१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अन्नपूर्ण क्षेत्रको पदयात्रामा दुइजना स्पेनी पर्यटक सम्पर्कविहीन

भेटिएको एउटा शव हराएका स्पेनी पुरुष भएको आशंका

अन्नपूर्ण पदमार्गको तिखेढुंगास्थित भुरुङ्दी खोलामा फेला परेको शव उद्धार गर्दै प्रहरी। तस्बिरः सशस्त्र प्रहरी

अन्नपूर्ण क्षेत्रको घोरेपानी पदयात्रामा निस्केका दुइजना स्पेनी नागरिक बेपत्ता भएका छन्। प्रहरीले खोजीको क्रममा पर्यटक हराएको क्षेत्रमा एकजना पुरुषको शव पनि फेला पारेको छ। तर, विदेशी जस्ता देखिने ती पुरुष हराएकै पर्यटक हुन् वा होईनन् भन्ने बारे यकिन गर्न नसकेको प्रहरीले बताएको छ।  

सशस्त्र प्रहरी बल पोखरास्थित कालिका गणको विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोली सहित प्रहरी र स्थानीयले मंगलबार दिउँसो स्थानीय कास्कीको अन्नपूण्र्ण गाउँपालिका–९ तिखेढुंगास्थित भुरुङदी खोलामा पुरुषको शव फेला पारेका हुन्। कास्कीका प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माका अनुसार शारिरिक बनोटका आधारमा सम्पर्कविहीन भएकै पर्यटक मध्येका पुरुषको शव भएको अनुमान गरिएपनि यकिन भने हुन सकेको छैन।  

‘खोलामा अड्केको अवस्थामा पुरुषको शव फेला परेको छ। शव हेर्दा हराएकै विदेशीजस्ता पनि देखिन्छन्। तर, उनै स्पेनी पर्यटक नै हुन् भनेर यकिन भएको भन्न सकिन्न। अनुहार क्षतविक्षत भएकोले पनि पहिचानमा केही समस्या भएको छ,’ उनले भने, ‘तर, चेकपोष्ट कटेर गन्तव्यमा नपुगेको र बाटोमा फेला परेको झोलाका कागजातका आधारमा पनि मृतक पुरुष स्पेनी विदेशी भएको अनुमान गर्न सकिन्छ।’  

महिलाबारे भने अझै पनि बेखबर रहेको उनले बताए । ‘पर्यटक हराएको पक्का हो। यदी हराएका उनै पुरुष पर्यटकको शव भएको अनुमान गरिएपनि महिलाबारे भने जानकारी छैन। अहिले पनि महिलाको खोजी भईरहेको छ,’ शर्माले भने।  

कालिका गणका गणपति एसपी अरुण कुमार शर्माका अनुसार कास्कीको अन्नपूर्ण गाँउपालिका–९ तिखेढुंगास्थित भुरुङदी खोला किनारमा आइतबार दिउँसो दुइवटा झोला वेवारिसे अवस्थामा भेटिएको भन्दै स्थानीयले जानकारी गराएलगत्तै पर्यटक हराएको आशंकामा खोजि सुरु भएको थियो।  

एसपी शर्माका अनुसार झोलामा रहेका कागजात अनुसार स्पेनी नागरिकद्वय वर्ष ३७ का एरिक सोलेर कासानोभास र वर्ष ३२ की मेर्सी मोलास जुन्का को पासपोर्ट र लत्ताकपडा भेटिएका थिए। उनै पर्यटकद्वय हराएको आशंकामा खोजि गरिएको थियो। शर्माका अनुसार खोजी गर्ने क्रममा मंगलबार दिउँसो गोताखोर टोलीले भुरुङदी खोलामा अड्किएको अवस्थामा पुरुषको शव फेला पारेको हो।

‘खोलाको खोँचमा अड्किएको अवस्थामा पुरुषको शव फेला परेको छ। तर, हराएका उनै स्पेनी पर्यटक हुन वा अरु नै हुन भन्न सकिन्न। तर, २ जना पर्यटक भने हराएकै छन। हराएका मध्येकै पुरुषको शव भएको अनुमानका आधारमा महिलाको खोजी भईरहेको छ,’ शर्माले भने।  

अन्नपूर्ण–९ का अध्यक्ष रमेश गुरुङका अनुसार गत आइतबार बिहान १० बजेर ३२ मिनेट जाँदा २ जना स्पेनी पर्यटकले वीरेठाँटी चेकपोष्टमा नाम इन्ट्रि गराएका थिए। उनीहरु वीरेठाँटी हुँदै घोरेपानी जाने तयारीमा थिए। घोरेपानी जान भनेर निस्केका उनीहरु पदमार्गमा पर्ने तिखेढुंगाबाट उनीहरु सम्पर्कविहीन भएका थिए।  

अध्यक्ष गुरुङका अनुसार स्पेनी पर्यटकको झोला र लठ्ठी पदमार्गको छेउमा अलपत्र अवस्थामा देखिपछि पर्यटकको हुनसक्ने आशंकामा स्थानीयले प्रहरीले खबर गरेका थिए। ‘उनै पर्यटक खोलामा परेको अनुमान छ। शव पनि उनै विदेशीको भएको हाम्रो अनुमान हो,’ उनले भने। अध्यक्ष गुरुङका अनुसार पदमार्ग छाडेर उनीहरु पौडिन वा तस्बिर खिच्न खोलामा जाँदा चिप्लेर खसेको अनुमान छ।  

‘घटनास्थलमा झरना पनि छ । झरनाबाट तल ५० फिट गहिरो छ। उनीहरु हराएको दिन गर्मी भएकोले पौडीन गएका पनि हुनसक्छन। त्यसबाहेक तस्बिर खिच्न गएको पनि हुनसक्ने अनुमान छ,’ उनले भने, ‘ती पर्यटक हराएको पक्का भएको छ। तर, फेला नपरेसम्म यकिन गर्न सकिएन। तर, मंगलबार पुरुषको शव भने त्यही खोलामा फेला परेको छ।’  

घटनास्थल भन्दा डेढ किलोमिटर तल भुरुङदी खोलामा ढुंगाको चेपमा पुरुषको शव भेटिएको उनले बताए। ‘स्पेनी पुरुषको शव भएको आशंका छ। तर, महिलाबारे भने जानकारी छैन। प्रहरी र स्थानीयले खोजिरहेका छन,’ उनले भने। भुरुङदी खोला तल आएर वीरेठाँटीस्थित मोदीमा मिसिन्छ।  

‘राम्रो तस्बिर आउने भनेपछि उनीहरु मुल बाटो छाडेर खोलातिर फोटो खिच्न जाँदाखेरि दुर्घटनामा परेको अनुमान छ,’ उनले भने। घटनास्थल पोखराबाट करिब ६५ किमि उत्तर–पश्चिम पर्छ। पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थीले पदयात्रामा जाने क्रममा स्पेनी पर्यटक सम्पर्कविहीन भएको बताए।  

प्रकाशित: ११ भाद्र २०८१ १७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App