१ चैत्र २०८१ शुक्रबार
image/svg+xml १७:४५ अपराह्न
समाज

बसाइँसराइले रित्तियो जाङ गाउँ, विद्यार्थी नहुँदा विद्यालय बन्द

फाइल तस्विर

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ स्थित हिमालपारी भनेर परिचित लिमीको जाङ गाउँ बसाइँसराइले रित्तिएको छ। एक वर्षअघि चार घरधुरी रहेको जाङ गाउँ यो वर्ष खाली भएको हो। 

यस गाउँका स्थानीय भौतिक सुविधाको खोजीमा काठमाडौँ, सुर्खेत, नेपालगञ्जलगायतका सहरमा बसाइँसराइ गरेपछि गाउँ रित्तिएको हो। यो वर्ष जाङ गाउँमा कोही नभएको तील गाउँका वडा सदस्य तुन्डुप लामाले जानकारी दिए। 

कोरोनामा बन्द रहेको चीनसँगको हिल्सा नाका खुलेपछि कोही रोजगारीका लागि चीनको ताक्लाकोट पुगेका छन्।  बढी जसो जाङ गाउँका स्थानीय सिमकोटसहित जिल्ला बाहिर सुविधा सम्पन्न सहरमा बसाइँसराइ गरेर गएको वडा सदस्य लामा बताउँछन्। 

दुई वर्षयता गाउँपालिकाले यहाँका बिरामीको उपचारका लागि बाह्रै महिना लिमी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी खटाएको थियो। हल्जी र तील गाउँका लागि स्वास्थ्य सेवा बाह्रै महिना उपलब्ध गराएको लिमी स्वास्थ्य चौकीका अहेब लोग बोहराको भनाई छ। जाङ गाउँको भृकुटी आधारभूत विद्यालय विद्यार्थी नभएका कारण बन्द भइसकेको छ। 

बसाइँसराइ गरी गाउँ छाड्ने जाङ गाउँमा मात्रै नभएर तील र हल्जीमा पनि बढेको हल्जी गाउँका स्थानीय छिरिङ तुण्डुप लामाले जानकारी दिए। यो वर्ष तील गाउँमा १५ घरधुरीको मात्रै बसोबास छ। हिउँदमा कोही चिसो छल्न जिल्ला बाहिर गएर वर्षायाममा घर फर्किने गर्छन्। तर विस्तारै हिउँदमा गाउँ छाडेर जानेहरु बर्सात लागेपछि पनि फर्किन छाडेका छन्।। 

यातायात, विद्युत् जस्ता भौतिक सुविधा र गुणस्तरीय स्वास्थ्य , शिक्षालगायतका पहुँचको खोजी गर्दै लिमीका केही गाउँ विस्तारै रित्तिन थालेका हुन्। रासस

प्रकाशित: १ पुस २०८१ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App