१८ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यार्थीद्वारा तिहार लक्षित फूल उत्पादन

यहाँको चन्द्रकोट गाउँपालिका–८ स्थित तुराङ बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरूले तिहारका लागि फूल उत्पादन गरेका छन्।

उक्त शिक्षालयमा तीनवर्षे डिप्लोमा कृषि बाली विषय अध्ययनरत विद्यार्थीहरूले सयपत्री र मखमली फूलको बगैँचा तयार गरेका हुन्। उक्त बगैँचाले मजुवा बजारकै शोभा बढाएको छ। सिटिइभिटीसँगको सम्बन्धनमा विसं २०७८ मा स्थापित उक्त शिक्षालयले विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले १० रोपनी जग्गा भाडामा लिएर कृषि अभ्यास गराउँदै आएको छ। कृषिलाई उद्यमशीलतासँग जोड्ने र स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले विद्यार्थीमार्फत विभिन्न अभ्यास गर्दै आएको शिक्षालय प्रमुख प्रदीपराज पाण्डेले बताए।

उत्पादन मात्रै नभएर बजारसँग जोड्न चाडपर्व लक्षित मखमली र सयपत्री फूल रोपिएको उनले बताए। तीन रोपनीमा फूल र सात रोपनीमा तरकारी लगाइएको छ। बगैँचामा उत्पादित फूलको माग धेरै छ। स्थानीय बजारसँगै बुटवल, नवलपरासी र चितवनमा समेत फूल बिक्रीका लागि पठाएको शिक्षालयमा कार्यरत कृषि प्राविधिक रोशनी बन्जाडेले बताए।

हाल एक क्विन्टल बढी फूलको माग भइसकेको र शिक्षालयको आफ्नै सवारी साधन नभएकाले टाढाटाढा पु¥याउन नसकिएको बन्जाडेले बताए। हाल प्रतिमाला  तीन सय रूपैयाँका दरले बिक्री भइरहेको छ। शिक्षालयले उत्पादन गरेको तरकारी विद्यार्थी, प्रशिक्षक र कर्मचारीलाई बजारको मूल्यभन्दा ५० प्रतिशत कममा उपलब्ध गराउने गरिएको छ। बजार मूल्यभन्दा २० प्रतिशत कममा तरकारी बजारमा पनि बिक्री गर्ने गरिएको शिक्षालयले जनाएको छ।

शिक्षालयको फार्ममा हाल काउली, बन्दागोभी, ब्रोकाउली, भाण्टा, सिमी, डल्ले खुर्सानी, काँक्रो र टमाटर फलेको छ। शिक्षालयले बीउबिजन र अन्य कृषि यन्त्र व्यवस्थापन गर्ने र प्रशिक्षकले सहजीकरण गरी विद्यार्थीहरुले श्रम गर्ने गरेका छन्। सिटिइभिटीको ‘सिक, कमाउ र तिर’ भन्ने अवधारणालाई आत्मसात् गर्दै शिक्षालयले उक्त अभ्यास गरेको हो।

शिक्षालयको भौतिक पूर्वाधार व्यवस्थापनका लागि स्थानीय व्यक्तिहरूले ४४ रोपनी जग्गा निःशुल्क रूपमा उपलब्ध गराएका छन्। हाल शिक्षालयमा गुल्मीसहित सुर्खेत, हुम्ला, जुम्ला, बाजुरा, मुगु, लमजुङ, बाग्लुङ, नवलपरासी र प्यूठान लगायतका विद्यार्थीहरूले पठनपाठन गरिरहेका छन्। सुरुमा बाली विज्ञान सञ्चालित शिक्षालयमा गत वर्षदेखि पशुविज्ञान पनि पढाउन थालिएको छ।

 -रासस

प्रकाशित: १५ कार्तिक २०८१ १७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App