७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

बाँके राष्ट्रिय निकुञ्जमा सफारी खुला

बाँके राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी गर्दै स्वदेशी पर्यटक । फाइल तस्बिर: नागरिक

स्वदेशी तथा विदेशी पर्यटकका लागि बाँके राष्ट्रिय निकुञ्जले यस वर्ष पनि जंगल सफारी खुला राखेको छ। तिहार सकिएपछि निकुञ्जभित्र रहेको वनपथवरिपरिका झाडी सफा गरेर पर्यटकलाई औपचारिक रूपमा प्रवेश गराउने योजना रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए। ‘निकुञ्जभित्र सफारी त खुला नै छ, पर्यटकलाई जंगलभित्र प्रवेश गराउनुअघि वनपथवरिपरिका झाडी सफा गर्ने योजना छ’, उनले नागरिकसँग भने।

घुम्न आउने पर्यटकका लागि निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट टिकट काट्ने व्यवस्था मिलाइने छ। प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित आहारा प्रजातिका वन्यजन्तु अवलोकन गर्न सक्नेछन्। निकुञ्जभित्र अन्य वन्यजन्तुको संख्या पनि ह्वात्तै बढेको कर्मचारी बताउँछन् ।

निकुञ्जभित्र वन्यजन्तु अवलोकन गर्नका लागि ठाउँठाउँमा मचान, घाँसे मैदान, कृत्रिम पोखरी, वनपथ जस्ता पूर्वाधार निर्माण गरिएका छन्। पर्यटनलाई केन्द्रविन्दुमा राखेर काम भइरहेको कार्यालयले जनाएको छ। ‘निकुञ्जमा पर्यटक घुम्न आउनुभयो भने हामीले कुनै पनि कुराको कमी हुन दिने छैनौं’, कँडेलले थपे।

गर्मीयाममा निकुञ्जभित्र वन्यजन्तुलाई पिउने पानी अभाव हुन नदिन निकुञ्जले कृत्रिम पोखरीहरू निर्माण गरेको छ। स्थापनाको १३ वर्षसम्म निकुञ्ज क्षेत्रमा संरक्षणसँगै पूर्वाधार निर्माणका कार्य भएको र गत वर्षदेखि पर्यटन प्रवद्र्धन कार्यलाई केन्द्रमा राखिएको कार्यालयले जनाएको छ।

दुर्लभ वन्यजन्तु पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो। यसको क्षेत्रफल ५ सय ५० वर्ग किलोमिटर रहेको छ। सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना गरेको थियो।

बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमि क्षेत्र समेटेर नेपालको दशौं राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो। निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेका छन्। निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानका रूपमा रहेको छ।

जैविक विविधताका दृष्टिले आठवटा इकोसिस्टम, एक सय २४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा ६ प्रकारका उभयचर पाइन्छन्। पछिल्लो समयमा पाटेबाघको संख्या २५ भन्दा बढी रहेको बताइन्छ।

यस्तै ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ चरा रेकर्ड गरिएका छन्। बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किमि भूमिलाई निकुञ्जको मध्यवर्ती क्षेत्रका रूपमा छुट्ट्याइएको छ।

प्रकाशित: २३ कार्तिक २०८१ ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App