२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजविन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले विदेशमा फरार रहेका गितेन्द्रबाबु राई (जीवी राई), भरत महर्जनसहितका २७ जनाको खोजविनमा आवश्यक जनशक्ति परिचालन गरी अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो । बैठकको बारेमा जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले शुक्रवार बसेको पहिलो  बैठकमा प्रतिवेदनलाई अन्तिम रुप दिनेबारेमा महत्त्वपूर्ण छलफल गरेर प्रक्रियाको कार्यसूची, छलफलको योजना, वित्तीय विश्लेषणको बारेमा जानकारी, त्यसउपर छलफल, प्रस्तुति  तथ्य तथ्याङ्कमा छलफल र प्रस्तुतीकरणको शैली कुन ढाँचामा गर्ने भनि निर्णय भएको जानकारी दिए ।

सभापति थापाले  दोस्रो बैठकमा गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईलाई आमन्त्रित गरिएको र विदेशमा फरार रहेका जीवी राई, भरत महर्जनसहितका २५ जना व्यक्तिहरूको बारेमा सरकारले खोजबिनका सन्दर्भमा केके प्रगति हासिल भयो भनेर जानकारी लिएको बताए । उनले गृह मन्त्रालयले पहल गरेर नेपाल प्रहरीका दुई जना अधिकृतलाई मलेसिया पठाएको र त्यहाँ आवश्यक समन्वय र कोसिस गरेको जानकारी पाएको पनि बताए । 

उनले राजनीतिक नेतृत्व तहमा कुरा भइसकेको विषय भएकाले प्रहरी र इन्टरपोलको माध्यमबाट गरिने विषय भन्दा फरक स्थितिमा रहेको भन्ने जानकारी गृह मन्त्रालयले दिएको बताए । विदेश फरार हुनेमा २५ जना रहेकोमा शुक्रवार पुनः दुई जना थप गरी सूर्य दर्शन सहकारीको लेखा प्रमुख बुद्धि गुरुङ, आर्जन बचत तथा ऋण सहकारीको फरार सचिव विदेशमा रहेको भनिएको दीपक थापाको बारेमा  गृह मन्त्रालयलाई पत्राचार गरिएको बताए । 

प्रकाशित: २८ भाद्र २०८१ २१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App