२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

तनहुँ बस दुर्घटनाः पोखरा र काठमाडौं घुम्न आएका थिए धार्मिक पर्यटक

तनहुँको आँबुखैरेनी–२ ऐनापहरामा शुक्रबार दुर्घटनामा परेको बसका यात्रुको उद्धार गरिँदै। तस्बिरः बसन्त ढुंगाना/नागरिक

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा शुक्रबार दिउँसो दुर्घटनामा परेको बसका सबै यात्रु भारतीय धार्मिक पर्यटक थिए। सुनौली नाकाबाट नेपाल छिरेका उनीहरु सिद्धार्थ राजमार्ग हुँदै गत बुधबार बेलुकी ९ बजे पोखरा आएका थिए। पोखराबाट शुक्रबार काठमाडौं फर्कने क्रममा पर्यटक सवार बस तनहुँमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेको बस मर्स्याङदी नदी किनारमा खसेको थियो।

पोखरामा ती पर्यटकलाई होटलमा राखेका पर्यटन व्यावसायी ऋषि पाण्डेका अनुसार भारतको महाराष्ट्रका उनीहरु १ सय २० जनाको संख्यामा आउने तयारीमा थिए। तर, अन्तिम समयमा ९६ जना मात्र नेपाल आएका थिए। पर्यटक बाहेक उनीहरुका ८ जना भान्से सहयोगी पनि थिए। सबैगरि १ सय ४ जना थिए। दुईवटा ठुला र एउटा मिनि बसमा आएका उनीहरु शुक्रबार बिहानै करिब ६ बजे नै पोखराबाट काठमाडौंका लागि हिडेका थिए।  

तीनवटा सवारीमा फर्केका उनीहरुमध्ये सवार एउटा बस दुर्घटनामा परेको थियो। तीनवटा मध्ये यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको प्रहरीको भनाई छ। दुर्घटनामा परेर १४ जनाको ज्यान गएको प्रहरीको भनाई छ। व्यावसायी पाण्डेका अनुसार ती पर्यटकको गत मंगलबार नै पोखरा आउने तालिका थियो। पोखरामा दुइरात बिताएर काठमाडौं जाने र त्यसपछि स्वदेश फर्किने तालिका थियो। तर, एकदिन ढिलागरि उनीहरु नेपाल भित्रिएका थिए।  

पाण्डेका अनुसार त्यो समूहमा ९६ जना पर्यटकलाई आफैले पकाएर खुवाउने गरि बन्दोबस्तीका सामान पनि लिएर आएका थिए। ‘पोखराबाट बिहान ६ बजेतिरै निस्केका हुन। तर पछि उनै पाहुना दुर्घटनामा परेछन,’ उनले भने। 

पोखरामा उनीहरु दुइवटा होटलमा बाँडिएर बसेका थिए। पाण्डेका अनुसार ती पर्यटकको शुक्रबार मनकामना मन्दिर दर्शन गर्ने तयारी पनि थियो। भान्सेले खाना पकाउने र अरु तीर्थयात्री मनकामना मन्दिर दर्शन जाने योजना सहित उनीहरु बिहानै पोखराबाट निस्केको पाण्डेले जानकारी दिए। मनकामना मन्दिर जानका लागि केवलबार बन्द रहेकोले स्थानीय गाडी पाएमा मनकामना जाने योजना उनीहरुको थियो।  

‘मनकामना केवलबार बन्द रहेको बारे पोखरा आएपछि म आफैले उनीहरुलाई थाहा दिएको हुँ। तर, उनीहरु केवलबार बन्द भएपनि स्थानीय जीप भाडामा लिएर जान पाउने अवस्थामा मन्दिर उक्लिने अन्यथा कुरिनटार क्षेत्रमा रोकिएर खाना खाएर काठमाडौं जाने योजनामा थिए,’ पाण्डेले भने, ‘राती अबेरसम्म भएपनि शुक्रबारको रात बस्न काठमाडौं पुग्ने उनीहरुको योजना थियो।’ काठमाडौंमा पनि २ रात बसेर पशुपति मन्दिरमा दर्शन गर्ने ती पाहुनाको योजना थियो।

ती पर्यटकले पोखरामा दुइरात बिताएका थिए। उनीहरु विहीबार पोखराका मन्दिर दर्शन र फेवाताल सयर गरेका थिए। पाण्डेका अनुसार त्यो समूहमा भारतीय चिकित्सक पनि थिए। उनीहरुले प्राथमिक उपचारका लागि आफैले औषधि र मेडिकल किट समेत लिएर आएका थिए। पोखरामा बिरामी परेका ३ जनालाई आफ्नै टोलिका चिकित्सकले होटलमै राखेर स्लाइन दिएर उपचार पनि गरेका थिए। ‘हामी आफै डाक्टर हौं। त्यसैले अस्पताल जानु पर्दैन भन्दै आफ्ना बिरामीलाई होटलमै उपचार गरेका थिए,’ उनले भने।  

पोखरामा धार्मिक उद्देश्यले भित्रिने पर्यटक आफ्नै भान्से लिएर आएका हुन्छन्। खानेकुरादेखि ग्याससम्म पनि आफैले बोकेर आउँछन्। होटलमा सुतेको मात्र पैसा तिर्नेगरि धार्मिक पर्यटक पोखरा आउँछन्। ‘पाका उमेरका र धार्मिक उद्देश्यले आएका पर्यटक भएकोले उनीहरुले आफ्नो बन्दोबस्ती आफै गरेका हुन्छन,’ उनले भने। पोखरा भारतीय पर्यटकका लागि गतिलो गन्तव्य भएपनि यस्ता दुर्घटनाले भारतीय पर्यटकको नेपाल आगमन प्रभावित हुनसक्ने व्यावसायी पाण्डेले चिन्ता जनाए।  

प्रकाशित: ७ भाद्र २०८१ १७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App