यो पनि पढ्नुहोस
भाइ कुरिरहेका ‘मखमली’हरूउनको भाइ बेपत्ता भएको झन्डै दशक पुगेको छ। २०७२ वैशाख १२ को भूकम्पमा बेपत्ता भएका भक्तपुर सूर्यविनायक–४ का सविन खड्काको काजकिरिया गरेको पनि तीन वर्ष बितिसक्यो तर ७२ वर्षीया फुपू दिदी बाटुली थापाले तिहारमा भाइ आउने आसमा मखमली फूल रोप्न छाडेकी छैनन्।‘मखमली फक्रिएपछि भाइको सम्झना झन् धेरै आउँदो रहेछ’, आँगनको डिलमा फुलेको फूललाई मुसार्दै उनले भनिन्, ‘यो फक्रँदा भाइ हाँसेजस्तो लाग्छ ।’
नेपाली सेनामा कार्यरत सविन लाङटाङ राष्ट्रिय निकुन्जमा खटिएका थिए। वैशाख १२ को भूकम्पसँगै झरेको हिमपहिरोमा परी उनीसहित १० सैनिक बेपत्ता भए। त्यसयता बाटुली भाइको खोजीमा जीवन बित्दै गएको बताउँछिन्। उनी भाइ आउने बाटो कुरिरहेकी छिन्।
उनी भाइको खोजीमा रसुवाका पहाडसमेत पुगिन्, नेपाली सेनाको मुख्यालय पुगेर चाँडो खोजिदिन झगडा नै गरिन्, कैयौँ रात भोकै पनि बसिन्। उनले सुरुका केही वर्ष भाइको सकुशल फिर्तीका लागि घरमन्दिरमा अखण्ड दियो पनि बालिन्। दियो निभ्ला भनेर कैयौं रात अनिँदै बसिन्। ‘अनन्तलिंगेश्वर मन्दिर र घरमा दुवैतिर दियो बालेर बसें’, उनले थपिन्, ‘भाइ नफर्केपछि मन्दिर जान पनि छाडें ।’ सरकार र सेनासँग भाइ खोजिदिन हारगुहार गरे पनि पत्ता नलागेपछि भगवान्को शरणमा परेकी उनलाई भाइ नफर्कंदा भगवान्सँग पनि झोक चलेको छ।
परिवारका एक्लो सन्तान सविन आफूसँग टीका लगाएपछि मात्र अन्य दिदीबहिनीसँग टीका थाप्न जाने गरेको उनले सुनाइन्। सविनले सानैदेखि आफूलाई पछ्याउने गरेका कारण उसैप्रति धेरै माया गढेको उनले बताइन्। ‘मलाई लप्टनको पास आउटमा पनि सँगै ब्यारेक लगेको थियो’, गला अवरुद्ध पार्दै उनले भनिन्, ‘औंसीमा पनि आमाबुबाभन्दा पहिला मेरो मुख हेर्न आउँथ्यो। अरू सबैले तेरो भाइ मर्यो भन्छन् तर मेरो आस अझै मरेको छैन’, उनले भनिन्, ‘टीकाको दिन टुप्लुक्क आउँछ कि जस्तो लाग्छ ।’
यसरी बाटुलीलाई त ‘मरिसकेको भाइ’ भाइटीकाको दिन फर्कने आस छ भने सोही गाउँकी नम्रता कार्कीलाई विदेश गएको भाइ नफर्कने भन्ने त हुँदै भएन। उनले पनि खाडी मुलुक कतार गएको आफ्नो भाइ भाइटीकामा फर्कने आसमा मखमली रोप्न छाडेकी छैनन्। तर उनको भाइ प्रवीण घर नफर्केको तीन वर्ष भइसकेको उनले सुनाइन्। ‘कामबाट आउन मिलेन भन्छ, अर्को वर्ष आउँछु भन्छ,’ उनले थपिन्, ‘यसो भन्दाभन्दै तीन वर्ष बितिसक्यो ।’
नम्रताले यसो भन्दै गर्दा नुवाकोट थानसिङकी रमिता ढुंगाना २१ वर्षीय भाइ रितेषलाई विमानस्थलमा बिदाइ गर्दै थिइन्। ‘मेरो एउटै भाइ, त्यो पनि तिहारको मुखमा बिदेसिँदै छ’, विमानस्थलमा भेटिएकी उनले अँध्यारो अनुहार लगाउँदै भनिन्, ‘अर्को वर्षको तिहारमा आउने वाचा गरेर जाँदै छ ।’
उनले भाइका लागि भनेर रोपेका मखमली आँगनको डिलभरि फुलेका छन्। तर भाई उड्दै छ। ‘तेल धारा लगाएर काललाई बरु रोक्न सकिन्थ्यो होला, गरिबीका कारण घर छाडेर जाँदै गरेको भाइलाई रोक्न सकिएन ?’, उनले थपिन्, ‘वैदेशिक रोजगारीको पीडा मलाई कालभन्दा पनि डरलाग्दो लाग्यो।
यो पीडा वैदेशिक रोजगारीमा जाने हजारौं घर/परिवारको साझा हो। स्वदेशमै रोजगारी नमिल्दा दसैं, तिहार र छठजस्ता पर्व मात्र हैन, बुढेसकालका आमाबुबालाई छाडेर दैनिक दुई हजार हाराहारी युवा विदेश उडिरहेका छन्।
चार–पाँच दिन कुरेको भए उनीहरूको निधार सप्तरंगी टीकाले सजिन्थ्यो, गला मखमली मालाले भरिन्थ्यो, हातभरि दिदीले दिएको मिठाइ र मसलाको पोको हुन्थ्यो, मनभरि देउसी भैंलोको उमंग हुन्थ्यो। तर उनीहरू तिहारको मुखमा उदास अनुहार लगाएर बाहिरिँदै थिए। ‘पर्वभन्दा ठुलो काम हुँदोरहेछ’, गोर्खा आरुघाटका विनय अधिकारीले भने, ‘पर्वको मुखैमा विदेश उड्नुपर्दा मन दुख्दोरहेछ ।’ दसैंको टीका लगाए पनि तिहारअगाडि हिँड्नुपर्दा दिदीको अनुहार सम्झेर निकै मन दुखेको उनले सुनाए। ‘मलाई बिदाइ गर्ने बेलामा दिदी रोएर विमानस्थलमा आउनु भएन’, उनले थपे, ‘मलाई त्यो दृश्य सम्झँदा पनि निकै दुःख लाग्छ ।’
विनयले यसो भन्दै गर्दा अर्का एक युवक झोला बोकेर विमानस्थलतर्फ जाँदै थिए। तिहारको मुखमा विदेश जानुको पीडा उनको अनुहारमा पनि प्रष्टै झल्कन्थ्यो। उज्यालोको पर्व आउँदै गर्दा उनी पनि अँध्यारो मुख लगाएर विदेश जाँदै थिए। ‘दिदीले मखमली पनि रोप्नुभएको थियो’, सिन्धुपाल्चोक मेलम्चीका नरेश चालिसेले भने, ‘तर माला उनिनु पहिल्यै म उड्दैछु ।’ घर/परिवार र आफन्तका सपना पूरा गर्न मलेसियातर्फ हिँडेका उनले उताबाट फर्केपछि मखमली माला लगाउने सुनाए।
तेलको धाराले घेरेर, कानमा ओखरको टक्टक् सुनाउँदै दिदीले लगाइदिएको सप्तरंगी टीका निकै प्यारो लाग्ने उनले सुनाए। ‘तेलको घेरा लाग्नुअगावै बाध्यताले हामीलाई उडायो’, उनले भने, ‘बिदाइका बेलाको दिदीको अनुहार सम्झँदा अहिले पनि नरमाइलो लागिरहेको छ ।’ आफूलाई दिदीले घरबाटै बिदाइ गरेर पठाएको पनि उनले सुनाए ।
गुण्डु अर्थात् मखमली गाउँ
मखमलीको कुरा आएपछि भक्तपुरस्थित गुण्डुको नाम अगाडि आउँछ। यतिबेला गुण्डुमा कोही फूल टिप्दै, कोही माला उन्दै र कोही बजार जाँदैछन्। कोही पैसा गन्दै छन्। अन्यत्रका किसानलाई धान थन्क्याउने चटारो हुँदै गर्दा गुण्डुका किसानलाई भने यतिबेला मखमली फूल व्यवस्थापनको चटारो छ। साउनदेखि मखमली टिप्न सुरु गरेका उनीहरूलाई तिहार नजिकिँदै गर्दा माला गाँस्न भ्याइनभ्याई छ। ‘मैले एक लाख रूपैयाँको माला बेचिसकें’, सरस्वती विष्टले भनिन्, ‘अझै केही बेच्न बाँकी छ ।’ गाउँमा सबैजसोको फूल खेती भएकाले माला उन्ने खेताला पाउनसमेत समस्या रहेको उनले सुनाइन्। ‘केटाकेटी/बुढाबुढी सबै फूलमै व्यस्त हो’, उनले थपिन्, ‘अहिले हामीलाई मखमलीको चटारो छ ।’
उनीहरूले उनेका मखमलीका माला तिहारको भाइटीकाका लागि विराटनगर, पोखरालगायत ठाउँसम्म मात्र हैन, विदेशसमेत पुग्छन्। गाउँका थुप्रै युवा विदेश पनि गएका छन्। ‘हामीले भाइलाई माला लगाउन नपाए पनि यो माला विदेश पुग्छ’, नम्रता कार्की भन्छिन्, ‘सायद, हामीले उनेका माला उतै रहेका भाइहरूको गलामा पुग्नेछ ।’
२० वर्षदेखि २० रूपैयाँ
गुण्डुका लक्ष्मण थापाले मखमली लगाउन थालेको झण्डै दुई दशक भइसक्यो। बजारमा हरेक कुराको मूल्य बढे पनि मालाको मूल्य भने नबढेको उनी सुनाउँछन्। ‘उतिबेला २० रूपैयाँ गोटामा माला बेचेका थियौं’, उनले भने, ‘अहिले पनि त्यही मोलमा बेच्न बाध्य छौं ।’ फूलले धोका नदिए पनि बिचौलियाले किसानलाई समस्यामा पारेको उनको बुझाइ छ। ‘व्यापारी सिधै बारीमा आइदिए किसान र उपभोक्ता दुवैलाई फाइदा हुन्थ्यो’, उनी भन्छन्, ‘तर त्यसो भएको छैन ।’ कम्तीमा वडाले स्थानीय किसानसँग सहकार्य गरेर बजारको व्यवस्था गर्दिए मात्र पनि निकै राम्रो हुने उनको बुझाइ छ। यस भेगमा मात्र चार सय किसानले फूल रोपेको र तिहारमा मात्र करिब पाँच लाख रूपैयाँमो माला बिक्री हुने उनको अनुमान छ। विगतका दिनमा गुण्डुमा मखमली खेती हुने गरेकोमा पछिल्लो समय कटुन्जे, सूर्य विनायक, लुभु, झौखेललगायत उपत्यकामा विभिन्न ठाउँमा यसको खेत गर्न थालिएको छ। ‘गुण्डुका छोरीहरू बिहेपछि जता जान्छन् उतै मखमली रोप्न थाले’, विस्तार हुनुको एउटा कारण उनले सुनाए। एक दशकअघिसम्म मखमली भन्नेबित्तिकै गुण्डु सम्झिन्थ्यो तर अहिले भने सबैतिर यो फूल रोप्न थालिएको छ।
पछिल्लो समय देशका अन्य भागमा पनि फूल उत्पादन हुन थालेको छ तर त्यो पर्याप्त छैन। पुष्प व्यवसायमा आत्मनिर्भर बन्ने रहरमा सरकारी नजर नपुगेको सरोकारवालाको गुनासो छ। ‘छिमेकी मुलुक भारतमा किसानलाई सरकारले ८० प्रतिशत अनुदान दिन्छ’, नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिम्सिनाले भने, ‘तर नेपालका किसानलाई यसतर्फ केही सहयोग छैन ।’ पछिल्लो समय सरकारले केही ठाउँमा सहयोगको नीति ल्याएको तर त्यो नक्कली किसानको हातमा पुगेको उनले सुनाए।
फ्लोरिकल्चर एसोसिएसनको तथ्यांकअनुसार पछिल्लो समय नेपालमा पुष्प व्यवसायीहरूको संख्या ११ सय ७४, पुष्प खेती भइरहेका जिल्ला ५२, उत्पादन क्षेत्रफल ३ सय ६० हेक्टर छ भने रोजगारीको संख्या ५१ हजार ५ सय छ। तर आयात र निर्याततर्फ भने आकाश–जमिनको अन्तर छ। चाडपर्वमा यहाँबाट केही लाखको फूल निर्यात हुने गरेको छ भने करोडौंको फूल आयात हुने गरेको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०८०/८१ को भन्सार विभागको तथ्यांकअनुसार पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार एक करोड २ लाख १२ हजार छ जबकि त्यही वर्षको पुष्प तथा पुष्पजन्य वस्तुको आयात कारोबार भने २७ करोड ७९ लाख रूपैयाँ छ। ‘यो एउटा सामान्य उदाहरण मात्र हो’, तिम्सिना भन्छन्, ‘कम्तीमा फूलमा मात्र आत्मनिर्भर बन्ने हो भने अरू कुरामा आत्मविश्वास स्वतः बढ्नेछ ।
प्रकाशित: १५ कार्तिक २०८१ ०७:४५ बिहीबार