१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

चोरी मुद्दामा थुनिएका कैदीको उपचारका क्रममा मृत्यु

जिल्ला कारागार मोरङमा रहेका एक कैदीको मृत्यु भएको छ।

बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङको आइतबार विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ कारागार प्रशासनले जनाएको छ।

कारागारका जेलर चेतराज बरालका अनुसार बिरामी परेका तामाङलाई भदौ २० गते साँझ उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचाररत अवस्थामै उनको मृत्यु भएको हो।

खुट्टा सुन्निने र मुटु सम्बन्धी पुरानै समस्या रहेका तामाङको उपचारका क्रममा आइतबर पौन १२ बजेतिर मृत्यु भएको बरालले बताए। उनका अनुसार विराटनगरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदै गर्दा तामाङको मृत्यु भएको हो। 

मोटरसाइकल चोरीमा संलग्न तामाङविरुद्ध विभिन्न पाँच अदालतमा चोरी मुद्दा दर्ता छन्। सबैजसो मुद्दा विचाराधीन रहेका थिए। मोरङ, झापा, सुनसरी, इलाम र धनकुटामा मुद्दा रहेको जेलर बरालले बताए।

मोरङमा तामाङविरुद्ध चोरी कसुरमा दुई वटा मुद्दा चलेका छन्। एउटा मुद्दामा मोरङ अदालतले ४ महिना कैद र १५ हजार रूपैयाँ जरिवाना फैसला गरेको थियो। अर्काे मुद्दामा १ लाख रूपैयाँ धरौटी माग गरेको थियो।

धरौटीबापतको रकम बुझाउन नसकेपछि अदालतको आदेशबाट २०८० माघ २१ गते पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। चोरी मुद्दामै उनीसँग धनकुटा अदालतबाट धरौटीबापत ३ लाख ५० हजार र सुनसरी अदालतबाट २ लाख रूपैयाँ माग भएको थियो।

दुवै अदालतले मागेको धरौटी उनले तिर्न सकेनन्। धरौटी रकम जम्मा गर्न नसकेपछि पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको जेलर बराल बताए। तामाङविरुद्ध झापा र इलाम अदालतमा पनि चोरी मुद्दा छ। दुवै अदालतले उनलाई उपस्थित गराउन आदेश दिइसकेका थिए।

मोरङ कारागारमा क्षमताभन्दा ३ गुणा बढी कैदीबन्दी छन्। कारागारमा हाल ४ नाबालक र ९७ महिलासहित १ हजार ५९ जना कैदीबन्दी रहेको जेलर बरालले बताए। 

प्रकाशित: २३ भाद्र २०८१ १८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App