१७ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

नेदरल्यान्ड्सका कप्तान एडवाड्र्सले दिए राजीनामा, अब लिडेले सम्हाल्नेछन् जिम्मेवारी

नेदरल्यान्ड्स क्रिकेट टोलीका कप्तान स्कट एडवाड्र्सले कप्तानी पदबाट राजीनामा दिएका छन्।

उनले ५६ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा टोलीको नेतृत्व गरेपछि कप्तानीबाट अलग हुने निर्णय गरेका हुन्। एडवाड्र्सले सन् २०२२ को जुनदेखि नेदरल्यान्ड्सको कप्तानी सम्हाल्दै आएका थिए। शुक्रबार क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबिया संगको खेलपछि उनले कप्तानी छाड्ने घोषणा गरेका हुन्।

अब बाँकी विश्वकप लिग–२ खेलमा नेदरल्यान्ड्सको कप्तानी बास डे लिडेले गर्नेछन्। नेदरल्यान्ड्स क्रिकेट संघ (केएनसीबी)ले सार्वजनिक गरेको भिडियोमा आफ्ना टिमका खेलाडीहरूलाई सम्बोधन गर्दै एडवाड्र्सले कप्तानी छाड्ने निर्णय सुनाएका हुन्।

उनले कप्तानीबाट अलग भए पनि खेलाडीका रूपमा टोलीका लागि अझ धेरै योगदान गर्न चाहेको समेत बताएका छन्।

कप्तानका रूपमा एडवाड्र्सले नेदरल्यान्ड्सलाई अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण यात्रामा अघि बढाएका थिए। अब उनको स्थानमा बास डे लिडेले टोलीको नेतृत्व सम्हाल्दै विश्वकप लिग–२ का बाँकी खेलमा नेदरल्यान्ड्सलाई अगाडि बढाउने छन्।  

यो संगै नेदरल्यान्ड्स महिला तथा पुरुष क्रिकेटमा एउटा गज्जबको संयोग मिलेको छ। महिला टोलीको कप्तानी दिदी बेबेटी डे लिडले तथा पुरुष टोली कप्तानी भाइ बास डे लिडेले गर्नेछन्। यो विश्व क्रिकेटको इतिहासमा एउटै परिवारका दिदी–भाइ कप्तान भएको पहिलो पटक हो।

प्रकाशित: १६ श्रावण २०८३ १४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App