१० पुस २०८१ बुधबार
image/svg+xml
समाज

भेरी अस्पतालमा सिकलसेल बिरामीको छुट्टै वार्ड सञ्चालन

मिर्गौला प्रत्यारोपन गर्न सम्झौता

भेरी अस्पतालको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री प्रदिप पौडेल। तस्बिर: अर्जुन ओली/नागरिक

नेपालगन्जस्थित भेरी अस्पतालमा सिकलसेलका बिरामीको उपचारका लागि छुट्टै वार्ड सञ्चालन गरिएको छ। सिकलसेल एनिमिया रोग थारु समुदायमा जनस्वास्थ्य समस्याको रूपमा रहेको छ।  

उक्त रोगको सहज रूपमा उपचार गर्नका लागि अस्पतालले छुट्टै वार्ड सञ्चालनमा ल्याएको हो। उक्त वार्डको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार औपचारिक रूपमा उद्घाटन गरे। मन्त्री पौडेलले नवनिर्मित भवनमा स्थापना गरिएको अपरेशन थियटरको पनि शुभारम्भ गरेका छन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क रूपमा औषधि उपलब्ध गराउन आवश्यक पहल भइरहेको बताए। ‘बिरामीलाई निःशुल्क रूपमा औषधि उपलब्ध गराउन हामीले भारत सरकारसँग अनुरोध गरिसकेका छौं, भारतको स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको छ, हामी औषधि जसरी पनि उपलब्ध गराउँछौं,’ उनले भने।

निःशुल्क रूपमा औषधिको व्यवस्था भएमा सिकलसेल एनिमियाका बिरामीलाई ठूलो राहत मिल्ने उनको भनाइ छ। सरकारले सिकलसेल एनिमियाका बिरामीका लागि एक लाख रुपैयाँ बराबरको उपचार खर्च ब्यहोर्दै आएको छ। सिकलसेल एनिमिया रोग फैलिन नदिन बच्चा जन्मिने बित्तिकै स्क्रिनिङ गर्ने व्यवस्था मिलाउने तयारीमा मन्त्रालय रहेको पनि मन्त्री पौडेलले जानकारी दिए। अर्को प्रसंगमा स्वास्थ्य मन्त्री पौडेलले सरकारी अस्पतालमा औषधि पाइदैन भन्न नमिल्ने बताए। ‘फार्मेसीमा जति बढी औषधि राख्यो त्यति नै फाइदा हुन्छ, अन्यत्रका फार्मेसीसँग मिलेर औषधि छैन भन्न मिल्दैन,’ उनले भने, ‘फार्मेसीले पूर्ण क्षमतामा काम गर्नुपर्छ।’

देशभरका सरकारी अस्पतालमा जनशक्ति अभाव नै मुख्य समस्या देखिएको बताउँदै मन्त्रालयले तत्काल जनशक्ति थप्न सक्ने स्थिति नै नरहेको धारणा व्यक्त गरे। भेरी अस्पतालको पूर्वाधार हेर्दा ३ सय बेड क्षमतामा चलाउन सकिने भए पनि मन्त्रालयले जनशक्ति थप्न सक्ने अवस्था नरहेको बताए।

‘जनशक्ति व्यवस्थापन नेपाल सरकारले आधा खर्च ब्यहोर्ने र अस्पताल विकास समितिको आम्दानीबाट आधा ब्यहोर्ने गरी गर्न सकिन्छ, त्यसको लागि निर्देशिका बनाउँदैछौं,’ उनले भने। मन्त्री पौडेलले स्वास्थ्य बीमा व्यवस्थित हुन नसकेको स्वीकार गर्दै स्वास्थ्य बीमाले ठूलो राहत भने दिएको बताए।

अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहले सिकलसेल एनिमियाका बिरामीको उपचारका लागि छुट्टै वार्डको व्यवस्था गर्नमा मन्त्री पौडेलको अग्रसरतामा स्वास्थ्य मन्त्रालयले गरेको सहयोग अविष्मरणीय रहेको बताए। सो क्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदीले अस्पतालको कार्यप्रगति र चुनौतीबारे अवगत गराएका थिए।

सिकलसेल एनिमिया रोगको अनुसन्धानकर्ता एवं अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले सिकलसेल एनिमिया र थाइलेसिमिया रोगको अवस्था तथा उपचार व्यवस्था लगायत विषयमा आफ्नो अनुभूति सुनाए। सिकलसेल रोगबाट पीडित बारबर्दिया नगरपालिका, बर्दियाका दिपक थारुले भेरी अस्पतालमा छुट्टै वार्ड सञ्चालन हुँदा धेरै राहत मिलेको बताए।

‘पहिला बेड नपाएर भुईँमा बसेर पनि उपचार गराइएको हो, उपचारका लागि कति दुःख पायौं, अब त्यस्तो दुःख पाउने छैनौं,’ उनले भने, ‘सरकारले हामीलाई उपचार वापत एक लाख सहयोग गरेको छ, यतिले मात्र हामीलाई पुग्दैन, सरकारले मासिक ६ हजार रुपैयाँ बराबर भत्ता दिने व्यवस्था मिलाउनुपर्छ।’  

सिकलसेल सोसाईटीका अध्यक्ष प्रभुराम चौधरीले थारु समुदायमा सिकलसेल रोग देखा परेपछि ठूलो तरंग पैदा भएको स्मरण गराउँदै उपचार नपाएरै धेरैले ज्यान गुमाएको बताए। ‘अब पनि हिजोको पीडायुक्त अवस्थामा फर्किन नपरोस्, बिरामीले पाउने सेवा पाइरहुन्।’

भेरीमा मिर्गौला प्रत्यारोपन गर्न सम्झौता

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न सोमबार सम्झौता भएको छ। स्वास्थ्य मन्त्री पौडेलको उपस्थितिमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र भेरी अस्पतालबीच सम्झौता भएको हो। केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा. निराजन सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौतापछि केन्द्रका निर्देशक डा. श्रेष्ठले एक महिनाभित्रमा मिर्गौला प्रत्यारोपन सेवा भेरी अस्पतालबाट गर्ने गरी प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता जनाए। ‘हामी एक महिनाभित्रमा भेरीबाट सेवा सुरु गर्ने प्रयास गर्छौ,’ उनले भने। भेरी अस्पतालका मेसु डा. सुवेदीले मिर्गौला प्रत्यारोपन सेवा सुरु भएपछि यसक्षेत्रका मिर्गौला पीडितले ठूलो राहत पाउने बताए। भेरी अस्पतालले मिर्गौला पीडितका लागि निःशुल्क डाईलाइसिस सेवा सञ्चालन गर्दै आएको छ। स्वास्थ्य मन्त्री पौडेलले देशभर रहेका सबै संघीय अस्पतालमा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुसार भेरीमा पनि सञ्चालन गर्ने तयारी रहेको सुनाए।

प्रकाशित: ९ पुस २०८१ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App