भीर असर पर्ने बताउँछन्। उनले पछिल्लो समय हिमाली क्षेत्रमा हिउँ नभएर पानी पर्न थालेपछि हिउँ बिस्तारै चुहिएर जमिनभित्र छिरेर पानीको मुहानसम्म आउनुपर्ने हिमाली चक्रिय प्रणालीमा समस्या देखिएको बताए।  

पानीले हिउँ पगाल्ने र सतहमा बग्दै गर्दा ढुंगा माटोसहित बग्ने भएकाले त्यसले बाढीको जोखिम बढाउनुको साथै हिउँ पग्लिएर जमिनको सतहबाटै तल गएपछि पानीको मुहान बग्ने प्रक्रियामा नै असर पुगेको उनको तर्क छ। उनले हिमाली क्षेत्रमा तत्काल जलवायु अनुकुलनका कार्य नगर्ने हो भने पानीको स्रोतमा गम्भीर असर पुग्ने बताए।

स्थानीय वासीहरु पनि अस्वभाविक हिउँ पग्लिने क्रम रोक्न नसके हिमाली र पहाडी क्षेत्रमा पानीको स्रोतमा गम्भीर असर देखिने गुनासो गर्छन्। पर्वतारोहण सञ्चालक समेत रहेका सोलुखुम्बुका स्थानीय आङछिरिङ शेर्पाले तिब्र औद्योगिक विकासमा अघि बढेका दुई छिमेकी मुलुकबाट निस्कने औद्योगिक धुँवाका कारण पनि हाम्रा हिमाल जोखिममा परेको तर्क गरे। उनले धुवाँ उत्सर्जन कम गराउनेतर्फ नेपालले दुवै मुलुकसँग कुटनीतिक पहल गर्न आवश्यक रहेको बताए।

शेर्पाले जनजीवन कष्टकर हुँदै गर्दा अवसरको खोजीमा युवाहरु आन्तरिक र वाह्य बसाईंसराई गर्ने क्रम बढेकाले हिमाली क्षेत्र रित्तिदै गएको बताए। मान्छे भेटिने बस्तीमा वृद्धवृद्धा मात्रै भेटिने गरेको बताए।

विज्ञहरु र स्थानीय बासीले तत्काल हिमाली क्षेत्र केन्द्रित जलवायु अनुकुलनका कार्यक्रम गरेर हिमाल, हिमाली जनजीवन र पानीको स्रोतमा देखिनसक्ने समस्या रोकथाम गर्नुपर्ने सुझाव दिएपनि सरकार भने आफू एक्लैले केही गर्न नसक्ने बताउँछ। वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखा प्रमुख डाक्टर सिंन्धु ढुंगाना नेपालको एकल प्रयासमा हिमाल संरक्षाण गर्न नसकिने बताए। उनले हिमालको समस्या समाधानका लागि नेपालले जलवायु कुटनीतिलाई बलियो बनाउनुपर्ने उल्लेख गरे। त्यसैगरी अन्तरमन्त्रालय र सरकोकारवालाहरुबीच समन्वय र सहकार्य आावश्यक रहेको बताए।

हिमाल र हिमाली क्षेत्रमा परेको जोखिम न्युनिकरण तथा हानी नोक्शानीका लागि विश्व जलवायु कोषको सहयोग नै आवश्यक पर्ने भएकाले नेपालले समग्र हिमालको नेतृत्व लिने दिशामा अघि बढीरहेको उनले स्पष्ट पारे। पर्वतीय क्षेत्रको समस्या समाधानका लागि छुट्टै किसिमको कार्यक्रम र योजना आवश्यक पर्ने भएकाले त्यस ढंगले पर्वतका मुद्दाहरु स्थापित गर्ने प्रयासमा आफूहरु लागिरहेको उनले स्पष्ट पारे। उनले कोप २९ मा पनि हिमालका मुद्दाहरुलाई प्रभावकारी रुपमा उठाएको स्पष्ट पारे। यद्यपि कोपको निर्णयको अन्तिम दस्तावेजमा हटाईएको शब्द ‘माउण्टेन वेस एक्शन’ लाई अर्को कोपमा पनि उठाईने स्पष्ट पारे। 

प्रकाशित: ९ पुस २०८१ १४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App