१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अविरल वर्षाले लुम्बिनीमा कति क्षति ?

फाइल फोटो

शनिवारको झरिका कारण लुम्बिनीमा मानवीय क्षतिका विवरण नआए पनि ठुलो धनजनको क्षति भएको छ । लुम्बिनीमा १२ घर पूर्णरुपमा भत्किएका छन् भने तराई क्षेत्रका सयौं घर डुबान परेकामा छन् ।

नवलपरासी बर्दघाट नगरपालिका–२ बासखोलामा अविरल वर्षाका कारण ५० वर्षीय कोशहादुर आले, २७ वर्षीय कादर दर्लामी, ४२ वर्षीय हरिबहादुर राई, ५० वर्षीय तोमन सिंह दर्लामी, ५० वर्षीय तिलकुमारी बाह्रघरे, ५० वर्षीय बमबहादुर बाह्रघरे, ४५ वर्षीय तिलबहादुर रुचाल, ५५ वर्षीय दलबहादुर राई र ५३ वर्षीय कुशबहादुर आले मगरको घर भत्किएका छन् । यस्तै दाङ तुलसीपुर उपमहानगरपालिका–६ गैराबिजौरीका टेकबहादुर दमाईको ६ कोठे दुई तले कच्ची घर भत्किएको छ । यहाँ तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । उक्त घरमा बस्ने पाँचज नालाई स्थानीयको घरमा राखिएको छ ।

पाल्पाको बगनासकाली गाउँपालिका–६ यम्घाका ७६ वर्षीय देवनारायण बस्यालको ढुङ्गा माटोले बनेको दुई तले कच्ची घर भत्किएको छ । मानिस बस्न नमिल्ने गरी घर भत्किएपछि उनको परिवार नजिकैको गोठमा गएर आश्रित भएको छ । रुकुम (पूर्वी भाग)को भुमे गाउँपालिका–१ लाम्पाटाका ४१ वर्षीय आशबहादुर बुढाको दुई तले घर पूर्णरुपमा भत्किएको प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ मा रहेको इलाका प्रहरी कार्यालय भिगृको डिउटी पोष्टसमेत भत्किएको छ ।

पाल्पास्थित तानसेन नगरपालिका–५ कैलाशनगर(सुकुम्वासी टोल) मा रहेका रामबहादुर विक, ईन्द्रिला विक, दलप्रसाद विक, आइतराम बोटे, पूर्णबहादुर नेपाली, शोभा नेपाली, कल्पना नेपाली, कमल दर्जी र अनिल ठडराइका घर पहिरोका कारण जोखिममा परेका छन् । सोही पहिरोले गर्दा पाल्पा–गुल्मी पक्की सडक खण्डसमेत पूर्णरुपमा अवरोध भएको प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

अविरल वर्षातको कारण तिनाउ नदीको बाहब बढ्दा रुपन्देहीस्थित मायादेवी गाउँपालिका–६, खजुरीया गाउँमा पानी पसेको थियो । यहाँका मुरली चौहान, मनिराम चौहान, सुधामा हरिजन र कुकु लोनियालगायत ५० देखि ५५ घर डुबानमा परेका छन् । सोही वडाको गुर्बनिया, ५ नम्बर वडाको लुक्ठहवा, बसौली, बसहवा, पर्सहवा गाउँमा पनि पानी पसेको थियो । तिलोत्तमा नगरपालिका–५ मणिग्राममा रहेको सिद्धार्थ भूमि इन्टरनेश्नल प्रालिको गोदाममा पानी पस्दा ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ फुक्टुङस्थित रिडी खोलामा आएको बाढीले पाँच डुबानमा परेका छन् । ६५ वर्षीया मनिकला कुमाल, ५१ वर्षीय ओमप्रकाश कुमाल, ४३ वर्षीया रीता कुमाल, सीमा कुमाल, २८ वर्षीया मालती नेपालीको डुबानमा परेको र यहाँका ११ जनालाई उद्धार गरी आफन्तको घरमा बास बसालिएको प्रहरीले जनाएको छ ।

गुल्मीको छत्रकोट गाउँपालिका–५ दुमैखोलाका ४५ वर्षीय कृष्ण विकको घर बाढीले बगाएको छ । बाढीका कारण खोला घर बगाएपछि उनीहरूको तीन जनाको परिवार छिमेकीको घरमा बसिरहेका छन् । धुर्कोट गाउँपालिका–४ लाटाका ४६ वर्षीय बालकृष्ण पोखरेलको एक तले गोठ भत्किएको छ । 

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ ठुलाखोर्रेका ३० वर्षीय ज्ञानबहादुर कुमालको घर माथिबाट पहिरो खस्दा जोखिममा परेको छ । यहाँका १२ जनालाई छिमेकीको घरमा बस्ने व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । निस्दी गाउँपालिका–५ ढुंगाना वेशीका नरबहादुर खरु र रम्भा गाउँपालिका–३ माथिल्लो कुवादीकी ज्ञानीसरा चितौरेको घर पनि पहिरोको जोखिममा परेको छ । पाल्पाको रम्भा गाउँपालिका–३ अगाहखोला स्थित सिद्धार्थ राजमार्गमा माथिबाट पहिरो झरी बाटो अवरुद्ध भएको छ । दिउसो एक छिन उक्त सडक खुले पनि माथिबाट लेदो झरी पुनः बाटो अवरोध भएको छ । प्रहरीका अनुसार उक्त लेदोमा रामपुरबाट तानसेनतर्फ आउँदै गरेको लु१ज ४६४० नम्बरको जिप फसेको छ । यसमा सवार व्यक्तिको भने उद्धार गरिएको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिका–७ जुवाकोटका ५० वर्षीय दिलबहादुर सार्कीको घर नजिकै जमिन भासिँदा उनको घर भत्किएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–६, धरमखोलाका ३९ वर्षीय केशरबहादुर वलीको गोठ पहिरोले पुरिएको छ । माडी गाउँपालिका– बुढा गाउँका ६३ वर्षीय गनबहादुर घर्तीको बोइलर कुखुरा फार्म पहिरो गएको छ । पहिरोले दुई सय ६० वटा बोइलर कुखुराको मृत्यु भएको प्रहरीको भनाइ छ । यसबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

बाँकेको जानकी गाउँपालिका–३ ईन्द्रगाँउका ९ वर्षीय अरफान अली माछा पोखरीमा डुबेर बेपत्ता भएका छन् । आफ्नो घरभन्दा एक सय ५० मिटर टाढा रहेको सार्वजनिक पोखरीमा माछा मार्ने क्रममा चिप्लिएर उनी बेपत्ता भएका प्रहरीले जनाएको छ ।

प्रकाशित: १२ आश्विन २०८१ २०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App