८ पुस २०८१ सोमबार
image/svg+xml
समाज

बारसँग मेरो कुनै विमति छैनः प्रधानन्यायाधीश राउत

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल बार एशोसिएशनसँग आफ्नो कुनै विमति नरहेको स्पष्ट पारेका छन्।

आइताबार बार दिवसको अवसरमा भक्तपुर जिल्ला अदालत बार एशोसिएशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल बारसँग आफ्नो परिषद्को हैसियतमा पनि कुनै विमति नरहेको बताएका हुन्। उनले प्रधानन्यायाधीशलाई संविधानले नै निश्चित कामहरू तोकिदिएको उल्लेख गर्दै आफ्नो लागि निश्चित कर्तव्यहरू कानूनले तोकिदिएको जिकिर गरे।  

उनले भने, 'बारसँग मेरो कुनै विमति छैन। परिषद्को हैसियतमा पनि मेरो तपाईंहरुसँग विमति छैन। मलाई निश्चित कामहरू संविधानले तोकिदिएको छ। मेरा निश्चित कर्तव्यहरू कानूनले तोकिदिएको छ। मैले त्यहाँनेर बार हेर्नु पर्दैन। खाली बारको कुरा के हो? प्रश्न के हो? जिज्ञासा के हो? मैले वैधानिकताबाट सम्बोधन गर्नसक्ने ठाउँ कति रहेको छ? त्यतिसम्ममा मैले के गर्ने हो? मैले नेतृत्व तहबाट विचार गर्ने हो।'

प्रधानन्यायाधीश राउतले बारका लागि आफूले वैधानिक तवरबाट कति सम्बोधन गर्नसकिन्छ भन्ने मात्रै प्रश्न रहेको बताए। बारको अतीत गौरवपूर्ण रहेको उल्लेख गर्दै वर्तमान कस्तो छ र वर्तमान परिवेशमा बारको भूमिका, गतिविधि, क्रियाकलाप र कामकारबाही आउने पुस्ताका लागि गौरवपूर्ण हुनसक्छ कि सक्दैन भन्ने प्रश्न रहेको बताए। यसबारे बार आफैँले वृहंगम छलफल गर्नुपर्ने उनको भनाइ छ।

प्रधानन्यायाधीश राउतले कानून व्यवसायीहरूको पेसालाई मर्यादित र समृद्ध बनाउन आवश्यक रहेको पनि उल्लेख गरे। कानून व्यवसायीहरूले निष्ठालाई कायम राखेर मात्रै निष्पक्ष न्याय दिनसक्ने भनाइ उनको छ। पेसा मर्यादित नभएसम्म कानून व्यवसायीहरू सफल हुन नसक्ने बताउँदै उनले न्यायाधीश डराए जनता डराउने र न्यायाधीशले जोखिम लिए नागरिक निश्चिन्त हुने उल्लेख गरे।

प्रकाशित: ८ पुस २०८१ १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App