२७ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कपिलवस्तुमा ४ सयभन्दा बढी दुर्गा भवानीको मूर्ति विर्सजन गरियो

विजयादशमीको अवसरमा कपिलवस्तुका विभिन्न स्थानमा स्थापित गरिएका ४ सयभन्दा बढी दुर्गा भवानीको मूर्ति विर्सजन गरिएका छन्।

बाजागाजासहित स्थानीय नदी नालमा दुर्गा भगवतीको मूर्ति विर्सजन गरिएको हो।

जिल्लाका १० पालिका अन्र्गत विभिन्न चोक बजार गाउँमा दसैँको अवसरमा मूर्ति प्रर्दशन गरिएको थियो।

नवरात्रका अवसरमा निकालिएका मूर्तिहरुको विशेष हवन गरिएको थियो। कुनै स्थानमा घटनस्थपना र कुनै सप्तमीका दिन मूर्ति निकालिएको थियो।

जिल्ला प्रशासन कार्यालय अनुसार कपिलवस्तुका १० पालिकामा ४ सय ७० दुर्गा भगवतीको मुर्ति बनाई राखिएको थियो। २० हजारदेखि ६० हजार बढी मुल्यका मूर्तिहरु निकालिएका थिए।

केही घटस्थपनाका दिन र अधिकांसले सप्तमीका दिन पुजापाठ गरी निकालेका थिए। दुर्गामूर्तिलाई भक्तजनहरुले वाणगंगानदीको रामघाट लक्ष्ममणघाट, सुरई बेल नदी तथा बिभिन्न नालामा भब्यरुपमा बिर्सजन गरेका थिए।

दशमी र एकादशी गरी २ दिन मूर्ति विर्सजन गरिएको हो। शनिवार कृष्णनगर महाराजगंज क्षेत्रका २ सय ७६ मूर्ति विसर्जन गरिएको थियो।

दुर्गा भवानीको विसर्जनको क्रममा सम्भावित घटनालाई मध्यनजर गर्दै ठाउँठाउँमा प्रहरी परिचालन गरिएको थियो।

सुरक्षाको दृष्टिले अति संवेदनशील रहेको कृष्णनगर क्षेत्रमा ड्रोन सिसि क्यामेरा र बाक्लो सुरक्षाकर्मीको उपस्थिति थियो। कृष्णनगरमा जिल्ला सुरक्षा समितिका सबै जना त्यही पुगको थिए।

प्रजिअ विश्व प्रकाश अर्यालले मुर्ति बिर्सजनकाक्रममा हुन सक्ने सम्भावित झडप र घटनालाई रोक्न जिल्लाभर शान्ति सुरक्षालाई मजबुत पारिएको बताए।

मूर्ति विर्सजनका क्रममा कही कतै अप्रिय घटना नभएको उनले बताए। तौलिहवा र त्यस आसपास निकालिएको झाँकीलाई भक्तजनहरुले नगर परिक्रमा गराई रामघाटमा लगेर विर्सजन गरेका थिए।

बाजागाजा र नाचगानसहित भक्तजनहरु रामघाट नदी पुगेका थिए। प्रशासन कार्यालय अनुसार असोज २९ गतेसम्म छिटपुटरुपमा मूर्ति विर्सजन कार्य जारी रहने छ।

प्रहरी उपरिक्षक निरन्जन दत्त भट्टले दसैँको अवधिमा जिल्लामा कुनै अप्रिय घटना नभएको पनि बताए। 

प्रकाशित: २७ आश्विन २०८१ १५:३६ आइतबार

#Dashain