१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रेडक्रसको स्थापना दिवसमा ३७ जनाले गरे रक्तदान

नेपाल रेडक्रस सोसाईटीको स्थापना दिवसमा ३ दर्जन हाराहारीले रक्तदान गरेका छन्। रेडक्रस सोसाईटी गाईघाट शाखा र त्रियुगा नगर उपशाखा (ख) को आयोजनामा स्थापना दिवस मनाउने क्रममा गाईघाटमा संयुक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

‘रेडक्रस सोसाईटीको ६२ औँ स्थापना दिवस’को अवसरमा त्रियुगा नगरपालिका ११ गाईघाटस्थित लोकतान्त्रिक चोकमा रक्तदानका लागि इच्छुक सर्वसाधारण सबैलाई बोलाइएको थियो। बुधबार विहान ७ः०० बजेदेखि सुरु कार्यक्रममा नगरप्रमुख बसन्त बस्नेतलगायत ३७ जनाले रगत दान गरेको सोसाईटी उदयपुर शाखाका सभापति मदनराज कटुवालले बताए।

रेडक्रस सोसाईटी उदयपुरद्वारा जिल्ला अस्पताल नजिकै सञ्चालनमा रहेको रक्त सञ्चार केन्द्र (ब्लड बैँक) को प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा संकलित रगत सबै सोही बैँकमा राखिने आयोजकले जनाएको छ।

‘रक्त दान जीवन दान’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा मेयर बस्नेतलगायत जनप्रतिनिधि, सामाजिक अगुवा, महिला, युवा, विद्यार्थी र सर्वसाधारणले रगत दान गरेका छन्।

रेडक्रस सोसाईटी उदयपुरले भर्खरैको निर्णय अनुसार जिल्लाबासीलाई निःशूल्क रगत उपलब्ध गराउने घोषणा गरेको छ। जसअनुसार जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीय तहमा रक्तदान कार्यक्रम सञ्चालन गरेर ब्लड बैँकमा जम्मा गरी आवश्यक पर्दा जसकसैलाई निःशूल्क रगत उपलब्ध गराउने नीति अघि सारिएको छ।

उदयपुर सदरमुकाम गाईघाटस्थित ५० शैय्याको जिल्ला अस्पतालमा विशेषज्ञ सेवासहितको उपचार हुने भएकाले पछिल्लो समय रगतको अभाव हुदै गएको छ। त्यस समस्यालाई मध्येनजर राख्दै जुनसुकै बेला कुनै पनि विरामीलाई रगत अभाव हुन नदिन पर्याप्त रगत जोहो गर्ने उदेश्य लिएर रेडक्रस सोसाईटीले जिल्ला र मातहत उपशाखामार्फत रक्त संकलन कार्यलाई तिब्रता दिन लागेको कटुवाल बताउँछन्।

केही वर्षयता जिल्ला अस्पतालमा हाडजोर्नी, पायल्स, फिस्टुला, पत्थरी, एपेन्डीसाईटिस, हर्नियालगायतको सल्यक्रिया (अप्रेसन) सहितको उपचार सेवा प्रवाह हुदै आएको छ।

त्यसबाहेक जटिल खालका गर्भवती महिलाको अप्रेसन (सिएस) प्रणालीबाट बच्चा जन्माउने सेवा पनि विगत दशकयता अस्पतालले प्रवाह गर्दै आएको छ।

गर्भवती महिला र अन्य रोगको अप्रेसन गर्दा कसैलाई पनि रगतको अभाव नहोस् भन्ने उदेश्यले सोसाईटीले रक्तदान अभियान चलाउन थालेको सभापति कटुवालको भनाई छ।

सोसाईटीले रक्तदान गर्ने र उनीहरुको परिवारलाई मात्र नभएर सबै सर्वसाधारण विरामीलाई पनि आवश्यक पर्दा निःशूल्क रगत उपलब्ध गराउने गरी रक्तदान कार्यक्रम अभियानकै रुपमा अगाडि बढाएको उनले जानकारी गराएका छन्। 

प्रकाशित: २० भाद्र २०८१ १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App