२१ पुस २०८२ सोमबार
image/svg+xml
समाज

हायसको ठक्करबाट मर्निङ वाकमा निस्किएका एक जनाको मृत्यु

शनिबार बिहान सदरमुकाम गाईघाटमा भएको सवारी दुर्घटनामा ‘मर्निङ वाक’ गरिरहेका एक पैदल यात्रीको निधन भएको छ। त्रियुगा नगरपालिका ११ चप्पनका ५६ वर्षीय परणशेर राईको बिहान ५:०० बजे बा.प्र. ०१–००६ ख ५८७१ नं. को हायसले ठक्कर दिँदा निधन भएको हो। 

चप्पनस्थित घरदेखि सडकै सडक गाईघाटतर्फ आउँदै गरेका राईलाई गाईघाट–दिक्तेल सडकखण्ड त्रियुगा नगरपालिका १० बोक्सेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय अगाडि हायसले ठक्कर दिएर गम्भीर घाईते बनाएको थियो। प्रत्यक्षदर्शीका अनुसार ठक्करबाट घट्नास्थलमै ढलेका राईलाई तत्काल जिल्ला अस्पताल लगिएकोमा ६:२५ बजे चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।  

गाईघाट–काठमाडौँका लागि छुटेको हायस राईलाई ठक्कर दिएर नरोकी भागेकोमा प्रहरीले पिछा गर्दै एक घण्टापछि नियन्त्रणमा लिएको छ। गाईघाट–कटारी मदन भण्डारी लोकमार्ग भएर जाने हायस दुर्घटनापछि रुट बद्लेर गाईघाट–लाहान हुँदै जाने क्रममा ७ किलोमिटर पश्चिम त्रियुगा नगरपालिका ६ को जलजलेस्थित ढाटबाट नियन्त्रणमा लिइएको छ।  

चालक महोत्तरीको बर्दीबास नगरपालिका ३ का ४४ वर्षीय रुद्रबहादुर पौडेल र हायसलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको जिल्ला प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि उदयपुर अस्पतालमै राखिएको छ।

प्रकाशित: २२ मंसिर २०८१ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App