कोसी प्रदेशका किसान सरकार मातहतकै दुग्ध विकास संस्थान (डिडिसी) बाट दूधको भुक्तानी नपाएपछि सरकार गुहार्न बाध्य भएका छन्।
६ महिनादेखिको करिब १९ करोड रुपैयाँ नपाउँदा कतिपय किसानको हात–मुख जोर्ने मेलो हराएपछि उनीहरूले आन्दोलनको चेतावनीसमेत दिएका छन्।
प्रदेशभरका किसानले बुधबार इलामलगायत कोसीका १४ वटै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाए। राष्ट्रिय कृषक समूह महासंघको नेतृत्वमा प्रशासन कार्यालय पुगेका किसानले अब पनि दूधको भुक्तानी नदिए आन्दोलन सुरु गर्ने बताए।
डिडिसीले भुक्तानी नदिँदा कोसीका १४ हजार छ सयभन्दा बढी परिवार किसान प्रत्यक्ष प्रभावित भएको महासंघले जनाएको छ।
सरकारले गत असार मसान्तसम्मको दूधको भुक्तानी गर्न डिडिसीलाई निर्देशन दिइसकेको छ। तर, डिडिसीले अटेर गरेपछि किसान आक्रोशित हुन थालेका हुन्। किसानहरुका अनुसार डिडिसीले गत वैशाख १५ देखिकै दूधको भुक्तानी दिन बाँकी रहेको छ।
महासंघ प्रदेश संयोजक कुसुम दाहालले वैशाखदेखि गत असारसम्मको भुक्तानी सात दिनभित्र दिनुपर्ने बताइन्। ‘डिडिसीले किसानको अहिलेसम्मकै भुक्तानी दिनुपर्छ,’ उनले भनिन्, ‘एकै पटक नसक्ने भए कम्तीमा असारसम्मको दिनुपर्छ, नत्र हामी आन्दोलन गर्छौं।’
उनले दिनहुँ दूध बेचेको पैसाले नुन–चामल किनेर खाने किसान छ महिनासम्म भुक्तानी नपाउँदा बिचल्लीमा परेको बताइन्। ‘कृषिप्रधान भनिने देशमा दूधको भुक्तानी नपाएकै कारण कतिपय किसान दुग्ध व्यवसाय नै छाडेर विस्थापित भइसकेका छन्,’ उनले भनिन्, ‘एउटा किसानले दूधको पैसा नपाउँदा उसको छाक टार्ने बाटो हराउँछ, लाला बाला पढाउने, लुगाफाटो लाउने, चाडबाड मनाउने बाटो सकिन्छ भन्ने डिडिसीले बुझेन।’
डिडिसीले भुक्तानी नदिएपछि कतिपय किसानले निजी प्रशोधन केन्द्रतिर दूध बेचिरहेका छन्।
महासंघका इलाम जिल्ला संयोजक राम मगरले डिडिसीले पैसा नदिने भएपछि किसानले निजी क्षेत्रमा दूध बेचिरहेको र डिडिसीका इलामस्थित तीन चिस्यान केन्द्र नै बन्द भएको बताए। उनले सरकार मातहतकै डिडिसीको यो हालत भएपछि किसान झन् पीडित भएको गुनासो गरे।
कोसी प्रदेशका जिल्लाबाट डिडिसीको विराटनगर केन्द्रमा वार्षिक पाँच लाख ७५ हजार पाँच सय चार मेट्रिक टन दूध संकलन हुने गरेको तथ्याङ्क छ।
दिनहुँ इलामबाट आठ हजार, झापाबाट पाँच हजार, धनकुटाबाट छ हजार, तेह्रथुमबाट दुई हजार, आसपासका किसानबाट एक हजार तथा अन्य आयोजना डेरी, निजी फार्मबाट १५ हजार लिटर दूध लिने गरेको डिडिसीले जनाएको छ।
प्रकाशित: २८ कार्तिक २०८१ १७:४१ बुधबार