८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

डेंगीबारे चिकित्सक भन्छन्ः पोखरामा संक्रमित घट्दै, तर जोखिम टरेको छैन

<br>

<br>

डेंगी संक्रमणले अत्याएको पोखरामा बिस्तारै संक्रमण कम हुन थालेको चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार पछिल्लो समय पोखराका अस्पतालमा डेंगी उपचारका लागि आउने बिरामी केही घट्न थालेका छन्। दसैं अघिको तुलनामा पोखरामा यतिबेला संक्रमित कम हुन थालेको उनीहरुको भनाई छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा यो वर्ष अहिलेसम्म १५ हजार ८ सय ५५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। ती मध्ये पाँचजना महिला र तीनजना पुरुष सहित आठजनाको ज्यान पनि गइसकेको छ। प्रदेशमा सबैभन्दा बढी संक्रमित कास्कीमा रहेको मन्त्रालयको तथ्यांक छ। चिसो बढ्न थालेसँगै संक्रमित कम हुँदै गएपनि अझै केही समय सचेत भने हुनैपर्ने चिकित्सकले बताएका छन्।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सक डा. शरदचन्द्र बरालका अनुसार यो सातादेखि डेंगी संक्रमित केही घटेका छन्। ‘दिनमै ४०–५० जनाको दरले बिरामी अस्पतालमा उपचारका लागि आएका थिए। अहिले त्यो संख्या केही कम भएको छ,’ बरालले भने, ‘दुईसाता अघिसम्म त हायलकायल नै पारेको थियो।’ पानी पर्न रोकिएको र चिसो बढ्न थालेसँगै संक्रमित कम हुन थालेको उनले बताए।  

‘अहिले पनि संक्रमणको जोखिम शुन्यमा झरेको भने होईन। अझै पनि बिरामी त थपिएका छन। तर, दुइसाता अघिसम्मको आकार अहिले केही कम मात्र भएको हो,’ उनले भने। डेंगी नियन्त्रणका उपाय कम नहुँदा नहुँदै पनि जटिल अवस्था ल्याएको उनले बताए। 

पोखरास्थित मेडिप्लस अस्पतालका फिजिसियन डा. सरोज पोखरेलले पनि दसैंपछि डेंगीका संक्रमित केही घटेको बताउँछन। उनका अनुसार अस्पतालमा दिनमा २० जना डेंगी संक्रमित उपचारका लागि पुग्ने गरेकोमा अहिले केही कम भएका छन। ‘दसैंअघिको भन्दा अहिले केही कम भएका छन्। चिसो पनि बढ्न थालेको छ,’ पोखरेलले भने, ‘अहिले नै संक्रमणको जोखिम टरिसकेको भने होईन। तर, संक्रमित कम हुन थालेका छन्।’ पानी पर्न रोकिएको र चिसो बढ्न थालेसँगै संक्रमित पनि कम हुन थालेको उनले बताए।  

‘हेलचेक्रयाँइ भने अझै पनि गर्नुहुन्न। अहिलेका लागि संक्रमितको संख्या केही कम भएको मात्र हो,’ पोखरेलले भने। उनका अनुसार डेंगीले खासगरी सहरी क्षेत्रमा बढी सताउने गर्छ। तर, पछिल्लो समय ग्रामिण क्षेत्रमा पनि सहरीकरण बढेसँगै संक्रमित बढ्ने गरेको उनले बताए। ‘सहरी भेगमा मान्छेको आउजाउले पनि प्रभाव पार्छ। यो वर्ष पोखरालाई डेंगीले अत्याएकै हो,’ उनले भने, ‘अस्पतालका चिकित्सक सहित स्वास्थ्यकर्मी नै डेंगी संक्रमित बन्नुपरेको थियो।’

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीमा मात्र अहिलेसम्म ७ हजार ८ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै तनहुँमा यो संख्या ३ हजार ३ सय ७२ जना छन्। पर्वतमा यो वर्ष अहिलेसम्म १३ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ। बागलुङममा १ हजार ६१, गोर्खामा ८ सय ४४, स्याङजामा ६ सय ३६, म्याग्दीमा ३ सय ३१, नवलपुरमा २ सय ४६, लम्जुङमा १ सय २२, मुस्ताङमा ९ र मनाङमा ५ जनामा यो वर्ष अहिलेसम्म संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार गत जुलाईदेखि प्रदेशमा संक्रमितको संख्या ७ सय २९ थियो। त्यो संख्या अगष्टमा ४ हजार ८४, सेप्टेम्बरमा ६ हजार ९ सय २० र अक्टोवरमा अहिलेसम्म ३ हजार ८ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ।  

प्रदेशम सबैभन्दा बढी संक्रमित कास्कीमा पुष्टि भएका छन्। कास्कीका संक्रमित मध्ये पोखरा महानगरपालिकामा मात्र ७ हजार ७ सय ८१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले पनि तीनसाता अघिको तुलनामा अहिले संक्रमित कम भएको बताए। उनका अनुसार तीनसाता अघिसम्म पोखरामा एकसातामा एकहजार हाराहारीमा संक्रमित हुने गरेका थिए। तर, अहिले त्यो संख्या आधा भन्दा केही बढीमा घटेको उनले बताए।  

‘संक्रमित शुन्यमा झरेको त होईन। तर, अहिले घटेको छ। पोखरामा पानी पर्न कम पनि भएको छ,’ नेपालीले भने, ‘पानी जम्ने समय डेंगी संक्रमण फैलाउने लामखुट्टेका लागि सबैभन्दा उपयुक्त हुन्छ। तर, अब पानी पर्न कम भएसँगै जमेको पानी पनि सुकिसकेको छ। त्यसबाहेक चिसो पनि बढेकोले लामखुट्टेको वृद्धि पनि कम भएकोले संक्रमित पनि घटेको अनुमान छ,’ उनले भने, ‘चिसो बढ्दै जाँदा संक्रमण अझै कम हुने हाम्रो अनुमान हो। तर, अहिले नै शुन्यमा झरेको चाहिँ होईन।’

नेपालीका अनुसार पोखरा महानगरपालिकाका चारवटा वडा (५,८,९, १७) यो वर्ष डेंगीले बढी प्रभावित पारेको थियो। पोखराका यी वडा क्षेत्रमा घनाबस्तीसँगै मोटर ग्यारेज र कवाडी संकलन केन्द्र बढी भएकोले ती क्षेत्रमा बढी फैलिएको उनले बताए। ‘पानी जम्नु नै डेंगी संक्रमण फैलाउने लामखुट्टेका लागि उपयुक्त हुन्छ। तर, अब पानी पर्न कम हुनु र चिसो बढ्दै जाँदा अबका केहीदिनमा संक्रमण अझ ओरालो लाग्ने अनुमान हो,’ उनले भने।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।  

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: ८ कार्तिक २०८१ १५:३५ बिहीबार

गण्डकी प्रदेश डेंगी संक्रमण पोखरा