१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

आज कुशे औँसी, गोकर्णेश्वरमा बिहानैदेखि श्राद्ध, पिण्डदान गर्नेहरूको भिड

आज बाबुको मुख हेर्ने दिन। कुशे औँसीको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा बिहानैदेखि पिण्डदान र श्राद्ध गर्नेहरूको भिड लागेको छ।  

बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ। यसैअनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा आज बिहानैदेखि पितृप्रति सम्मान प्रकट गर्नेहरू भेला भएका छन्।

उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर आजका दिन मेला लाग्ने गरेको छ। यहाँ आउने भक्तजनका लागि गत वर्षभन्दा बढी सेवा दिने गरी मूल समिति र उपसमितिले तयारी गरेको छ।

कुशे औँशीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ। मेला व्यवस्थापन गर्न आजैदेखि दुई सय जना स्वयंसेवक परिचालन गरिएको छ। मेलाका लागि आज नेपाल मेडिकल कलेज र माकालबारी सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकी मन्दिर क्षेत्रमा प्रवेश गर्न नदिने गरी तयारी भएको समितिले जनाएको छ।

यस अवसरमा रसुवाको वेत्रावती, देवघाट लगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध, तर्पण गर्ने भक्तजनको लर्को लाग्छ। ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ। मृत बाबुका नाममा भने गोकर्णेश्वरलगायत तीर्थस्थलमा गई श्रद्धाभक्तिपूर्वक तर्पण, पिण्डदान र सिदादान गरिन्छ।

यस दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। यस दिन घर घरमा पवित्र कुश भित्र्याएर कुशे औँशी पर्व पनि मनाइन्छ। वर्षभरि देवकार्य तथा पितृकार्य लगायत धार्मिक क्रियाकलापमा प्रयोग गरिने कुश यसै दिन वैदिक मन्त्रोच्चारणपूर्वक छेदन गरी घर घरमा राखिन्छ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको शास्त्रीय मान्यता छ। घर घरमा कुश भित्र्याइने भएकाले सोमबारको औँशीलाई कुशे औँशी पनि भनिन्छ।

मेलाका लागि आजैदेखि व्यापारी आएर बस्न थालिसकेका छन्। बेलुकीदेखि भक्तजन पनि आउन थाल्छन्। यस वर्ष आज बिहानैदेखि झरी परिरहेकाले मेलामा आउनेलाई व्यवस्थापनमा केही समस्या भइरहेको छ। समस्या समाधानका लागि पहल भइरहेको मेला व्यवस्थापन मूल समितिले जनाएको छ। 

प्रकाशित: १७ भाद्र २०८१ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App