२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

महानवमी: विधिपूर्वक गरियो सिद्धिदात्री देवीको पूजा आराधना

आश्विन शुक्ल नवमीका दिन शुक्रवार दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो।

दोस्रो दिन असोज १८ गते शुक्रवार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन असोज १९ गते शनिवार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो। चौथो दिन असोज २० गते आइतवार र पाँचौँ दिन असोज २१ गते सोमवार पनि कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो। चौथी तिथि वृद्धि भएकाले दुई दिन कुष्माण्डा देवीको पूजाआराधना गरिएको हो। छैटौँ दिन असोज २२ गते मङ्गलवार स्कन्दमाताको पूजाआराधना गरियो।

सातौँ दिन आश्विन शुक्ल षष्ठीका दिन असोज २३ गते बुधवार कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो। असोज २४ गते बिहीवार आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरियो।

दुर्गा पक्षको आठौँ दिन अर्थात् आश्विन शुक्ल अष्टमीका दिन शुक्रवा बिहान महागौरी देवीको विशेष पूजाआराधना गरिएको थियो। शुक्रवारै आश्विन शुक्ल नवमी तिथि पनि परेकाले सिद्धिदात्री देवीको पनि पूजाआराधना गरिएको हो। दुर्गापक्षको नवौँ दिन एवं नवरात्रको अन्तिम दिन शुक्रवार सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना गरिएको छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्।

नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यस वर्ष असोज २६ गते शनिबार विजयादशमी परेको छ। विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ः३६ को साइत उत्तम रहेको जनाएको छ। दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ। यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन्।

सिद्धिदात्री देवीको स्वरुप

मुमुक्षुहरुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ। सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ। यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन्। सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ।

दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको विभिन्न पुराणमा उल्लेख छ। यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुट्कारा पाउने विश्वास गरिन्छ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। दसैँको नवौँ दिन शक्तिपीठमा पूजाआराधना गर्ने भक्तजनको भीड लागेको थियो। महाअष्टमीसँगै महानवमीका अवसरमा शक्तिपीठ एवंं घरघरमा बलिसहित पूजाआराधना गरी नेपालीले शुक्रवार विशेष रुपमा मनाएका छन्। रासस

प्रकाशित: २५ आश्विन २०८१ २०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App