२९ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

स्नातक तहमा गणित पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति

तस्बिर: एआईको सहयाेगमा

अमेरिकामा कार्यरत नेपाली गणितज्ञहरुको छाता संगठन "एसोसिएसन अफ् नेप्लिज म्याथम्याटिसिएन इन अमेरिका" (अन्मा) ले स्नातक तहमा गणित पढ्ने इच्छुक विद्यार्थीहरुबाट छात्रवृत्तिको दरखास्त आव्हान गरेको छ।

नेपालका जुनसुकै विश्व विद्यालयमा बि. ए. वा बि. एस्सि. विषय लिएर तेस्रो वर्ष (अथवा पाँचौं वा छैटौं सेमेष्टर) मा पढिरहेका १५ जनासम्म विद्यार्थीहरूलाई प्रति व्यक्ति ५० हजार नेपाली रुपैयाँका दरले पुरस्कार उपलब्ध गराइने छ।

उक्त पुरस्कार रकम तेस्रो वर्षमा पहिलो किस्ता र चौथो वर्षमा दोस्रो किस्तामा उपलब्ध गराइने छात्रवृत्ति कार्यक्रमका संयोजक डा. केदार नेपालले बताए।

नेपालमा गणित पढ्ने विद्यार्थीहरूको संख्या निरन्तर कम हुँदै गएको, गाउँ-गाउँका विद्यालयहरूमा गणित पढाउने शिक्षकहरूको अभाव अहिले नै सुरु भएको, र यही अवस्था रहिरहेमा भविष्यमा झनै समस्या विकराल हुने देखेर विद्यार्थीहरूलाई गणित पढ्न प्रोत्साहन गर्नका लागि अन्माले यो पुरस्कारको स्थापना गरेको संयोजक नेपालले जनाए।

अन्माको वेबसाइटमा गई दरखास्त हाल्न सकिनेछ भने इच्छुक विद्यार्थीहरूले अगस्ट ३१ अगावै दरखास्त हालिसक्नु पर्नेछ।

विद्यार्थीहरूको छनौटको क्रममा अन्माले आवश्यक ठानेमा नेपाल गणित समाजको सहयोग लिन सक्ने अनि पुरस्कार र प्रमाण पत्र वितरण नेपाल गणित समाजसँगको सहकार्यमा गर्ने नेपाल गणित समाजका वर्तमान कार्यकारी सदस्य तथा गणित केन्द्रीय विभाग कीर्तिपुरमा कार्यरत डा. जीवन काफ्लेले जनाए।

यो पुरस्कार कार्यक्रम सुरु भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यसले गणित पढ्ने विद्यार्थीहरूको संख्या बढाउन सक्ने भन्दै नेपाल गणित समाजका अध्यक्ष डा. नारायण पहाडीले अन्माको यस्तो कार्यको प्रशंसा गरे।

गणित सिकाइलाई सुधार गर्दै विद्यार्थीहरूलाई गणित पढ्न आकर्षित गर्नको लागि नेपाल गणित समाजले पनि विभिन्न कार्यक्रमहरु गर्दै आएको तथा यस कार्यक्रमले विद्यार्थीहरूमा हौसला थप्ने भन्दै समाजका उपाध्यक्ष डा. श्रीराम खड्काले सम्पूर्ण विद्यार्थीहरूलाई यस अवसरको फाइदा उठाउन आग्रह गरेका छन्।

प्रकाशित: ९ भाद्र २०८१ १७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App