६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

संविधान दिवसमा कपिलवस्तुको तौलिहवामा प्रभातफेरी

संविधान तथा राष्ट्रिय दिवसको अवसरमा कपिलवस्तुको तौलिहवामा प्रभातफेरी निकालिएको छ। दिवसको मूल समारोह समिति, सरकारी तथा गैरसरकारी संस्थाहरूको सहभागितामा बृहद प्रभातफेरी निकालिएको हो।

 तौलिहवास्थित प्रशासन कार्यालयबाट निकालिएको र्‍यालीले तौलिहवा बजारको परिक्रमा गरेको हो। प्रभातफेरीपछि आयोजित सभामा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले धेरै संघर्ष र बलिदानले आएको संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताए।

उनले संविधानको सही कार्यान्वयन गरी त्यसले प्रदत्त गरेको हकअधिकारलाई सुनिश्चित गर्नुपर्ने बताए। सो अवसरमा कपिलवस्तु नगरपालिका मेयर तथा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सुदीप पौडेलले संविधान अझै अपुरो र अधुरो भएकाले त्यसलाई संशोधन गरी सबैले आपनत्व लिने गरी अघि बढाउनुपर्ने बताए।

संविधानले अझै सबै पक्षको हकअधिकारलाई नसमेटेकाले समस्या आएको भन्दै त्यसलाई संशोधन गरी अघि बढनुपर्ने बताए। संविधान दिवसकै अवसरमा तौलिहवास्थित बालगृहमा सामाजिक डिभिजन कार्यालयले कपडा र फलफूल वितरण गरेको छ।

जिल्ला समन्वय समितिका प्रमुख आचार्य, मेयर पौडेल, प्रजिअ विश्वप्रकाश अर्याल, प्रहरी उपरिक्षक नवरत्न पौडेल सशस्त्र प्रहरी उपरिक्षक रामजंग पाण्डेय लगायतले बालगृहका ३२ अनाथ बेसहारा बालकहरूलाई सो वितरण गरेका थिए।

कार्यक्रम डिभिजन प्रमुख रामकरन पालको अध्यक्षतामा भएको थियो। यस्तै संविधान दिवसकै अवसरमा सशस्त्र प्रहरी गण हेडक्वाटर नम्बर २८ मा वृक्षारोपण गरिएको छ।

धुपी सल्ला, मोरिङ्गा, पारिजात, कटहर, अमला तेजपत्ता, गोल्डमोहर, कल्की, जामुन, मसला जात लगायतका बिरुवाहरू रोपिएको थियो। त्यहाँ २ सय बिरुवा रोपिएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख अतिजकुमार कर्णले बताए।  

प्रकाशित: ३ आश्विन २०८१ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App