नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले फागुन २१ गते हुने निर्वाचनमा राजनीतिक दलहरु आम रुपमा एक्ला एक्लै प्रतिस्पर्धामा भएपनि कतिपय स्थानमा तालमेल हुनेसक्ने बताएका छन्।
उनले देश बनाउने नीति र विचारका आधारमा एमाले पहिलो पार्टी हुने जिकिर समेत गरे।
आज प्रेस चौतारीले आयोजित गरेको अन्तरसंवादमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालबीच तालमेलबारे छलफल भएको हो भनी संचारकर्मीले प्रश्न गरेका थिए।
सो को जवाफमा गुरुङले बाहिर चर्चामा आए जस्तो अहिलेसम्म एमालेले तालमेलबारे कुनै निर्णय नगरेको बताए।
तर, राजनीतिमा छलफल र संवाद तथा सबै सम्भावना हुन सक्ने उनले बताए। गत भदौ २३ र २४ गतेको घटनालाई हेर्ने दृष्टिकोण एउटै नभएसम्म नेकपासँग तालमेल नहुने उनको भनाई छ।
उपाध्यक्ष गुरुङले निर्वाचनका लागि पार्टीले कार्यमूलक सुधारका विषयलाई समेटेर छरितो घोषणापत्र छिट्टै ल्याउने जानकारी दिएका छन्।
प्रकाशित: २० माघ २०८२ १५:४४ मंगलबार





