९ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रथम दीक्षान्त समारोहमा मात्र ३० विद्यार्थी उपस्थित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रथम दीक्षान्त समारोहमा ३० जना विद्यार्थी मात्र उपस्थित भएका छन्।

कुल ५८ जना विद्यार्थी दीक्षित हुन योग्य रहे पनि अधिकांश विद्यार्थी लोकसेवा आयोगको तयारीमा रहेको र केही अन्य व्यक्तिगत व्यस्तताका कारण समारोहमा सहभागी हुन नसकेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले बताए।

दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले ३० जना विद्यार्थीलाई दीक्षित गरे। प्रतिष्ठानले एमडीएमएसका ५ जना, डिएमएसका ७ जना, र बीपीएचका १८ जना विद्यार्थीलाई दीक्षान्त प्रदान गरेको हो।

यसअघि बीपीएचमा ३८ जना, एमबीबीएसमा १३ जना, र स्नातकोत्तरतर्फ एमडीजीपी, एमडी एनएस्थेसिया, र एमडी पेडियाट्रिक्स गरी ५८ जना विद्यार्थी दीक्षित हुने भनिएको थियो।

समारोहमा पाँच उत्कृष्ट विद्यार्थीलाई कुलपति स्वर्णपदकले सम्मान गरिएको छ। जसमा बीएमएसकी रेणुकुमारी सिंह, सिर्जना न्यौपाने, बीपीएचका दीपेन्द्र जोशी, सुशील शाही र एमडीएमएसका बेदकुमार चौधरी रहेका छन्।

प्रधानमन्त्री ओलीले समारोहमा सम्बोधन गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी बनाउँदै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिन सरकार कटिबद्ध रहेको बताए।

‘कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेका छन्, र यो खुसीको कुरा हो,’ उनले भने। साथै, राकम कर्णालीमा सय शय्याको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै प्रधानमन्त्रीले प्रतिष्ठानमा थप सेवासुविधा वृद्धि गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

प्रधानमन्त्रीले दीक्षित विद्यार्थीलाई देशको स्वास्थ्य सेवामा योगदान गर्न आग्रह गर्दै भने, ‘तपाईंहरूको मेहनत र लगावले आजको सफलता सम्भव भएको हो। अब यो सफलतालाई जनताको गुणस्तरीय स्वास्थ्य सेवामा बदल्नुहोस्।’

कर्णाली र सुदूरपश्चिमका १३ जिल्लाका जनताले स्वास्थ्य सेवा पाउनु सपना जस्तै थियो, जसलाई साकार पार्नु हामी सबैको जिम्मेवारी भएको उनले स्मरण गराए।

दीक्षान्त समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष अञ्जनीकुमार झा, तथा अमेरिकाको हार्वर्ड मेडिकल कलेजका निर्देशक क्रिस्टिन मसेंगरलगायत उपस्थित थिए। प्रधानमन्त्री ओलीले समारोहपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गरे।

प्रकाशित: २८ कार्तिक २०८१ १६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App