१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

सरकारका बारेमा कुनै पनि भ्रम नपाल्न संयोजक शाहको आग्रह

'यो सरकार जेनजी आन्दोलन कै जगमा बनेको हो'

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेनजी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

संविधान संशोधनका विषयमा सुझाव सङ्कलनका लागि कार्यदलले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूलाई छलफलका लागि बोलाएको थियो। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएपछि उनीहरूले विगतको सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका थिए। उनीहरूले आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन संयोजक शाहसँग आग्रहसमेत गरेका थिए।

संयोजक शाहले वर्तमान सरकार जेनजी आन्दोलन कै जगमा बनेको र यसले जेनजीको हकहितका लागि निरन्तर काम गरिरहेको बताए। उनले सरकारका बारेमा कुनै पनि भ्रम नपाल्न आग्रह गर्दै भने, 'यो सरकार जेनजी आन्दोलन कै जगमा बनेको हो। तपाईँहरूको भावना र बलिदानलाई हामीले बिर्सेका छैनौँ। त्यसैले यो सरकार तपाईँहरूकै सरकार हो।'

सरकारले सुशासन र भ्रष्टाचारको मामिलामा’ शून्य सहनशीलताको नीति अपनाएको छ। संयोजक शाहले सरकार र जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारबीच संवादमा केही दूरी बढेको महसुस भएको स्वीकार गरे। अबका दिनमा आफ्ना मागका लागि उनीहरूले थप दौडधुप गरिरहनु नपर्ने आश्वस्त पार्दै उनले भने, 'तपाईँहरूका माग पूरा गर्न हामी आफैँ लाग्नेछौँ।'

कार्यदलका सदस्य सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लिलाधर सुवेदीले पनि शाहको प्रतिबद्धतामा ऐक्यबद्धता जनाउँदै यो सरकार जेनजीको माग पूरा गर्न पहल गर्ने बताए। शाह र सुवेदीको तर्फबाट स्पष्ट प्रतिबद्धता आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका घाइते तथा सहिद परिवारका सदस्यले सन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले यो छलफलबाट माग कार्यान्वयनका लागि सरकारसँग संवादको बाटो खुलेको बताए।  

साथै, आगामी दिनमा आफ्ना मागका लागि आवाज उठाउँदा राज्यका तर्फबाट कुनै पनि अवरोध नहोस् भन्ने चाहना उनीहरूले राखेका थिए। छलफलको अन्त्यमा संयोजक शाहले संविधान संशोधनका लागि बहसपत्र तयार भइरहेको जानकारी दिँदै यस ऐतिहासिक प्रक्रियामा सहभागी हुन आज छलफलमा सहभागी भएका तथा अन्य सबै जेनजीहरूलाई आह्वान गरे। उनले जेनजी पुस्ताका भावना, अधिकार र आवश्यकतालाई समेट्नका लागि आफ्ना सुझाव लिखित रूपमा कार्यदललाई बुझाउन उनीहरू सबैलाई आग्रह गरे।

प्रकाशित: २ जेष्ठ २०८३ ०७:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App