२२ पुस २०८१ सोमबार
image/svg+xml
समाज

डा.ओम फाउन्डेसनद्वारा ३५० विपन्न परिवारलाई ब्लाङ्केट वितरण

डा. ओम  फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिकामा विपन्न समुदायका ३५० घर परिवारलाई कम्बल वितरण गरेको छ । जाडो बढ्दै गएकाले त्यस क्षेत्रमा बसोबास गर्दै आएका मुसहर, चमार र दुसाद समुदायका साथै अन्य विपन्न परिवारलाई चिसोबाट जोगाउन ब्लाङ्केट वितरण गरिएको हो ।

शुक्रबार एक कार्यक्रमका बीच फाउन्डेसनका तर्फबाट अभय सिंह र अजित सिंहले ब्लाङ्केट वितरण गरेका हुन् । आवश्यकताअनुसार थप ब्लाङ्केट वितरण गरिने फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका संस्थापक डा.ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट संकलित रकमबाट ब्लाङ्केट खरिद गरिएको हो ।  डा.ओममूर्तिले भने, ‘मैले बुबासँगको सम्बन्धलाई आधार बनाएर जीवन्त सम्बन्ध नामक पुस्तक लेखेको थिएँ । पुस्तकको बिक्रीबाट आर्जित सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गर्ने क्रममा ब्लाङ्केट वितरण गरिएको हो ।’

जाडोमा कठ्याङ्ग्रिएर बसेको परिवारलाई केही न्यानो प्रदान गर्न सकिन्छ की भन्ने उद्देश्यका साथ गरिएको यो हाम्रो सानो पहल मात्रै भएको भन्दै  यसमा सम्पूर्ण लगानी ‘जीवन्त सम्बन्ध’ पुस्तकका पाठकहरूको रहेकाले त्यसको सबै श्रेय पाठकलाई नै जाने लेखक तथा चिकित्सक डा.ओममूर्तिको भनाइ छ । उनले भने, ‘सामाजिक कर्म गर्न फाउन्डेसन र म माध्यम मात्रै  हौं । यसबाट प्राप्त हुने पून्यको फल सबै पाठकलाई जान्छ ।’

पुस्तकको बिक्रीबाट प्राप्त हुने रकम फाउन्डेसनमार्फत् स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणका क्षेत्रमा खर्च गरिने फाउन्डेसनको योजना  रहेको छ । फाउन्डेसनले गत कार्तिकमा डा.ओममूर्तिको जन्मस्थल धमौरामा नै पाँच दिनसम्म निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरी ६ सय जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो ।

निःशुल्क मुटु शिविर सञ्चालन गर्नुका साथै स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनात्मक कार्य गर्दै आएको फाउन्डेसनले छिट्टै देशभरीबाट प्रतिनिधित्व हुने गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तयारी अन्तिम चरणमा रहेको फाउन्डेसनले जनाएको छ  ।

प्रकाशित: २८ मंसिर २०८१ १६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App