२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

एन्फा महिला लिग : चन्द्रपुरको लक्ष्य अब शीर्ष पाँच

तेस्रो चरणसम्म मात्रै दुई अंक जोडेको चन्द्रपुर नगरपालिकाको एन्फा महिला लिगमा एउटै लक्ष्य थियो, रेलिगेसनबाट उत्रिने । तर, अहिले चन्द्रपुरको लक्ष्य फेरिएको छ । अब उसले रेलिगेसनबाट जोगिन होइन, शीर्ष पाँचमा अटाउन प्रतिस्पर्धा गर्ने भएको छ । एकाएक यसरी उसको लक्ष्य परिवर्तन हुनुमा कुनै आश्चर्य मान्नुपर्ने कुरा नै छैन । यो त सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सुदूरपश्चिम प्रदेशविरुद्ध हात लागेको ४–० को नतिजाको परिणाम हो । यो जितले चार खेलबाट ५ अंक जोडेको चन्द्रपुरलाई अर्को चरणमा पुग्न अटाउनुपर्ने एक स्थानमात्रै तल पुर्‍याइदिएको छ ।  

‘सुदूरपश्चिमविरुद्ध जसरी पनि तीन अंक लिने योजनासहित आएका थियौं । त्यो पूरा भयो । अन्य क्लब अलिक तलै छ । त्यसैले अब शीर्ष पाँचमा अटाउन खेल्नेछौं,’ मुख्य प्रशिक्षक पारस चौधरी भन्छन् । यसअघि अंकतालिकामा जति कमजोर चन्द्रपुर देखिन्थ्यो त्यति मैदानमा भने थिएन । तर, नेपाली राष्ट्रिय टोलीको उमेरसमूहबाट खेलिसकेकी फरवार्ड सेनु परियारको चोटले चन्द्रपुर फिनिसिङ थर्डमा निकै कमजोर देखियो । त्यसैले कर्णाली प्रदेश र संकटा फुटबल क्लबसँग बराबरी खेल्दै अंक बाँड्न बाध्य बन्यो । त्यही चार अंक गुमाएसँगै चन्द्रपुर अंकतालिकामा पुछारतिर धकेलिँदै गयो भने बागमती युथ क्लब र संकटा माथि माथि चढ्दै गए । त्यसमा अलिकति घाउ भने विभागीय टोली एपिएफले थपेको प्रशिक्षक चौधरी बताउँछन् । ‘दुई खेलमा जित हात पार्नुपर्ने थियो । तर, खेलाडीको इन्जुरी पनि फरक पार्‍यो । एपिएफसँग पनि एक अंक हात पार्ने लक्ष्यसहित आएका थियौं, तर ६ गोल खान पुग्यौं । त्यसैले हामी तलको तलै पर्न गयौं,’ उनी भन्छन् ।

शुक्रबार भने पहिलो जित निकाल्न सातदोबाटो पुगेको टोलीले तेस्रो मिनेटदेखि नै तीन अंक खोस्ने छनक देखाइसकेको थियो । रजनी थोकरले पेनाल्टी बक्सभित्र फुत्काइसकेको बललाई जाली चुमाउँदै अनिता रानामगगरले चन्द्रपुरलाई सुरुआती अग्रता दिलाइन् । उक्त गोल हुँद रजनी संयम खुसी देखिनन् । लिगमा दोस्रो गोल गर्ने तरखरमा रहँदा अनिता बाधक बनेपछि उनको हाउभाउ नै एकएक परिवर्तन हुनपुग्यो । तर, १५औं मिनेटमा सलनीकुमारी चौधरीले क्लियर गरेको बललाई नियन्त्रणमा लिँदै रजनीले पेनाल्टी बक्सबाट माथिल्लो बारतिर प्रहार गरेकी थिइन् । त्यो बलले जाली चुमेपछि उनको मुहारमा खुसी देखिएको थियो । पहिलो हाफमा चन्द्रपुरले टेक्टिकली खेल पस्किएपनि सुदूरपश्चिमले फिजिकली खेल्दै चन्द्रपुरलाई दुई गोलमै रोक्न सफल भएको थियो । त्यसमाथि ४४औं मिनेटमा रजनी मैदानबाहिर निस्किएपछि भने चन्द्रपुरको खेल तुलनात्मक रूपमा संघर्ष गर्नुपर्‍यो । प्रशिक्षक चौधरी आफ्नो खेलाडी फिट रहन नसक्दा दोस्रो हाफमा कमजोर हुन परेको स्वीकार्छन् ।

‘प्लेइङ सेटको दुई जना र बेन्चमा रहेको एक खेलाडी खेल्न सक्ने अवस्थामा रहेनन् । रजनीको मसलमा समस्या देखियो । अन्य दुई खेलाडी विरामी भए । त्यसले गर्दा पनि हामीले संघर्ष गर्नप¥यो,’ उनले भने । यद्यपि, चन्द्रपुरले दोस्रो हाफमा पाँचमध्ये तीन उत्कृष्ट अवर खेर फ्याँक्यो । ५३औं मिनेटमा सुनीता विकले दिएको बललाई तीन खेलाडीले प्रहार गरेपनि गोलमा परिणत गर्न सकेनन् । रजनीको स्थानमा ४४औं मिनेटमा मैदान प्रवेश गरेकी कविता कुँवरले प्रहार गरेको बल पोस्टमा लाग्दै फर्किएको थियो । 

सोही बललाई सलोनीकुमारी चौधरीले प्रहार गरेपनि सुदूरपश्चिमको डिफेन्डर बाधक बने । पुनः सुनीता सुनारले प्रयास गरेपनि गोलकिपर टिकेश्वरी साउँदले बचाइन् । ६३औं मिनेटमा अनिता रानामगरले टिकेश्वरीलाई बिट गर्दै दिएको बलमा सुनीताले गोल लाइननजिक टच गर्न सकिनन् । त्यो बल अमिता भुलले बचाइन् । त्यसको एक मिनेटपछि कर्नरबाट आएको बललाई अलिनाकुमारी चौधरीले ब्याकफ्लिक गर्ने प्रयास गरेपनि बल आफ्नै पोस्ट पुगेको थियो । जारी लिगमा यो आठौं आत्मघाती गोल हो । ८५औं मिनेटमा अनिताको पासलाई सुनीताले प्रयास गरेपनि सफल भइनन् । तर, त्यसको चार मिनेटपछि सजनी थोकरले फ्रिककमा सीधै गोल गर्दै चन्द्रपुरलाई पहिलो जित दिलाइन् ।

अब चन्द्रपुरले पुलिस, आर्मी र कोशीसँग एक अंक बाँढ्ने र अरु टोलीसँग तीन अंक खोस्ने लक्ष्यसहित मैदान उत्रिने छ । यता, सुदूरपश्चिम भने बाँकी खेल उत्कृष्टता पस्किन मात्रै मैदान उत्रिने मुख्य प्रशिक्षक दीपेश योन्जन लामाले बताए । ‘फुटबल बुझ्नेले हामी कुन स्तरमा छौं भन्ने बुझेका छन् । तर, हामी बिस्तारै सुधार गर्दै गएका छौं । 

आजपनि हामीले दोस्रो हाफमा केही राम्रो खेल्यौं । अबको लक्ष्य पनि यस्तै राम्रो खेल पस्किनेछ,’ उनले सुनाए । सुदूरपश्चिमले जारी लिगका चार खेलमा ३२ गोल बेहोर्दा दुई गोलमात्रै गरेको छ । अंक तालिकाको पुछारमा रहेको यो टोलीका लागि एकमात्रै गोल तुलचा बोहोराले बागमतीविरुद्ध गरेकी थिइन् । अर्को गोल भने आर्मीकी निलम सिंहले उपहार दिएकी थिइन् ।

प्रकाशित: २८ भाद्र २०८१ २२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App