नेपालका तेक्वान्दो प्रशिक्षक जगन अधिकारी अमेरिकामा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर्स कोर्षमा प्रशिक्षण लिने भएका छन्।
तेक्वान्दोको अन्तर्राष्ट्रिय महासंघका विश्व तेक्वान्दो (डब्लुटी) को आयोजनामा आगामी डिसेम्बर १८ देखि २१ सम्म अमेरिकाको सिकागो सहरमा तेक्वान्दो मास्टर्स कोर्स हुँदै छ। उक्त कोर्समा नेपालका तेक्वान्दो प्रशिक्षक अधिकारीले सहभागिता जनाउने भएका हुन्।
संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपालका राजदूत तेजबहादुर क्षत्रीले तेक्वान्दो प्रशिक्षक अधिकारीलाई बिदाइ गरे। आबुधाबीस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रमबीच राजदूत क्षत्री लगायतले युएईबाट सहभागी हुन जाने नेपाली तेक्वान्दो प्रशिक्षकलाई बिदाइ गरेका हुन्।
प्रशिक्षक अधिकारी मास्टर्स कोर्षमा सहभागी हुन शुक्रबार त्यसतर्फ जानेछन्। यसअघि गत जुलाईमा दक्षिण कोरियामा सम्पन्न विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा पनि युएईमा रहेका तेक्वान्दो खेलाडी अधिकारीकै नेतृत्वमा सहभागिता जनाएका थिए।
दुबई डिपार्टमेन्ट अफ इकोनोमी एन्ड टुरिजमले आयोजना गरेको दुबई फिटनेस च्यालेन्जमा समेत अधिकारीले प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए। दुबईका राजकुमार शेख हमदान बिन मोहम्मद बिन रसिद अल मकतूमको पहलमा दुबई डिपार्टमेन्ट अफ इकोनोमी एन्ड टुरिजम स्थापना भएको हो।
अधिकारीले कराते र बक्सिङ प्रशिक्षणका लागि नेपाली खेलाडीलाई अवसर प्रदान गर्दै आएका छन्। अधिकारीले गत फेब्रुअरीमा डब्लुटी तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटीको संयोजनमा अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडामा सम्पन्न विश्व वरीयता जी टु, युएस ओपन तेक्वान्दोमा पनि नेपालतर्फ प्रतिनिधित्व गरिसकेका छन्।
गत एक दशकदेखि युएईमा रहेका अधिकारी युएईमा राष्ट्रिय रेफ्री तथा प्रशिक्षकका रूपमा कार्यरत छन्।
प्रकाशित: २९ कार्तिक २०८१ १४:५२ बिहीबार