१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडसः दैनिक तीन सयलाई खाना खुवाउँछन्

असोज १२ र १३ गतेको मनसुनजन्य विपद्का कारण काठमाडौं उपत्यकासहित देशभरका नागरिकहरुको जनजीवन अस्तव्यस्त छ। कतिपयको बासस्थान नै बगाएको÷डुबानमा परेको छ। जसरकारण पनि आम नागरिकहरुको जनजीवन प्रभावित छ।  

काठमाडौं उपत्यकामा वागमती, हनुमन्ते खोला, ललितपुरको नख्खु खोलाले बगाएर धेरै मानिसहरुको ज्यान गएको छ। नख्खु खोलाले घरवास बगाएर पीडित नागरिकहरु अहिले पनि खान र बस्नका लागि भौँतारिरहेका छन्। गाँसवासको टुंगो नहुँदा स्थानीहरु मिलेर उनीहरुलाई खान र बस्नको व्यवस्था गरिरहेका छन्।

गत आइतबारदेखि ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित नख्खु खोला आसपासका पीडितहरुलाई स्थानीहरु मिलेर दुई छाक नै खाना खुवाइरहेको २५ नम्बर वडाका वडाध्यक्ष दौलतकुमार खत्री बताउँछन्। उनले सहयोगी दाताहरुले एकद्वारा प्रणालीबाट वडामा आइ सहयोग गरिरहेको र सोही सहयोगबाट पीडितहरुलाई खाने र बस्ने स्थानको व्यवस्था गरिएको बताए।

उनले २५ नम्बर वडामा २५० जनाको गाँसवास बाढीका कारण खोसिएको बताए। स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले पनि समन्वयपूर्ण काम गरे सहज हुने उनले विश्वास व्यक्त गरे। बाढीले घरहरु बगाएसँगै सरकारले दिएको राहत राख्ने ठाउँ नै नभएपछि पनि समस्याहरु सिर्जना भइरहेको उनले बताए।

उनले भने, ‘यो हप्ताको आईतवारदेखि आज ६ दिनभयो, बिहान बेलुका अविरल वर्षाबाट पीडितलाई खाना खुवाइरहेका छौँ। सहयोगी दाताहरुले एकद्वारा प्रणालीबाट हामी खुवाउँछौँ भनेकाले लगातार खाना खुवाइरहेका छौँ। यो वडामा २५० जना जतिको गासवास बाढीका कारण खोसिएको छ। २ जनाको मृत्यु भयो, यो वडाबाट।’

ललितपुर महानगरपालिका २५ नम्बर वडाकी महिला सदस्य सपना ठकुरीले स्थानीयहरु मिलेर पीडितलाई खाना खुवाइरहेको बताउँछिन्। उनले दैनिक तीन सय जति मानिसहरुलाई खाना खुवाएको बताइन्। पीडितलाई खाना खुवाउन विभिन्न संस्थाहरुले सहयोग गर्नुभएको र बस्नका लागि सरकारी भवन, बालकुमारी मन्दिर लगायतमा राख्ने गरिएको बताइन्।

उनले भनिन्, ‘वडाको तर्फबाट भन्दा पनि आईतवारदेखि आफैँ मिलेर खाना खुवाइरहेका छौँ। तीन सय जति मानिसलाई खाना खुवाइरहेका छौँ। विभिन्न संस्थाले सहयोग गर्नुभएको छ। सरकारी भवन, बालकुमारी मन्दिरहरुमा बस्नुभएको छ। कतिपय साथीहरुकोमा गएर बस्नुभएको छ।’

गत असोज १२ र १३ गतेको अविरल वर्षाका कारण देशभर नै ठूलो जनधनको क्षति भएको छ। हजारौँ मानिसहरु बिस्थापित भएका छन्। अझै पनि मनसुन सफा भइसकेको छैन । त्यसैले विज्ञहरुले शतर्कता अपनाउन सुझाव दिइरहेका छन्। साथै चिकित्सकहरुले विपद्पछि स्वास्थ्यमा पनि ठूलो समस्या आउनसक्ने भन्दै पानी सफा खान र तताएर मात्रै प्रयोग गर्न आग्रह गरेका छन्। सरकारले पनि आवश्यक सावधानी अपनाएर यात्रा गर्न, स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेको छ। 

प्रकाशित: १८ आश्विन २०८१ १७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App