३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्मला पन्तको हत्यारा को हो ? आजसम्म पत्ता लागेनः स्वास्थ्यमन्त्री

.

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्मला पन्तको हत्याका अपराधी अझै पत्ता नलागेकोमा दुःख व्यक्त गर्दै सरकारको असफलताप्रति असन्तोष प्रकट गरेका छन्।

काठमाडौंमा बिहीबार आयोजित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) को प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको दोषी अझै पक्राउ नपर्नु दुखद पक्ष रहेको बताए।

प्रविधिको विकाससँगै घरेलु तथा महिला हिंसाका घटना सतहमा आए तापनि त्यसलाई प्रभावकारी ढंगले सम्बोधन गर्न नसकिएको भन्दै उनले गुनासो प्रकट गरे।

मन्त्री पौडेलले इमर्जेन्सी सेवा सबैलाई निःशुल्क हुनु आवश्यक रहेको बताउँदै अहिले अस्पतालमा बिरामीलाई भर्ना गर्न समेत टिकट काट्नुपर्ने बाध्यता रहेको कुरामा असन्तुष्टि जनाए।

उनले प्रश्न गर्दै भने, ‘के हामीले पैसा भएकालाई मात्रै उपचार गर्न चाहन्छौं, कि साँच्चै आवश्यक परेका बिरामीको उपचार गर्नुपर्छ ?’ उनले थपे, ‘हामीले सैद्धान्तिक पाटोमा काम गरेका छौं, तर व्यवहारिक कार्यान्वयनमा पछि परिरहेका छौं। सबै नीति बनिसकेका छन् तर प्रभावकारिता महसुस गराउन हामी चुकिरहेका छौं।’

उनले निर्मला पन्तको हत्यारालाई कानुनी कठघरामा ल्याउन नसकिएकोमा निराशा जनाउँदै महिलामाथि बढ्दो हिंसात्मक घटनाप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। साथै, उनले एसिड पीडितहरुको उपचारमा देखिएको समस्या र दाइजो नपाउँदा हुने घटनाका बारेमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे। उनले इमर्जेन्सी सेवामा बिना भेदभाव सबैलाई सेवा दिने संस्कृति स्थापना गर्नुपर्नेमा जोड दिए।

मन्त्री पौडेलले सरकारी निकायहरुले व्यवस्थित ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै, समावेशी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि समर्पित भएर लाग्नुपर्ने बताए।

प्रकाशित: २९ कार्तिक २०८१ १४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App