३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

असोजसम्मै डेंगी संक्रमणको त्रास

तनहुँमा डेंगी संक्रमणले झनै गति लिएको छ। असार अन्तिमदेखि बढेको डेंगी संक्रमणले अहिले सिंगै तनहुँलाई अत्याएको छ। तनहुँमा मात्र करिब दुइहजार जनामा डेंगी संक्रमण पुष्टि भईसकेको स्वास्थ्य कार्यालय तनहुँले बताएको छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ। स्वास्थ्यकर्मीले अहिले पनि डेंगी संक्रमण असोज महिनासम्मै रहिरहने अनुमान गरेका छन। 

तनहुँका १० वटा स्थानीय तहमध्ये घिरिङ गाउँपालिकाबाहेक सबैतिर संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको भनाई छ। स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलका अनुसार तनहुँको आँबुखैरेनीमा सबैभन्दा बढी संक्रमित छन्। आँबुखैरेनी गाउँपालिकामा १३ सय भन्दा बढी संक्रमित छन्। त्यस्तै व्यास नगरपालिकामा २ सय १९ र शुक्लागण्डकी नगरपालिकामा २ सय ३५ जनामा संक्रमण पुष्टि भईसकेको छ । बन्दीपुर गाउँपालिकामा १ सय १५ जनामा संक्रमण पुष्टि भएको छ।  

‘तनहुँमा करिब २ हजार जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिकामा संक्रमित छन,’ कँडेलले भने, ‘अझै पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन। जनचेतनाका कार्यक्रम निरन्तर गरिरहेपनि संक्रमण कम हुन सकेको छैन।’ पोहोर पनि तनहुँको सदरमुकाम दमौलीमा पर्ने ब्यास नगरपालिकामा डेंगी संक्रमणले अत्याएको थियो। यो पटक भने ब्यासमा भन्दा पनि आँबुखैरेनीमा संक्रमण फैलिएको उनले बताए।  

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशका मुस्ताङ बाहेक सबैतिर संक्रमण छ। मन्त्रालयका अनुसार प्रदेशमा यो वर्ष संक्रमितको संख्या ६ हजार हाराहारीमा पुगिसकेको छ। ‘सचेतना नै डेंगी संक्रमण रोक्ने सबैभन्दा बढी प्रभावकारी माध्यम हो। त्यसै अनुसार जनचेतनाका कार्यक्रम पनि गरिरहेका छौ,’ मन्त्रालयका प्रवक्ता सुरज गुरौ भन्छन, ‘सरसफाई सम्बन्धि सचेतनाका कार्यक्रम नै आवश्यक छ । त्यसका लागि विभिन्न जिल्लामार्फत कार्यक्रम भईरहेका छन।’ ‘यो महिनामा संक्रमण ह्वात्तै बढेको छ। डेंगी संक्रमणले अहिले प्रदेशमा निकै नै अत्याएको छ,’ प्रवक्ता गुरौले भने।  

उनका अनुसार अहिले संक्रमण रोक्नका लागि लामखुट्टे रहन सक्ने ठाउँ पहिल्याउने र नोक्सान (सर्च एण्ड डिस्ट्रोय) अभियान चलाइएको छ। ‘तनहुँमा अलि बढी समस्या परेको हो। तनहुँको आँबुखैरेनीमा अलि बढी समस्या भएपछि दुइजना अतिरिक्त चिकित्सक पनि थपेका छौं,’ उनले भने। उनका अनुसार संक्रमण कम गर्नका लागि जनचेतना नै आवश्यक छ। त्यसका लागि घर वरिपरि सरसफाईमा ध्यान दिनुको विकल्प छैन।  

उनका अनुसार अघिल्ला वर्षको वृद्धिदर र अवस्था हेर्दा असोजसम्म डेंगी संक्रमण बढ्ने जोखिम रहेको छ। अघिल्ला वर्र्ष पनि असोजसम्मै संक्रमण तिब्र थियो। ‘पछिल्लो महिना बल्ल संक्रमणले गति लिएको छ। अब पानी पर्ने र रोकिने गर्दा संक्रमण ह्वात्तै बढ्न सक्छ। यो वृद्धिदर आगामि महिनासम्म पनि रहने हाम्रो अनुमान छ,’ उनले भने, ‘यो बेला सचेत हुने हो भने केहीदिनमा संक्रमित कम हुन थाल्छन। त्यसका लागि सचेतना नै मुख्य रहन्छ।’ डेंगी संक्रमणले यो पटक गण्डकीमा तीनजनाको ज्यान पनि गईसकेको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।  

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहने स्वास्थ्यकर्मीको भनाई छ।  

पोखरामा २०७२÷७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीनवर्ष पोखरामा एकएकजना मात्र डेंगीका बिरामी भेटिएकोमा चौथो वर्ष ५७१ जना बिरामी परेका थिए। त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो। डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ। खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।  

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: १९ भाद्र २०८१ १७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App