नेपाल अल्पविकसित राष्ट्रहरूको समूह (एलडिसी)को तर्फबाट जलवायु अनुकूलन कोषको सदस्यको रुपमा पुनः मनोनयन भएको छ। अजरबैजानको बाकुमा जारी जलवायु सम्मेलनको क्रममा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासम्धीको व्यवस्थाअनुसार अनुकूलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा मनोनीत भएका हुन।
बोर्ड सदस्यको लागि शर्मालाई नेपाल सरकारले प्रस्ताव गरेको थियो। एलडिसी समूहले शर्मालाई सन् २०२५/२०२६ का लागि बोर्ड सदस्यको रुपमा मनोनयन गरेको हो। यो मनोनयनपछि नेपाललाई अनुकूलन कोषमा पहुँच बिस्तारका लागि सहज हुने र कार्यक्रम स्वीकृत गरी बजेट ल्याउन सहजीकरण हुने मनोनीत सदस्य शर्माले बताए।
शर्माले यसअघि पनि सन् २०२२ देखि २०२४ सम्मका लागि बोर्ड सदस्यको रुपमा काम गरिसकेका छन्।अझै पनि जलवायु अनुकूलन कोषको वैकल्पिक सदस्य, आर्टिकल ६ दशमलव ४ को वैकल्पिक सदस्य,स्थानीय समुदाय तथा आदिवासीसँग सम्बन्धित समूहको वैकल्पिक सदस्य, हरित जलवायु कोष सदस्य,प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि समितिको सदस्य पद रिक्त छ ।नेपालले यी पदमा क्षमता वान व्यक्तिलाई सदस्य बनाउने गरी पहल गर्न आवश्यक छ।
प्रकाशित: ७ मंसिर २०८१ १९:३९ शुक्रबार